पाठ्यक्रम परिमार्जन गर्ने संघीय र प्रादेशिक लोक सेवा आयोगको संयुक्त निर्णय – Nepal Press

पाठ्यक्रम परिमार्जन गर्ने संघीय र प्रादेशिक लोक सेवा आयोगको संयुक्त निर्णय

काठमाडौं । संघीय लोक सेवा आयोग र प्रादेशिक लोक सेवा आयोगको चौथो राष्ट्रिय सम्मेलनले परीक्षाको पाठ्यक्रम परिमार्जन गर्ने निर्णय गरेको छ ।

कर्णाली प्रदेशको सुर्खेतमा आयोजित चौथो राष्ट्रिय सम्मेलनले आयोगबाट पदपूर्ति गरिने प्राविधिक र अप्राविधिकतर्फ विभिन्न सेवा, समूह, उपसमूह श्रेणी वा तह र पदको पाठ्यक्रममा सुधार र परिमार्जन गर्ने निर्णय गरेको हो ।

‘लोक सेवा आयोगबाट पदपूर्ति गरिने विभिन्न सेवा, समूह, उपसमूह, श्रेणी वा तह र पद (प्राविधिक र अप्राविधिक) का पाठ्यक्रममा समसामयिक सुधार र परिमार्जन गर्ने’, सार्वजनिक निर्णयको पहिलो बुँदामा उल्लेख छ ।

समयानुकूल जनशक्ति व्यवस्थापनमा सुधार गर्ने

आयोगको सम्मेलनले विद्यमान भर्ना छनोट, परीक्षण प्रविधि, पाठ्यक्रम र परीक्षा सञ्चालनसम्बन्धी जनशक्ति व्यवस्थापनमा समयानुकूल सुधार गर्ने पनि निर्णय गरेको छ ।

आयोगप्रति विश्वास कायम राख्न निष्पक्ष र स्वच्छरुपमा योग्यताको आधारमा भर्ना तथा छनोट हुने सिद्धान्तलाई पूर्णरुपले पालना गर्ने लोक सेवा आयोगको चौथो राष्ट्रिय सम्मेलनले जारी गरेको घोषणापत्रमा उल्लेख छ ।

संघीय शासन प्रणालीको संस्थागत विकास र सुशासनमा योगदान पु¥याउन उपयुक्त उम्मेदवार समयमै छनोट र सिफारिसको सुनिश्चिता गर्ने र लोक सेवा आयोगबाट स्थापित सिद्धान्त, मूल्य, मान्यता, कार्यप्रणाली र असल अभ्यासलाई निरन्तर अवलम्बन गर्ने घोषणापत्रमा उल्लेख गरिएको संघीय लोक सेवा आयोगका सदस्य वीरबहादुर राईले जानकारी दिए ।

लोकसेवा आयोगबाट पदपूर्ति गरिने विभिन्न सेवा, समूह, उपसमूह, श्रेणी वा तह र पद (प्राविधिक र अप्राविधिक) का पाठ्यक्रममा समसामयिक सुधार र परिमार्जन गर्ने, आयोगबाट सम्पादन गरिने कार्यमा कार्यगत सम्बन्ध कायम गर्दै प्रभावकारिता अभिवृद्धि गर्न असल अभ्यासको आदानप्रदान गर्ने निर्णय भएको उनले बताए ।

सदस्य राईका अनुसार आयोगको परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी खर्च मापदण्डमा एकरूपता कायम गर्ने र समयसापेक्ष बनाउँदै लैजाने, लोकसेवा आयोगबाट संघीय कानुनबमोजिम अवलम्बन गरिएका सिद्धान्त तथा मापदण्डबमोजिम कार्यसम्पादनको सुनिश्चितताका लागि सूचक तयार गरी त्यसै बमोजिम स्वमूल्याङ्कन एवं आवश्यकताअनुसार समकक्षी समीक्षा गर्नेजस्ता निर्णय सम्मेलनले जारी गरेको छ ।

उक्त राष्ट्रिय सम्मेलनमा संघीय लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी, सदस्य माधव बेल्बासे, वीरबहादुर राई, दिनेश सिलवाल, मञ्जुकमारी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेस तथा कोशी प्रदेश लोकसेवा आयोगका पदाधिकारी तथा सदस्य र आयोगका सहसचिव, प्रदेश लोकसेवा आयोगका सचिव तथा कर्मचारीको सहभागिता रहेको थियो ।

यही फागुन २३ र २४ गते सुर्खेतको वीरेन्द्रनगरमा ‘योग्यता, निष्पक्षता, स्वच्छतास् लोकसेवा आयोगको प्रतिबद्धता’ भन्ने मूल नारासहित दुई दिनसम्म सञ्चालन भएको चौथो सम्मेलन बिहीबार वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको हो ।

उक्त सम्मेलनले पाँच बुँदे घोषणापत्र र १३ बुँदे निर्णय जारी गरेको छ । घोषणापत्रको पहिलो बुँदामा भनिएको छ, संविधानको मर्म र भावनाअनुरूप समावेशी सिद्धान्तलाई सम्मान गर्दै भर्ना र छनोट आधार योग्यता नै हो भन्ने मान्यतालाई जोड दिँदै अगाडि बढिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *