अनन्तको प्रीवेडिङ सेरेमनीमा विश्वप्रख्यात हस्तीहरु सहभागी, रोए मुकेश अम्बानी – Nepal Press

अनन्तको प्रीवेडिङ सेरेमनीमा विश्वप्रख्यात हस्तीहरु सहभागी, रोए मुकेश अम्बानी

काठमाडौं । भारतका सबैभन्दा धनी मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानीको प्रीवेडिङ सेरेमनीमा विश्वविख्यात हस्तीहरु सहभागी भएका छन् । अनन्त अम्बानी र राधिका मर्चेन्टको उक्त पार्टी मार्च १ देखि गुजरातको जामनगरमा भएको थियो ।

तीन दिनसम्म चलेको सेरेमनीमा भारत मात्रै नभएर विश्वभरबाट विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई आमन्त्रण गरिएको थियो । उक्त समारोहमा गायिका रिहानाले पनि प्रस्तुति दिएकी छन् ।

सेरेमनीमा भारतका सदगुरु, बलिउडका कलाकारहरु अमिताभ, साहरुख खान, सलमान खान, दीपीका पादुकोण तथा उद्योग व्यपार क्षेत्रका हस्तीहरु सहभागी थिए । त्यसैगरी, फेसबुकका सीईओ मार्क जुकरबर्ग दम्पती, बिल गेट्स, सुन्दर पिचाईलगायत उपस्थित थिए ।

पार्टीमा आफ्नो मन्तव्य दिने क्रममा अनन्तले आफ्नो स्वास्थ्यको अवस्थाले आफ्नो जीवन सहज तवरले नचलेको बताए । उनले आफूले र आफ्नो बुबा आमाले आफ्नो स्वास्थ्यको लागि निकै धेरै प्रयास गरेको उल्लेख गरे । यसका लागि बुबाआमाप्रति कृतज्ञता व्यक्त गरे । छोराले आफ्नोबारे यसरी भनिरहँदा मुकेश अम्बानी भावुक भएका थिए । उनको आँखा रसाएका थिए । छोराको स्पीच सुनेर उनले ताली बजाए र आँखा पुछे । राधिका र अनन्तले दुवै परिवार र आमन्त्रित अतिथिप्रति सम्मान व्यक्त गरेका थिए ।

अम्बानी परिवारले जामनगरमा गाउँलेहरुलाई गुजाराती खानाका परिकार आफ्नै हातले बाँडेका थिए । त्यस्तै, गाउँलेहरुले अनन्त र राधिकालाई आशीर्वाद दिन आउँदा फूलको गुच्छा एवम् केही रकम अनन्तको हातमा राखेका थिए । अनन्तले पनि उक्त उपहारलाई सहजै स्वीकारेका थिए ।

अनन्तले आफूहरुले निर्माण गरेको वनबारे परिक्रमा गरेर केही जानकारी दिएका थिए । स्पीचका क्रममा उनीहरुले दुवै जामनगर आफूहरुका लागि मनसँग जोडिएकोले समारोह उक्त स्थानमा गरिएको बताए ।

उनीहरुको यस्ता पलहरुको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । अर्बपति भएर पनि व्यवहारमा अहंकार नभएको र शालीनता देखिएको भन्दै उनीहरुले प्रशंसा कमाइरहेका छन् ।

मुकेश अम्बानीले छोरा अनन्तको प्रीवेडिङ समारोहमा १२ सय करोड भारु भन्दा बढी खर्च गरेकाे भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । जसमा उनीहरुले थरीथरीका २५०० प्रकारका परिकार सर्व गरेका छन् ।

अनन्तर र भारतीय व्यवसायी विरेन मर्चेन्टकी छोरी राधिकाले आफ्नो ७ वर्षको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन् । उनीहरुको विवाह आगामी जुलाइ १२ मा हुने छ । उनीहरुले १९ जनवरी २०२३ मा ईंन्गेजमेन्ट गरेका थिए ।

अम्बानी परिवारले जामनगरमा तीन हजार बिघा जमिनमा ‘वनतारा’ चिडियाखानाको निर्माण गराएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *