प्रधानमन्त्रीपछिको दोस्रो वरियतामा एमालेका रघुवीर महासेठ, नारायणकाजीले के भने ? – Nepal Press

प्रधानमन्त्रीपछिको दोस्रो वरियतामा एमालेका रघुवीर महासेठ, नारायणकाजीले के भने ?

काठमाडौं । नयाँ गठबन्धन सरकारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपछिको वरियता नेकपा एमालेका रघुवीर महासेठले पाउने भएका छन् । त्यसपछि नारायणकाजी श्रेष्ठ र रवि लामिछाने रहनेछन् । उपेन्द्र यादव सरकारमा आएपछि उनको वरियता रविभन्दा माथि रहनेछ ।

गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमाले भएकाले प्रधानमन्त्रीपछिको वरियतामा महासेठ रहने सहमति भएको हो । महासेठ भौतिक पूर्वाधार मन्त्रालय र उपप्रधानमन्त्रीसहित सरकारमा एमालेको नेतृत्व गरेर जाँदैछन् । नारायणकाजी श्रेष्ठ त्यसपछिको वरियतामा रहने गरी उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री बन्न सहमत भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

स्रोतले भन्यो–एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्रालय बाँडफाँटमा खासै कुनै अडान लिनुभएन । तर सरकारमा वरियतामा महासेठ प्रधानमन्त्रीपछिको दोस्रो हुनुपर्छ भन्ने उहाँको अडान थियो । प्रधानमन्त्रीले नारायणकाजीलाई यो कुरा सुनाउँदा उहाँले हुन्छ मलाई केही फरक पर्दैन भनेपछि सोही अनुसार राष्ट्रपति कार्यालयमा मन्त्रीहरूको सूची पठाइएको छ ।

महासेठ यसअघि ओली प्रधानमन्त्री भएका बेला करिब २ साता उपप्रधानमन्त्री बनेका थिए । यसअघि पनि श्रेष्ठभन्दा माथिल्लो वरियतामा कांग्रेसका पूर्णबहादुर खड्का थिए भने त्यसभन्दा पहिले पनि विष्णु पौडेल उनीमाथि माथिल्लो वरियतामा रहेकाले दलीय हैसियतलाई सहजरुपमा लिएर स्वीकार गरेको श्रेष्ठनिकट नेताहरू बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर