कर्णालीमा सरकार गठनबारे छैन छलफल, नेतृत्व पाउन एमालेकाे बल – Nepal Press

कर्णालीमा सरकार गठनबारे छैन छलफल, नेतृत्व पाउन एमालेकाे बल

सुर्खेत । कर्णालीमा नेपाली कांग्रेस सरकारबाट बाहिरिएको पाँच भइसकेको छ । यस अवधिमा नयाँ सरकार गठन हुन सकेको छैन ।

केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णालीमा तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका कांग्रेस मन्त्रीहरूले राजीनामा दिएका हुन् ।

कर्णालीमा माओवादी र एमालेले नयाँ सत्ता समीकरणबारे कुनै निर्णय गरेको छैन । दुवै दल केन्द्रको निर्देशन कुरेर बसेका छन् ।

तर, नेकपा एमालेले यो पटक कर्णालीको नेतृत्व गर्ने दाउमा रहेको छ । केन्द्रमा सत्ता समीकरण बदलिएसँगै यतिबेला कर्णालीको नेतृत्व एमाले संसदीय दलका नेता यामलाल कँडेलले गर्नुपर्ने एमालेका पार्टी कार्यकर्ताको अडान रहेको जनाएको छ ।

कँडेलले मुख्यमन्त्री बन्न पटकपटक प्रयास गरे पनि असफल हुँदै आएका थिए । कँडेललाई पार्टी केन्द्रको असहयोगका कारण उनको मुख्यमन्त्री बन्ने सपना अहिलेसम्म अधुरै रहेको छ ।

यस्तै, मुख्यमन्त्री राजकुमार शर्माले सरकार गठनका बारेमा एमालेसँग आफ्नो छलफल भइरहेको बताएका छन् । उनले नेपाल प्रेससँग कुरा गर्दै एमालेसँग आफू छलफलमा जुटेको बताएका हुन् ।

तर, नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतक तथा पूर्व सामाजिक विकास मन्त्री टेकराज पछाईले माओवादीसँग आफूहरुको बसाइँ नै नभएको जानकारी दिए । एक पटक सामान्य भेटघाट मात्रै भएको हो उनले भने, ‘त्यसपछि भएको छैन । संसदीय दलका नेता कँडेल दैलेखमा हुनुहुन्छ मुख्यमन्त्री शर्मा काठमाडौं हुनुहुन्छ अनि कसरी छलफल हुन्छ ?’

कर्णालीको नेतृत्व एमालेले पाउनु पर्छ भन्नेमा आफूहरु रहेको सचेतक पछाईले बताए । पटकपटक नेतृत्व गर्न नपाएको एमालेले यसपटक भने नेतृत्व गर्न पाउनु पर्छ भन्नेमा रहेको उनको भनाइ छ ।

‘कर्णालीमा माओवादी, कांग्रेसले नेतृत्व गरिसकेको छ’, उनले भने, ‘उनीहरु धेरै पटक टेष्ट पनि भइसके र जनताको चाहाना पनि एकपटक एमालेले सरकार चलाएर देखाएको भए हुन्थ्यो भन्ने छ । एमालेका पार्टी कार्यकताहरुको पनि चाहाना एमाले नेतृत्वमा गएर कर्णाली चलाएको भए हुन्थ्यो भन्ने छ । यसै अनुरुप पनि हाम्रो नेतृत्व हुनुपर्छ भन्ने हाम्रो दाबी रहेको छ ।’

सरकारको नेतृत्व गर्न पाउनु पर्ने भन्नेमा प्रदेश पार्टीको जोड रहको उनको भनाइ छ ।

प्रदेशको विषयमा केन्द्रीय कार्यालयमा छलफल भने चलिरहेको पछाईले जानकारी दिए । तर, उनले कुन कुन विषयमा छलफल भइरहेको छ आफू जानकारी भएको बताए ।

कांग्रेसका मन्त्रीले राजीनामा दिएका मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री राजकुमार शर्माले सम्हालेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर