मन्त्रिपरिषद् बैठक : मधेस, गण्डकी र सुदूरपश्चिममा नयाँ प्रदेश प्रमुख पठाउने निर्णय (भिडिओ) – Nepal Press

मन्त्रिपरिषद् बैठक : मधेस, गण्डकी र सुदूरपश्चिममा नयाँ प्रदेश प्रमुख पठाउने निर्णय (भिडिओ)

काठमाडौं । सरकारले गण्डकी, मधेश र सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्तिको लागि सिफारिस गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त हुने पदहरुमा नियुक्तिको लागि मधेसको लागि सुमित्रा भण्डारी, गण्डकीको लागि डिल्लीराज भट्ट र सुदूरपश्चिमको लागि नजिर मियाँ मनोनयनको लागि सिफारिस भएको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।

उनले भनिन्, ‘हामीले बर्खास्त गरेको होइनौं पदमुक्त गरेको हौं । प्रदेश र संघीय सरकारबीच समन्वय आवश्यक हुन्छ । अहिले हामीले प्रदेशहरूमा देखिरहेका छौं । कतै विश्वासको मत फिर्ता लिने कतै मन्त्रीहरूलाई बर्खास्त गर्ने काम भइरहेको छ । त्यसकारण राजनीतिकरूपमा सहज होस् । केन्द्र र प्रदेशको राजनीतिक दृष्टिकोेण समान होस् भनेर हामीले गरेका हौं ।’

नयाँ नियुक्तिका लागि सिफारिस गरिएका प्रदेश प्रमुखहरू तीनैजना नेकपा एमालेका हुन् ।

झापाकी सुमित्रा भण्डारी केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला डेनमार्कको लागि राजदूत सिफारिस भएर पनि सरकार ढलेपछि नियुक्ति नपाएकी महिला नेता हुन् । प्राध्यापन पेशाबाट अवकाश पाएकी भण्डारी एमालेनिकट अखिल नेपाल महिला संघकी नेतृ हुन् ।

अर्घाखाँचीका नजिर मिया नेकपा एमालेका केन्द्रीय सल्लाहकार तथा संविधानसभा सदस्य हुन् । उनी नेपाल मुस्लिम इत्तेहाद संगठनका पूर्वअध्यक्ष हुन् ।

डिल्लीराज भट्ट डोटीका हुन् र उनी नेकपा एमालेका सल्लाहकार छन् । उनी राष्ट्रियसभाको अघिल्लो निर्वाचनमा उम्मेदवार बनेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर