एकै परिवारका तीन सदस्यको चार पुस्तक एकैपटक विमोचन – Nepal Press

एकै परिवारका तीन सदस्यको चार पुस्तक एकैपटक विमोचन

काठमाडौं । एकै परिवारका तीन सदस्यका चार पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ । ‘मेरा बाल सिर्जनाहरू’ र ‘नेपाललाई नेपाल बनाउने चाहना’, ‘बाल सहभागिता र बालक्लब’ र ‘नीलीमा र क्यामेरा’ कथासङ्ग्रहको संयुक्त विमोचन भएको छ ।

एक १२ वर्षीय बालक जो नेपाललाई अरु देशले उदाहरणका रूपमा लिनेसक्ने बनाउनका निम्ति कसरी के गरेर अगाडि बढ्नु पर्दछ भन्ने सपना बोकेर पुस्तक लेख्छन् ।

नेपालका विशिष्ट व्यक्तिहरुले नेपाललाई स्वीजरल्याड, जापान, सिङ्गापुर जस्तो बनाउँछौँ भन्दै दिएको मन्तव्यहरुबाट कलिलो मानसिकतामा आफ्नै पहिचानसँग जोडेर विश्वको नमूना देश बनाउने चाहना बोकेर नेपाललाई नेपाल नै बनाउने चाहना आफ्ना कृतिहरुमार्फत प्रस्तुत गरेका छन् ।

ज्ञानकुञ्ज माध्यमिक विद्यालयमा कक्षा ७ अध्ययनरत १२ वर्षीय बालकले राष्ट्र र राष्ट्रियताप्रतिको भाव प्रकट गरेका छन् । अर्को पुस्तक कोभिड महामारीका बेलामा उनले रचना गरेका विभिन्न कथा, कविता, निबन्ध र लेखहरुका सङ्ग्रह मेरा बाल सिर्जनाहरुमार्फत प्रस्तुत गरेका छन् ।

यसैगरी विगत १८ वर्ष अगाडि नेपालमा चलेको संशस्त्र द्वन्द्वले बालबालिकामा परेका प्रभावका विषय र बालबालिका तथा किशोरकिशोरीका विभिन्न पीडादायक यथार्थ घटनासँग सम्बन्धित रहेर डा.देवकी आचार्यद्वारा रचना गरिएका १८ वटा कथाहरु सङ्ग्रहीत गरी ‘निलीमा र क्यामेरा’ कथासङ्ग्रह प्रकाशन गरिएको छ भने नेपालमा बाल सहभागिताको उठान र बालक्लबको सुरुवातदेखि अहिलेसम्मको ऐतिहासिक पृष्ठभूमीमा रहेर तिलोत्तम पौडेलद्वारा लिखित ‘बाल सहभागिता र बालक्लब’ नामक पुस्तकसहित चारवटा पुस्तक संयुक्त रूपमा विमोचन गरिएको छ ।

कार्यक्रममा प्रमुख आतिथि पूर्व परराष्ट्र मन्त्रि तथा वरिष्ठ साहित्यकार प्रदिप ज्ञवालीले बालकले लेखेका किताब नेपाललाई नेपाल कसरी बनाउन सकिन्छ भन्ने विशेषता समेटेर लेखेको पुस्तकले नेतृत्व गर्दै गरेका व्यक्तित्वहरुलाई समेत मार्ग दर्शन गरेको र हामीले हामी भित्र नै रहेको विशेषतालाई प्राथमिकतामा राखेर देश बनाउनका लागि अगाडि बढ्नु कुरालाई बालकको पुस्तकले प्रेरित गरेको कुरा बताए ।

कार्यक्रमका प्रा.डा. दयाराम श्रेष्ठले ‘नीलिमा र क्यामेरा’ कथासङ्ग्रहका सबै कथाहरु किशोर साहित्यसँग सम्बन्धित रहेको र किशोरकिशोरीका जीवनमा भोगेका दुःखद घटनाका प्रभावहरु गहन रुपमा प्रस्तुत रहेको कुरा बताए ।

यसैगरी नेपाल संस्कृत विश्वविद्यालयका उपकूलपति प्रा.डा. यादव प्रकाश लामिछानेले बालक त्रिदेवको आख्यानात्मक विशेषता राम्रो रहेको र अझै मजबुद र खारिदै जाउन भनेर शुभकामना व्यक्त गरे ।

राष्ट्रिय महिला आयोगकी अध्यक्ष तथा साहित्यकार कमला परजुलीले एक घरका तीन सदस्यका चारवटा पुस्तक एकै पटक विमोचन हुनु र तीन पुस्ता एकै मञ्चमा रहेका साहित्यका विधाहरुमार्फत समाजलाई सकारात्मक परिवर्तनमा सन्देश प्रवाहगर्नसक्नु अत्यन्तै उदाहरणीय रहेको कुरा व्यक्त गर्दै लेखकहरुलाई शुभकामना व्यक्त गरेका थिइन् ।

समारोहमा बाल अधिकार अभियान्ता तथा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य गौरी प्रधानले बाल अधिकार आन्दोलन भित्र पनि बाल सहभागिताको विषय उठान गरेर नेपालमा बालक्लबले कानूनी मान्यता प्राप्त गर्नका निम्ति जिल्लादेखि सर्वोच्चसम्मको ढोका घचघचाएर नेपालमा बालक्लबलले कानूनी मान्यता प्राप्त गर्न सफल भएको कुरा लेखकले आफ्ना पुस्तकमार्फत प्रस्तुत गरेको कुरा उल्लेख गरेका थिइन् ।

समग्र नेपाली बालबालिकाको तर्फबाट बालबालिका तथा किशोरी प्रतिनिधि, ग्लोबल गल्स लिडर एडभाइजरी गु्रपकी सदस्य सबनम सुनारले तीनै जनाको पुस्तकका विषयमा उल्लेख गर्दै बाल बालिकाका निम्ति यी पुस्तकहरु उपयोगी र हामी बालबालिकाका लागि पनि प्रेरणाको स्रोतको रुपमा रहेको कुरा बताएकी थिइन् ।

लेखकहरूका बुबा होमनाथ जैसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन लेखक तिलोत्तम पौडेलले गरेका थिए भने स्वागत डा. देवकी आचार्यले गरेकी थिइन् ।

कार्यक्रममा लेखकको तर्फबाट त्रिदेव पौडेलले आफ्ना दुई कृतिहरु कोभिड महामारीका बेलामा लकडाउन चलिरहेको समयमा साहित्य रचना गरी पुस्तकाकार रूप प्रदान गरी पुस्तक विमोचन गर्न सफल हुन पुगेको कुरा बताएका छन् ।

कार्यक्रममा बाल अधिकार, मानव अधिकारलगायत साहित्यका क्षेत्रका अग्रजहरु सहित करिब २ सय जनाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *