टीआरसीमा धनराजको प्रस्तुतिबाट सशंकित प्रचण्ड – Nepal Press

टीआरसीमा धनराजको प्रस्तुतिबाट सशंकित प्रचण्ड

सबै मन्त्रीलाई राजीनामा गराएर सेटै फेर्ने सहमतिमा 'ब्रेक', देउवा र ओलीसँग समानान्तर छलफलमा प्रधानमन्त्री

काठमाडौं । राष्ट्रियसभा अध्यक्षलाई लिएर सत्ता समीकरण बदलिने चर्चाका बीच शीर्ष नेताहरूको दौडधुपले राजनीति गर्माएको छ । टीआरसी विधेयकमा कानूनमन्त्री धनराज गुरुङले मिलिसकेको कुरालाई भाँडेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सशंकित बनेका छन् । लगत्तै प्रचण्डले विपक्षी नेतासँगको भेटघाट बढाएका छन् ।

आज दिउँसोको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा असहमतिका चार बुँदामध्ये दुईटामा मात्रै सहमति जुटेको छ । मन्त्री गुरुङले मस्यौदा पेश गर्दै प्रधानमन्त्रीसँग थप छलफल गर्नुपर्ने भन्दै समय मागेका छन् । सोही विषयलाई लिएर प्रधानमन्त्री सशंकित बनेको बालुवाटार स्रोतले बताएको छ ।

आइतबार दिउँसो बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठक ।

प्रचण्डले गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबाट मन्त्री हेरफेरका लागि ग्रीन सिग्नल पाइसकेका छन् । सोही अनुसार सबै मन्त्रीबाट राजीनामा गराएर सेटै फेर्ने सहमति भएको स्रोतले बतायो ।

प्रतिपक्षी दलहरूले सदनमा दिनहुँ विवादित मन्त्रीहरू मोहन बस्नेत, सुदन किराती र प्रकाश ज्वालाको राजीनामा मागेको सन्दर्भमा प्रचण्डले सोमबार सदनमा जवाफ दिँदैछन् । त्यसअघि नै मन्त्रीहरूको राजीनामाको तयारी गरेपनि लगभग सहमति भइसकेको टीआरसी कानूनमन्त्रीले नै भाँडेको बुझाइ प्रधानमन्त्रीको रहेको निकट स्रोत बताउँछ ।

आजै साँझ देउवाले कांग्रेसका मन्त्रीहरूलाई बोलाएर पद जोगाउन प्रधानमन्त्रीको मन जित्न भनेका छन् ।

राष्ट्रियसभा अध्यक्षको विषयलाई लिएर खासगरी कांग्रेस-माओवादीमा दरार आइरहेको बेला प्रधानमन्त्री ओलीसँगको बाक्लो संवादमा रहेर देउवालाई ‘साइज’ मा ल्याउने रणनीतिमा लागेको एकथरीको विश्लेषण छ । अहिले प्रचण्ड कांग्रेस र एमालेसँग समानान्तर संवादमा रहेको सम्बन्धित दलका नेताहरूले बताएका छन् ।

आइतबार बिहान प्रचण्डले कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसित छुट्टाछुट्टै भेट गरेका थिए ।

बिहान एक्लै बालुवाटार गएर प्रधानमन्त्री भेटेका ओली बेलुका महासचिव शंकर पोखरेललाई लिएर गएका हुन् । भेटघाटको मुख्य विषयवस्तु टीआरसी बताइएपनि अन्य राजनीतिक विषयवस्तुमा पनि कुराकानी भएको अनुमान छ ।

लगभग एउटै समयमा रास्वपा अध्यक्ष रवि लामिछाने पनि बालुवाटर पुगेका थिए । टीआरसीकको टुंगो लगाउन बोलावट आएको भन्दै उनी एक्लै गएको पार्टी स्रोतले बतायो ।

बालुवाटार बैठकमा सोमबार बिहान पुनः कानून समितिको बैठक बोलाउने सहमति भएको एमाले सचेतक महेश बर्तौलाले बताए ।

उनले नेपाल प्रेससँग भने, ‘पीडितको सन्दर्भमा हामीले उठाएका विषय पूरा गर्न सरकार केही लचक भएको छ । त्यसले सकारात्मक पथमा पुग्ला कि भन्ने छ ।’

भोलि बिहान नै सत्ता गठबन्धनको बैठक पनि राखिएको छ ।

(फाइल तस्बिर)


प्रतिक्रिया

3 thoughts on “टीआरसीमा धनराजको प्रस्तुतिबाट सशंकित प्रचण्ड

  1. राजनैतिक रुपमा अलोकतान्त्रिक र अनैतिक गठबन्दन (चुनाव अघि दलहरु गठबन्दन गर्नु निर्दलीय अभ्यास हो, गैर लोकतान्त्रिक हो, जनमतको अपमान हो, जनमतको अपहरण धन्दा हो) तोडिनु पर्छ !! देश उसै पछौटे थियो, असंगतिको सिकार भएको थियो, यो गठबन्दन बने पछि त झन् ती सबै असंगतिका कुराहरु ब्याप्त भए, देश धरासायी बन्ने दिशामा गएको छ !! त्यो उल्टो दिशामा देशलाई तान्ने गठबन्दनबाट मुक्त हुन पर्छ देश पहिला !!!
    गठबन्दन मुर्दाबाद !!

  2. व्यक्तिगत स्वार्थ र बैभवलाई केन्द्रमा राखेर चल्ने मान्छे न नेता हुन सक्छ, न देश र जनताको भलाइको लागि कुनै काम गर्न सक्छ !! आजको गठबन्दन त्येस्तै हो, त्यो संग जोडिएका सबै थोरै धेरै त्येही मनस्थितिका छन : सजग र सतर्क बन्नु !!!

  3. सबैभन्दा झुर कार्यसम्पादन प्रचण्डको नै देखिन्छ । छोडनुपर्ने त उनले हो । भारत गएर सीमा विवाद छैन भन्ने, १९५० को सन्धीको कुरै नउठाउने, चुच्चे नक्साको कुरा गर्दा भारत रिसाउँछ भन्ने प्रचण्ड नै अहिलेको सरकारको निम्नकोटीको कार्यसम्पादनका कारक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर