टेरामक्स प्रकरणमा मुछिएका मुख्यसचिव अर्यालमाथि राजीनामाको दबाब – Nepal Press

टेरामक्स प्रकरणमा मुछिएका मुख्यसचिव अर्यालमाथि राजीनामाको दबाब

काठमाडौं । विभिन्न अनियमिततामा मुछिएका मुख्य सचिव डा. बैकुण्ठ अर्यालले पदबाट राजीनामा दिनसक्ने सम्भावना बढेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा उनीसमेतलाई प्रतिवादी बनाएर मुद्दा दायरको अन्तिम तयारी गरिरहँदा अर्याल राजीनामाको मनस्थितिमा पुगेको स्रोतले दाबी गर्‍यो ।

अवकाश हुने मितिभन्दा दुई दिनअघि शंकास्पद ढंगले तत्कालीन सञ्चारसचिव अर्याललाई मुख्यसचिव बनाइएको थियो । उनको बाटो खुला गर्दै तत्कालीन मुख्यसचिव शंकर बैरागीले आफ्नो सेवा अवधि समाप्त नहुँदै राजीनामा दिएका थिए । वैरागीपछि मन्त्रीसरहको सुविधा पाउने गरी प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार नियुक्त भए ।

भ्रष्टाचारमा संलग्न शक्ति प्रयोग गरेर नै अर्याल मुख्य सचिव बनेको अख्तियारको अनुसन्धानबाट देखिएको छ । बहालवाला मुख्यसचिवमाथि भ्रष्टाचार मुद्दा दायर गर्दा समग्र कर्मचारी प्रशासनको मनोबल कमजोर बन्न सक्ने भएकाले अख्तियारले पनि उनी राजीनामा दिउन् भन्ने चाहेको स्रोत बताउँछ ।

अख्तियारनिकट स्रोतले भन्यो, ‘उहाँले राजीनामा गरे पनि/नगरे पनि टेरामक्सको मुद्दा आइतबारसम्ममा अदालत जान्छ ।’

अर्याल सञ्चार सचिव हुँदा भ्रष्टाचार आरोपमा हाल थुनामा रहेका तत्कालीन सेक्युरिटी प्रिन्टिङ सेन्टरका पूर्वकार्यकारी निर्देशक विकल पौडेलसँग उनको आर्थिक लेनदेन पनि सार्वजनिक भएको छ । अर्यालको निर्देशनमा उनैले दिएको खाता नम्बरमा विकलले दुईपटक पैसा हालिदिएको तथ्य सार्वजनिक भएको हो । विकलले एकपटक ५ लाख र अर्कोपटक ९ लाख रूपैयाँ खातामा हालिदिएर अर्याललाई भौचर पठाएका थिए । यो पैसा केको लागि हाल्न लगाएको हो भन्ने अर्यालले राम्ररी बचाउ गर्न सकिरहेका छैनन् । यो प्रकरणले पनि उनीमाथि राजीनामाको दबाब बढिरहेको छ ।

अर्यालको राजीनामा आजै सक्ने दाबी स्रोतले गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर