लुम्बिनी एमालेको आरोप- तीन दिन चलेको हिउँदे अधिवेशन रोकेर मुख्यमन्त्रीले सदन छल्दैछन् – Nepal Press

लुम्बिनी एमालेको आरोप- तीन दिन चलेको हिउँदे अधिवेशन रोकेर मुख्यमन्त्रीले सदन छल्दैछन्

सरकारको निर्णय रोक्न एमाले-माओवादी पुगे प्रदेश प्रमुखसमक्ष

रूपन्देही । नेकपा एमाले लुम्बिनीले प्रदेश सरकारले तीन दिन मात्रै चलेको हिउँदे अधिवेशन अन्त्य गरेर संसदीय मर्यादाको उल्लंघन गरेको र सदनसँग फेस हुन डराएर भागेको आराेप लगाएको छ ।

एमाले संसदीय दलका नेता तथा पूर्वमन्त्री लिला गिरीले अल्पमतमा परेको सरकारले गरेका गल्तीको ढाकछोप गर्न सदन रोकेको जनाएका छन् ।

‘सरकार अल्पमतमा परेको एक साता नाघ्यो, यसअघि पनि सदनलाई मुख्यमन्त्रीले छलिरहेको अवस्था हो, ४ गते सदन थियो तर हतारमा स्थगित भएको सुनियो, हामी प्रदेश प्रमुखकोमा पुगेर त्यसलाई सदर नगर्न अनुरोध गरेका छौं’, उनले भने ।

‘सदन चलाएर विश्वासको मत लिन पाउने छुट सरकारलाई छ तर यसरी गुमराहमा राख्न पाइदैन’, उनले भने । सरकारले सदन स्थगित गर्ने निर्णय पठाएपनि प्रदेश प्रमुखबाट रोकाउन एमाले र माओवादीका सांसदहरू प्रदेश प्रमुखकोमा पुगेका हुन् ।

लुम्बिनीमा नेपाली कांग्रेस नेतृत्वको सरकारलाई माओवादीले फागुन २३ मा समर्थन फिर्ता लिएपछि अल्पमतमा छ । मुख्यमन्त्री डिल्ली चौधरी अन्य साना दललाई पक्षमा पार्न मन्त्री नै थपेर जाने तयारी गरेपनि केन्द्रीय समीकरणले उनलाई साथ दिएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर