दीपेन्द्रले ट्वीस्ट ल्याएको खेलमा करणको शानदार फिनिसिङ – Nepal Press

दीपेन्द्रले ट्वीस्ट ल्याएको खेलमा करणको शानदार फिनिसिङ

३ ओभरमा ४१ रन खाएका करण अन्तिम ओभरमा यसरी बने जितका नायक

काठमाडौं । लगभग हातबाट फुत्किसकेको म्याच आफ्नो पक्षमा पार्दै नेपालले घरेलु मैदानमा लगातार पाँचौं हार टार्न सफल भयो । नामिबियाविरुद्धको आजको म्याचको हिरो भए फास्ट बलर करण केसी । उनै करण जसले आफ्नो पहिलो तीन ओभरमा अत्यधिक महँगो बलिङ गर्दै ४१ रन खर्चिसकेका थिए ।

कप्तान रोहितले अन्तिम ओभर करणलाई दिने जोखिमपूर्ण निर्णय लिए । हुन त उनीसँग अप्सनमा प्रतिस जिसी पनि थिए । तर, रोहितले अनुभव रोजे र करणले पनि आफ्नो करिअरकै एउटा अविस्मरणीय ओभर फ्याँकेका छन् ।

तीन ओभरमा झण्डै १४ को औसतमा रन बगाएका करणसामु अन्तिम ओभरमा ११ रन जोगाउनुपर्ने चुनौती थियो । १५ औँ ओभरमा तीन छक्कासहित २४ रन खर्चिएका करण अवश्य पनि उच्च मनोबलमा थिएनन् । तर पनि उनले आफ्नो सारा अनुभव खन्याउँदै एउटा उत्कृष्ट ओभर पस्किन सफल भए ।

क्रिजमा जिन ग्रिन १० बलमा २१ रन र रुबेन ट्रम्पलम्यान १० बलमा १३ रनमा खेल्दै थिए । करणले पहिलो बल सर्ट अफ लेन्थ फ्याके जसलाई ब्याट्सम्यानले पुन गर्दै एक रनका लागि दौडिए ।

दोस्रो बल रणले अफ साइडमा फ्याके र त्यसलाई ब्याट्सम्यानले उठाएर खेल्ने प्रयास भए । तर, एक रनमात्र भयो । नामिबियालाई ४ बलमा १० रन चाहियो । ब्याट्सम्यानहरुलाई जसरी पनि बाउन्ड्रीको खाँचो थियो ।

तेस्रो बलमा करणले उत्कृष्ट योर्कर फ्याँके । अफसाइडमा आएको बललाई ब्याट्सम्यानले केही गर्न सकेनन् । डट बलसँगै नामिबिया दबाबमा पर्‍याे । अब तीन बलमा १० रन चाहियो । खेल नेपालको पक्षमा मोडियो ।

करणले चौंथो बल पनि ब्याट्सम्यानले खेल्न सकेनन् । ब्याट्सम्यानले स्कुप गर्न खोज्दा बलमा ब्याटको कन्ट्याक्ट भएन । तर, अम्पायरले वाइड इशारा गरे । नामिबियालाई एक रन बोनस आयो । नेपाली टीम अम्पायरको निर्णयमा असन्तुष्ट बन्यो । कप्तान रोहितले अम्पायरसँग गुनासो पनि गरे ।

करणले चौंथो बल दोहोर्‍याएर फ्याके । यो बल पनि उत्कृष्ट थियो । उनले स्टम्प ताकेर फ्याकेको बलबाट ब्याट्सम्यानले एक रनमात्र निकाल्न सके । अब नामिबियालाई अन्तिम दुई बलमा ८ रन आवश्यक भयो ।

बाउन्ड्रीविना उपाय थिएन । करणको पाँचौं बलले नेपाललाई जीत दिलायो । ट्रम्पलम्यानले करणलाई ठूलो सट प्रहार गरे । बल आकाशियो । तर, लामो दूरी तय गर्न सकेन । रोहितले सुरक्षित क्याच लिए ।

अन्तिम बल औपचारिकता मात्रै थियो । करणले लिगल डेलिभरी गरे नेपालको जित सुनिश्चित हुन्थ्यो । बर्नार्ड स्कल्ट्जले प्रहार गरेको बल बाउन्ड्रीमा राम्रो फिल्डिङ नहुँदा चौका भयो । तर, जीत नेपालकै भयो ।

करण अन्तिममा हिरो भए पनि यो जितको ठूलो श्रेय दीपेन्द्रसिंह ऐरीलाई पनि नदिइरहन सकिन्न । नामिबिया सहज जीततर्फ लम्किरहेको अवस्थामा दीपेन्द्रले नेपाललाई शानदार कमब्याक गराएका थिए । अन्तिम ५ ओभरमा नामिबियालाई ४८ रन चाहिएको थियो भने हातमा ७ विकेट थियाे ।

१६ औं ओभर बलिङमा आएका दीपेन्द्रले पहिलो र दोस्रो बलमा लगातार दुई विकेट लिँदै नेपाललाई खेलमा फर्काए । यो ओभरमा उनले दुई रनमात्र खर्चिए । लगत्तैको ओभरको पहिलो बलमा अविनाश बोहराले विकेट लिएपछि खेल नेपालको पक्षमा मोडिएको थियो । अन्तिम ३ ओभरमा नामिबियालाई ४१ रन चाहियो भने ६ विकेट गुमेको थियो ।

१८ औं ओभरमा नामिबियाले दीपेन्द्रमाथि हमला गर्‍याे । एक छक्का र दुई चौकासहित दीपेन्द्रले यो ओभरमा १८ रन खर्चिए । फेरि खेलमा नामिबियाको हात माथि पर्‍याे । तर, अन्तिम पटकथा करणले लेखे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर