सुदूरपश्चिममा गरिबी न्यूनीकरण गर्न सबै लाग्नु पर्छ : भौतिक मन्त्री देउवा – Nepal Press

सुदूरपश्चिममा गरिबी न्यूनीकरण गर्न सबै लाग्नु पर्छ : भौतिक मन्त्री देउवा

कैलाली । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले प्रदेशको गरिबी न्यूनीकरणका लागि सबै तहका सरकार लाग्नु पर्ने बताएका छन् ।

स्थानीय सरकार सञ्चालन र नेतृत्व विकाससम्बन्धी दुई दिने तालिम समापनमा बोल्दै उनले सुदूरपश्चिममा गरिबी न्यूनीकरण गरेर समृद्धिको यात्रा तय गर्नु पर्ने बताए ।

‘भरखरै सार्वजनिक भएको नेपालको जीवनस्तर सर्वेक्षण २०७९/०८० मा नेपालमा २० दशमलव २७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि रहेको देखाएको छ । अझ हाम्रो प्रदेशमा गरिबीको रेखामुनि रहेको जनसङ्ख्या ३४ दशमलव १६ प्रतिशत रहेको छ । यो अङ्क राष्ट्रिय तथ्यांकभन्दा करिब १४ प्रतिशतले अधिक छ । त्यस्तै, सात प्रदेशमध्ये हाम्रो सुदूरपश्चिम सबैभन्दा बढी गरिबी रहेको प्रदेशका रूपमा चिनिएको छ ’ उनले भने, ‘त्यस कारण हाम्रो प्रदेशका स्थानीय सरकारहरू र प्रदेश सरकारको मुख्य लक्ष्य नै गरिबी न्यूनीकरण हुनु जरुरी छ ।’

स्थानीय तहहरूलाई आर्थिक रूपमा सबल बनाउने, बाह्य लगानीको वातावरण सिर्जना गर्ने र विकास निर्माण तथा सेवा प्रवाहलाई नतिजामुखी बनाउँदै गरिबी न्यूनीकरणमा ध्यान केन्द्रित गर्न आवश्यक रहेको बताए ।

विगतमा प्रदेश सरकारले पूर्व तयारी विना विकास आयोजनाहरू बनाउने र कार्यान्वयन गर्ने गरेको भन्दै चालू आर्थिक वर्षदेखि विकास निर्माण योजनाहरूको छनोटका लागि विस्तृत सम्भाव्यता अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन, जग्गाप्राप्तलाई पूर्व आधारका रूपमा ग्रहण गरेको मन्त्री देउवाले बताए ।

‘हामीले चालू आर्थिक वर्षदेखि योजना बैकको अवधारणा सुरु गरेका छौ । यसको प्रमुख उद्देश्य व्यवस्थित र योजनाबद्ध रूपमा विकास निर्माण योजना तर्जुमा गरी बजेट विनियोजन गर्ने र कार्यान्वयन गर्ने हो ’ उनले भने ।

विगतका गलत अभ्यासहरूलाई त्याग्दै अहिले अवलम्बन गरिएका भौतिक, सामाजिक, आर्थिक, विकासका असल र अभ्यास उपलब्धिमूलक नीतिलाई निरन्तरता दिँदै अघि बढ्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

नेपालको संविधानको मूलमर्म सङ्घ, प्रदेश र स्थानीय तहबिच सहकारिता, सहअस्तित्व र समन्वयको आधारहरू रहेको भन्दै यो मर्म र भावना अनुसार तीन तहबिचको समन्वयात्मक सम्बन्धको सिद्धान्तलाई व्यवहारिक रूप उतार्न प्रदेश सरकार सधैँ प्रतिबद्ध रहेको समेत भौतिक मन्त्री देउवाले जिकिर गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर