पूर्वाधार सचिव शर्मा भन्छन्- बजेटको सिलिङ नबढे नयाँ योजना ल्याउन सकिँदैन – Nepal Press

पूर्वाधार सचिव शर्मा भन्छन्- बजेटको सिलिङ नबढे नयाँ योजना ल्याउन सकिँदैन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले आगामी आर्थिक वर्ष २०८१/८२ मा बजेटको सिलिङ नबढाएमा नयाँ विकास निर्माणको योजना ल्याउन नसकिने बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सचिव शर्माले आगामी आर्थिक वर्ष २०८१/८२ मा बजेटको सिलिङ बढे मात्रै नयाँ विकास निर्माणका योजना अगाडी बढाउन सकिने बताएका हुन् ।

उनले बजेटको सिलिङ नबढेमा कुनै नयाँ काम अगाडी बढाउन नसकिने भएकाले सरकारको नीति तथा कार्यक्रममा पनि केही नलेखे हुने बताए ।

उनले आर्थिक वर्ष २०८१/८२ का लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १२४ अर्बको सिलिङ आएको बताए । उनले नयाँ योजना समेत गर्नुपर्ने हुँदा मन्त्रालयलाई २०० अर्बको सिलिङ आवश्यक भएको बताए ।

उनले १२४ अर्बको सिलिङबाट पनि पुराना आयोजनाहरुलाई बजेट छुट्याउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै सिलिङ नथपिएमा नयाँ काम केही पनि गर्न नसकिने बताए ।

उनले यति नै बजेटको सिलिङ भएमा पुराना काम मात्रै सक्नेगरी अगाडी बढ्नुपर्ने अवस्था रहेको बताए । अन्यथा बजेटको आकार बढाउनुपर्ने उनको भनाइ छ । उनले बजेटको सिलिङभन्दा बाहिर गएर काम गर्न नसक्दा सांसदहरुले माग गरे अनुरुपको सडक तथा पुलहरु निर्माण गर्न नसकिएको बताए ।

उनले चालू आर्थिक वर्षको मन्त्रालयको खर्च हालसम्म २९ प्रतिशत भएको बताए । उनले ६ अर्ब रुपैयाँ गत वर्षकै भुक्तानी गर्न बाँकी रहेको पनि बताए ।

यस्तो छ सचिव शर्माको भनाइः

आ.व. २०७९/८० मा हाम्रो मन्त्रालयको बजेट १६५ अर्ब । यसमा १० प्रतिशत मात्रै बढाएको भएपनि ०८०/८१ मा १८२ हुनुपर्थ्याे । भयो १३१ । अब आउने आ.व. २०८१/८२ को हाम्रो सिलिङ २०० अर्ब हुनुपर्थ्याे । अझ आर्मीको फास्ट ट्रयाक पनि यसैमा छ फेरि । आर्मीको फास्टट्रयाक त समय सकिन थाल्यो ।

अब त्यहाँ धेरै बजेट दिनुपर्छ । तर अहिले पनि सिलिङ आयो १२४ अर्ब । यो १२४ अर्ब पुँजिगत बजेटले हाम्रो सिनारियो कस्तो छ भने यो भन्दा पहिल्यै ठेक्का भइसकेकोमा ३ खर्ब ३ अर्ब हामीसँग कन्ट्रयाक्टको कमी हुँदैछ । त्यसलाई हामीले सामान्यतया ३ वर्षलाई मान्यौँ भनेपनि सडक विभागको मात्रै कुरा गर्दा १०१ अर्ब पुराना कामहरुका लागि छुट्याउनुपथ्र्यो ।

२० अर्ब जति यो आर्थिक वर्षमा पनि केही न केही त ठेक्का भएका छन् । अनि १० अर्ब सम्मको नयाँ ठेक्का निकालौँ न त अर्को वर्ष भन्यौँ भनेपनि सडक विभागलाई चाहिन्थ्यो १३०, आर्मीलाई चाहिन्थ्यो ५० र अरु रेल, यातायात व्यवस्था, जल यसोउसो गर्दा हामीलाई करिब २०० चाहिनेमा आएको छ १२४ । यहीँ भित्रबाट फेरि बाड्ने हो । कसरी धान्ने भनेर एकदमै दबाबमा परिन्छ ।

माननीयज्युहरुले एउटा पनि राखिदिएन अथवा यो ठाउँमा पैसा पारिदिएन भन्नुहुन्छ । हामीलाई एउटा सिलिङभित्र बसेर काम गर्नुपर्छ । पौडि खेल तर हातखुट्टा चाहीँ बाँधिदिन्छु भनेको जस्तो जसरी पनि गर्नुप¥यो । मेरो निरिहता यहाँ प्रकट गरेँ । मैले सिलिङभन्दा बाहिर गएर त बाँड्न सक्दिनँ । हाम्रो सिलिङ यति नै हो त थपिन्छ कि ? होइन भने हामी नयाँ त केही पनि गर्न सक्दैनौँ ।

नीति, कार्यक्रममा पनि केही पनि नलेखे हुन्छ । त्यो कुरा मैले सचिव बैठकमा पनि राखेको छु । अब नयाँ कुरा गर्ने कि नगर्ने भनेर कन्फर्म गरिदिनुपर्छ । कि दुईचार वर्ष पुराना काम सकाउ र नयाँमा जाऔँ । कि बजेटको आकार बढाऔँ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर