इलाम २ मा के गर्दै छन् दलहरू ? एक्ला एक्लै प्रतिस्पर्धाबाट जनमत परीक्षण गर्ने मौका – Nepal Press

इलाम २ मा के गर्दै छन् दलहरू ? एक्ला एक्लै प्रतिस्पर्धाबाट जनमत परीक्षण गर्ने मौका

विराटनगर । इलाम क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते हुने उप निर्वाचनको मिति नजिकिएसँगै दलहरूले तीब्र रूपमा आन्तरिक तयारी थालेका छन् ।एमालेले उपनिर्वाचनका लागि चैत ५ सम्ममा उम्मेदवार सिफारिस गर्ने भएको छ ।

उम्मेदवारको नाम जिल्ला कमिटीमा पठाउन उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा सचिव उमेश गुरुङ, उपसचिव विष्णुमाया आचार्य र सदस्यद्वय मुखराज आङ्देम्बे तथा दीप किशोर लिङ्देन रहेको कार्यदल गठन गरेको छ ।

कार्यदलले आउँदो चैत ३ गतेसम्ममा उम्मेदवारको सूची जिल्ला कमिटीमा पेस गर्नेछ । सो समितिले उम्मेदवारका लागि एक महिलासहित तीन जनाको नाम जिल्ला कमिटीले केन्द्रमा सिफारिस गर्ने छ ।

एमाले स्थायी कमिटी सदस्य शिवमाया तुम्बाहाम्फेले ३ गते भित्रमा नाम सिफारिस गर्ने बताइन् । एमालेले उपनिर्वाचनको घोषणापत्र तयार गर्न बुद्धिप्रसाद खनालको संयोजकत्वमा समिति गठन गरेको छ ।

उपनिर्वाचनमा कानुनी क्षेत्रको परामर्श र समन्वयका लागि सुधीर बोहोरा संयोजकत्वको समितिसमेत गठन गरिएको छ ।

यस्तै काँग्रेस पनि निर्वाचनका लागि उम्मेदवार छनौटमा लागेको छ । उम्मेदवारहरु धेरै भएकाले काँग्रेसभित्र उम्मेदवार को बन्ने भन्ने तीव्र प्रतिस्पर्धा छ ।

२०७९ को निर्वाचनमा काँग्रेस उम्मेदवार तथा जिल्ला सभापति डम्बरबहादुर खड्का स्व. सुवास नेम्वाङसँग एक सय १४ मतको अन्तरले मात्रै पराजित भएका थिए ।

नेम्वाङले यो क्षेत्रबाट ३० हजार २० मत ल्याएर विजयी बनेका थिए । निकटतमै प्रतिद्वन्द्वी खड्काले २९ हजार नौ सय छ मत ल्याएका थिए ।
काँग्रेसले उप निर्वाचनमा आफ्नो सरकारले गरेका राम्रा कामको विवरण मतदाता सामु लिए जाने तयारी गरेको छ ।

यसका लागि पालिका पालिका र टोल टोलमा काँग्रेस पुग्ने सभापति खड्काले बताए ।

उनले पार्टी कसरी अघि बढ्नुपर्छ भनेर मतदातासँगै छलफल गरिरहेको बताए उनले भने ‘सबै वडा र पालिकामा पार्टीका गतिविधि गरिरहेका छौँ । ‘सहकारी, लघुवित्त, पशु रोग र कोरोना महामारीलगायतले थलिएका किसानलाई कसरी साथ दिन सकिन्छ भनेर हामीले गाउँ तहसम्मै छलफल गरिरहेका छौँ ।’

७९को निर्वाचनमा माओवादी केन्द्रले काँग्रेसका उम्मेदवार खड्कालाई मत हालेको थियो । यस पटकको निर्वाचनमा भने माओवादीले आफ्नै उम्मेदवार उठाउने निर्णय माओवादी इलामले गरेको छ ।

केन्द्रमा सत्ता समीकरण बदलिएपछि पनि माओवादी आफ्नै दलको उम्मेदवार यो क्षेत्रमा उठाउने तयारीसहित निर्वाचन क्षेत्रमा केन्द्रित भएको हो ।

माओवादीले चैत ४ मा चुलाचुली, माङ्सेबुङ र माई तथा चैत ५ मा इलाम, देउमाई र फाकफोकथुममा निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम राखेको पार्टीका जिल्ला कार्यालय सचिव प्रकाश परियारले जानकारी दिए ।

उनका अनुसार प्रशिक्षणमा केन्द्रीय र प्रदेश कमिटी सदस्यसहितका नेता–कार्यकर्ता खटिनेछन् । निर्वाचन क्षेत्रमा पहिलो चरणको प्रशिक्षण सकिएपछि माओवादीले उम्मेदवारको विषयमा छलफल चलाउने परियारले बताए ।

प्रशिक्षणका क्रममा नै पार्टीबाट कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा नेता तथा कार्यकर्तासँग सुझाब लिइने र यसैका आधारमा उम्मेदवारको नाम सिफारिस गरिने परियारले बताए ।

याे पनि पढ्नुहाेस् ।

इलाम उपचुनाव- यस्तो छ एमाले र कांग्रेसको दावेदारी, माओवादी र पहिचानवादीको बेग्लै तयारी

उपचुनावको एक सीटले सरकार बनाउन र ढाल्न कुनै अर्थ नराख्ने भएकाले दलहरुका लागि एक्ला एक्लै प्रतिस्पर्धा गरेर जनमतको परीक्षण गर्ने मौका भने यसपटक मिलेको छ । कांग्रेससहितको गठबन्धन भत्किएकाले उसले एक्लै चुनाव लड्ने मौका पाएको छ भने माओवादीले पनि आफ्नै उम्मेदवार उठाएमा एमाले र कांग्रेस नै इलाम २ मा मुख्य प्रतिस्पर्धी हुनेछन् ।

पहिचानवादीले उम्मेदवारको टुङ्गो लगाउँदै

प्रदेशको नाम कोशी राखेपछि सुरु भएको पहिचानको आन्दोलन अहिले पनि जारी छ । आन्दोलनरत पक्षले इलाम क्षेत्र नम्बर २ को उप निर्वाचनमा साझा उम्मेदवार उठाउने तयारी गरेका छन् । यसअघि छुट्टाछुट्टै उम्मेदवार उठाएका पहिचान पक्षधरहरूले यस पटक भने साझा उम्मेदवारको रूपमा डाकेन्द्र सिंह थेगिमलाई उम्मेदवार बनाउने छन् ।

बुधवार उम्मेदवारको घोषणा हुनेछ । नामकरणपछि नै इलाम क्षेत्र नम्बर २ मा पहिचान पक्षधरहरूले विभिन्न खाले समूह निर्माण गर्दै आएका छन् । निर्वाचन नजिकिएसँगै उनीहरूले यो अभियानलाई तीव्र बनाएको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले बताए ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले पनि इलाम क्षेत्र नम्बर २ मा हुने उप निर्वाचनका लागि आन्तरिक तयारी थालेको छ । रास्वपाले इलाम क्षेत्र नम्बर २ को समस्या र जनताको मागका विषयमा स्थानीयसँग छलफल गरिरहेको छ ।

सो निर्वाचन क्षेत्रका सबै पालिकाहरूमा ६ जना सङ्घीय सांसद पठाएर स्थानीयसँग छलफल गरेको रास्वपा प्रदेश अध्यक्ष राजेश तिम्सिनाले बताए । रास्वपाले उम्मेदवार छनौटका विषयमा समेत छलफल थालेको छ ।

के छ समानुपातिक शक्ति ?

इलाम क्षेत्र नम्बर २ मा नेम्वाङले ३० हजार मत पाएर जित्दा समानुपातिकतर्फ भने एमालेको २६ हजार ५६२ मत आयो । नेम्वाङले पार्टीको भन्दा करिब ३५ सय मत बढी पाएका थिए ।

समानुपातिकतर्फ दोस्रो रहेको काँग्रेसले २२ हजार ३३३ मत पाएको थियो । जबकि कांग्रेस उम्मेदवार खड्काले २९ हजार ९ सय मत पाएका थिए । उनले पार्टीको भन्दा ६ हजार बढी मत पाए । जसमा माओवादी र नेकपा एसको समानुपातिक मत जोड्दा बराबर हुन्छ ।

सो क्षेत्रमा समानुपातिकतर्फ तेस्रो रहेको माओवादी केन्द्रको मत ५ हजार १५३ र चौथो रहेको रास्वपाको मत ४ हजार ६८६ थियो । त्यस्तै नेशनल मङ्गोल अर्गनाइजेशनको १६६१,राष्ट्रिय जनमुक्ति पार्टी १४१३,सङ्घीय लोकतान्त्रिक मञ्च १३२९,राप्रपा ११९१,जसपा ९०६ र नेकपा एसको ५८६ मत थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर