काठमाडौं महानगरले थप ३ अस्पतालको फोहोर संकलनमा लगायो रोक – Nepal Press

काठमाडौं महानगरले थप ३ अस्पतालको फोहोर संकलनमा लगायो रोक

काठमाडौँ । काठमाडौं महानगरपालिकाले स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन अभ्यास अनुगमनका क्रममा आइतबार ३ वटा अस्पतालको फोहोर संकलनमा रोक लगाएको छ ।

महाराजगञ्ज–बसुन्धरा– सामाखुशी क्षेत्रमा सञ्चालित चिरायु, बीपी स्मृति अस्पताल र कान्तिपुर डेन्टल अस्पतालको फोहोर संकलनमा रोक लगाइएको महानगरले जनाएको छ ।

अवस्थाका बारेमा जानकारी दिँदै वातावरण व्यवस्थापन विभागकी वरिष्ठ इञ्जिनियर निशा कोइरालाले भने, ‘स्रोतमा फोहोर वर्गीकरण, वर्गीकरण भएको फोहोर ढुवानी, भण्डार कक्ष र निर्मलीकरण प्रविधि हेरेका थियौँ । यसमध्ये पनि संक्रमित फोहोरलाई निर्मलीकरण गर्ने विधिलाई महत्वका साथ हेरेका थियौँ । आज हेरिएका ३ वटै अस्पतालमा फोहोर निर्मलीकरण गर्न अटोक्लेभ वा अन्य कुनै विधिको प्रयोग नदेखिएकोले फोहोर संकलनमा रोक लगाएका हौँ ।’

आजसम्ममा २७ वटा अस्पतालमा फोहोर व्यवस्थापन आचरणको अनुगमन भइसकेको छ । यसक्रममा यसअघि नै एउटा सरकारी र ४ वटा निजी गरी ५ वटा अस्पतालहरुको फोहोर संकलनमा रोक लगाइ सकिएको छ । यसमा आज ३ वटा थप भएका हुन् ।

तीनवटामध्ये पनि विपी स्मृति अस्पतालको अभ्यास धेरै कमजोर छ । यतिसम्मकि अस्पतालका निर्देशक डा. भीम आचार्यलाई फोहोर व्यवस्थापनको फोकल पर्सन को हो, अटोक्लेभ कसले चलाउँछ, जोखिमयुक्त फोहोर कहाँ भण्डारण गरिन्छ भन्ने सूचना पनि नभएको उनले बताए ।

‘अनुगमनका क्रममा अटोक्लेभ भएको कक्षमा पुग्दा आफैँ सोध्दै हुनुहुन्थ्यो, यो कसले चलाउँछ’, टोलीले भन्यो । रामकुृमार तामाङ् मैले चलाउने हो सर, भन्दै आाएको र अनुगमन टोलीको सोधखोजपछि उनले यहाँ सामान पकाएर अप्रेसनका लागि लाने जवाफ दिए ।

अटोक्लेभ मेसिन फोहोरलाई निर्मलीकरण गर्नका लागि होइन, अप्रेसनका लागि निर्मलीकरण गरिने साधन तथा उपकरण निर्मलीकरणका लागि प्रयोग गरिएको महानगरले थाहा पायो ।

अस्पतालबाट जम्मा भएको फोहोर क्यान्टिन नजिकैको सानो कोठामा बोरामा राखिएको थियो । यो १ सय वेडको अस्पताल हो ।

फोहोर वर्गीकरणका लागि राखिएका बाल्टिनमा मिश्रित फोहोर भेटियो । अस्पतालले फोहोर व्यवस्थापनका लागि छुट्टै जनशक्तिको व्यवस्था गरेको वा कसैलाई थप जिम्मेवारी दिएको भेटिएन ।

अभिलेख त परको कुरा । रंग संकेतका बारेमा अस्पतालका कसैमा सचेतना वा जानकारी भएको देखिएन । महाराजगञ्ज कान्ति बाल अस्पतालबाट ओरालो झर्दै चक्रपथतर्फ लाग्दा राजमार्ग नपुग्दै यो अस्पतालमा पुगिन्छ ।

यो अस्पतालबाट सामाखुशीतर्फ करिब आधा किलोमिटरमा कान्तिपुर डेन्टल अस्पताल छ । यो अस्पतालमा १५० वटा डेन्टल चेयर र १ सय वटा वेड छन् । यो काठमाडौँ विश्वविद्यालयसँग सम्बन्धन प्राप्त शिक्षण अस्पताल पनि हो ।

अस्पतालका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले फोहोर भण्डारण र निर्मलीकरणका लागि निर्माण हुँदै गरेको ट्रष्टमा लैजाए । ‘हामीले सुधारको काम थालेका छौँ । तपाईँहरु अर्को पटक आउँदा कुनै त्रुटि भेट्नुहुन्न’, उनले भने, ‘महानगरपालिकाको पछिल्लो सक्रियताले आफूहरुलाई पनि जिम्मेवार महसुस गराएको र आफैँ पनि काम गरौँ भन्ने भावना जगाएको छ ।’

अस्पतालको डेन्टल सेवाबाट दैनिक करिब १० किलो फोहोर उत्पादन हुने गरेको छ । उत्पादित सुइहरु ग्यालिनमा हालेर राखिएको छ । फोहोर वर्गीकरणको अभ्यास जानकारी लिने एक कर्मचारीले भने, ‘हामीले यहाँ छुट््याए पनि संकलन गर्न आउनेहरुले मिसाउने गरेको देखेपछि हामीले वर्गीकरण गर्न छाडेका हौँ ।ण्द्दज्ञड

बसुन्धरामा रहेको चिरायु अस्पतालमा फोहोर वर्गीकरणका लागि छुट्टाछुट्टै बकेट राखिएका छन् । स्रोतमा फोहोर वर्गीकरण गर्ने प्रयास थालिएको छ । नर्सिङ् ट्रलीमा ८ वटा बकेट हुनु पर्नेमा २ वटा मात्र देखिए । प्रयोगशालामा अटोक्लेभ छ, यसलाई फोहोर नभइ प्रयोगशालाका सामानलाई शुद्धीकरण गर्न प्रयोग भएको छ । वर्गीकरण भएको फोहोर राख्न छुट्टाछुट्टै कोठा बनाइएको छ ।

यति प्रयास भएर पनि अटोक्लेभ विग्रिएका कारण संक्रमित फोहोर निर्मलीकरण हुन सकेको देखिएन ।

यसरी अनुगमन गरिएका अस्पतालहरुमा अटोक्लेभ सञ्चालन नभएको पाइएपछि फोहोर संकलनमा रोक लगाइएको हो ।

वातावरण व्यवस्थापन विभागले अनुगमनको नेतृत्व र संयोजन गरिरहेको हो । टोलीमा स्वास्थ्य विभाग र महानगर प्रहरी बलका अधिकारीहरु सहभागी हुने गर्नुभएको छ । अनुगमन निरन्तर चलिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *