तत्काल गुठी विधेयक ल्याउन सांसद सुब्बाको माग – Nepal Press

तत्काल गुठी विधेयक ल्याउन सांसद सुब्बाको माग

काठमाडौं । नेकपा एमालेकी सांसद सरस्वती सुब्बाले संसदमा तत्काल गुठी विधेयक ल्याउन माग गरेकी छन् ।

बिहीबार भएको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सुब्बाले ६८ जिल्लाका २ हजार ३३५ राजगुठी, ७३ हजार ५१२ हेक्टर जग्गा र त्यही हाराहारीमा रहेको छुट गुठीको व्यवस्थापन गर्न गुठी विधेयकको माध्यमबाटै समाधान गर्नुपर्नेमा जोड दिइन् ।

सांसद सुब्बाले स्वर्गद्वारी गुठीका जग्गा पीडित दाङका किसानहरु २३ दिनदेखि धर्नामा रहेकाले वार्ताको माध्यमबाट तत्काल सम्बोधन गर्नसमेत सरकारको ध्यानाकर्षण गराएकी छन् ।

‘गुठी जग्गालाई धार्मिक तथा सांस्कृतिक महत्त्वको रूपमा लिइएको र परम्परागत जीवनशैलीलाई आधार मान्दा यो स्वाभाविक होला । तर, विद्यमान परिवेशलाई आधार मान्ने हो भने गुठी जग्गा समस्याको रुपमा स्थापित भैसकेको छ’, उनले भनिन्, ‘गुठी जग्गा भएकै कारण किसान सरकारी सेवा सुविधाबाट समेत वञ्चित हुनुपरेको छ ।’

उनले आर्थिक समृद्धि र किसानको हितका लागि गुठी जग्गा व्यवस्थापनसम्बन्धी कानून आवश्यक रहेको बताइन् ।

‘गुठी जग्गाको अभिलेख राख्ने, किसानहरुको मोहियानी हक सुनिश्चित गर्ने गुठी जग्गा वर्गीकरण गरी उपयोगमा ल्याउने, गुठी जग्गाबाट हुने आयस्रोतलाई उत्पादनमूलक कार्यमा लगाउने, खान्गी, तैनाथी जग्गामा रहेका परिवारको हक सुनिश्चित गर्न कुत बुझाउन नसकेका किसानहरुलाइ सहुलियत दिने किसानहरुको समेत सहभागितामा गुठी जग्गा व्यवस्थापन गर्नेगरी गुठी विधेयक ल्याउन माग गर्छु’, उनले भनिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर