लुम्बिनीमा रोकिएको लरियटस एण्ड लिडर्स शिखर सम्मेलन दिल्लीमा – Nepal Press

लुम्बिनीमा रोकिएको लरियटस एण्ड लिडर्स शिखर सम्मेलन दिल्लीमा

रूपन्देही । लुम्बिनीमा फागुन २८ र २९ गते आयाेजना गरेर संघीय सरकारमा आएको फेरबदलसँगै रोकिएको बालबालिका, विकास र शान्तिका लागि लरियट्स एन्ड लिडर्स अन्तर्राष्ट्रिय चौथो शिखर सम्मेलन भारतको नयाँदिल्लीमा गरिने भएको छ ।

सो संस्थाले आफ्नो वेवसाइडमा यो सूचना राखेको छ । लुम्बिनी प्रदेश सरकारको नेतृत्वमा फागुन २८ र २९ मा लुम्बिनीमा हुन लागेको स्थगित सम्मेलन नयाँदिल्लीमा भने फागुन २८ मा हुनेछ ।

लरियट्स एन्ड लिडर्स फर चिल्ड्रेनले उक्त कार्यक्रम नेपालको आन्तरिक राजनीतिक परिस्थितिका कारण नयाँदिल्लीमा गर्न लागिएको जनाएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले उक्त कार्यक्रम अब लरियट्स एन्ड लिडर्स फर चिल्ड्रेनकै सचिवालयले गर्न लागेको जानकारी दिए । यो कार्यक्रमका लागि केही व्यक्ति लुम्बिनी आइसकेका थिए ।

संघमा सत्ता गठबन्धनमा कांग्रेस नरहने भएपछि मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्ले कार्यक्रम स्थगित गरेको थियो । अन्तिम समयमा कार्यक्रम स्थगित हुँदा सम्मेलनमा सहभागी हुने भनिएका विशिष्ट व्यक्तिहरू आउन रोकिएका थिए । कतिपय सहभागी नयाँदिल्ली आइसकेका थिए ।

लुम्बिनीमा यो सम्मेलनको विषयमा एमाले,माओवादीसहितका दलले विवादास्पद व्यक्ति दलाई लामा जोडिएको संस्थालाई आयोजना गर्न दिइएको भन्दै विरोध गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *