सुन्धारामा फुटपाथ व्यवसायी र महानगर प्रहरीबीच झडप, केही घाइते – Nepal Press

सुन्धारामा फुटपाथ व्यवसायी र महानगर प्रहरीबीच झडप, केही घाइते

काठमाडौं । काठमाडौं महानगर प्रहरी र फुटपाथ व्यवसायीबीच झडप भएको छ । बेलुका ९ बजेबाट व्यवसाय सञ्चालन गर्न दिने भनिएपनि ७ बजेदेखि नै पसल थापेको भन्दै नगर प्रहरीले हटाउन खोजेपछि उनीहरुबीच झडप भएको हो ।

नेपाल स्वरोजगार व्यापार श्रमिक संघले विज्ञप्ति जारी गर्दै महानगर प्रहरीका डिएसपी मनोज लामिछाने नेतृत्वमा परिचालित महानगर प्रहरीहरुहरुले बुधबार बेलुका ८ बजे सुन्धारा आसपासका सडकमा स्वरोजगार मजदुरहरुलाई आक्रमण गरि घाइते बनाएको दाबी गरेको छ ।

संघले महानगर प्रहरीले आक्रमण गरी सामान समेत लुटपाट गरेकाे आराेप लगाएकाे छ । साथै मजदुरहरुलाई नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर ध्यानकर्षण भएको संघले जनाएको छ ।

संघे महानगरसँग आफ्ना पाँच बुँदे माग समेत राखेको छ ।

यस्तो संघको विज्ञप्तिः

प्रेस विज्ञप्ति
काठमाण्डौं महानगर प्रहरीका डिएसपी मनोज लामिछाने नेतृत्वमा परिचालित महानगर प्रहरीहरुहरुले आज साँझ सवा ८ बजेको समयमा काठमाण्डौंको सुन्धारा आसपासका सडकमा स्वरोजगार मजदुरहरुलाई आक्रमण गरि घाइते बनाउनुका साथै, सामान समेत लुटपाट गरेर कजदुरहरुलाई नियन्त्रणमा लिएको घटनाप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएकोछ ।

महानगर प्रहरीको आक्रमणमा परेर स्वरोजगार मजदुर नानीमैया बस्नेत गम्भिर घाइते भइ ट्रमा सेन्टरमा भर्ना हुनुभएकोछ भने अन्य मजदुरहरु राधिका मैनाली, बद्री देवकोटा घाइते हुनुभएकोछ । केही मजदुरहरुलाई नियन्त्रणमा लिइ कालिमाटी प्रहरी कार्यालयमा लगिएको छ ।

साँझको समय कसैलाई असर नपार्ने गरि सडकपेटी तथा गल्लीमा व्यवसाय गरिरहेका स्वरोजगार श्रमिकहरुलाई साँझको समयमा अन्धाधुन्ध कुटपिट गर्ने, लछारपछार गर्ने, आमाचकारी गालीगलौज गर्ने, सामानहरु लुट्ने, सामानहरु फ्याकिदिने र मरणासन्न हुनेगरी घाइते बनाउने जस्ता महानगरका मेयर बालेन्द्र साहको निर्देशनमा महानगर प्रहरीहरुले गरेका अमानविय व्यवहारको भत्सर्ना गर्दछौं ।

सानो पूँजी लगानी गरेर फलफूल, तरकारी, जुत्ताचप्पल, कपडा लगायतका सामग्रीहरु सस्तो मूल्यमा विक्री गर्ने निम्न वर्गका स्वरोजगार मजदुरहरुलाई सत्ता र शक्तिको आडमा गरिएको गुन्डागर्दी खेदजनक छ ।

सँधैंको घटनाले महानगरपालिका आतङ्ककारी, अपहरणकारी र लुटेरा जस्तो देखिएकाले तत्काल सच्चीन आग्रह गर्दछौं ।
महानगरपालिकासँग हामी आग्रह गर्दछौं ।

१. मजदुरमाथि आक्रमण गर्नेलाई कारबाही गरि माफि मागियोस् । स्वरोजगार मजदुरहरुलाई आक्रमण गरि गम्भिर घाइते बनाउने महानगर प्रहरीहरुलाई तत्काल कारबाही गर्दै मजदुरमाथि आक्रमण गर्ने, मजदुरहरुको सामान लुट्ने जस्ता आपराधिक कार्यप्रति काठमाण्डौं महानगरपालिकाले मजदुरहरुसंग माफि माग्नु पर्दछ ।

२. घाइते मजदुरहरुको तत्काल उपचार गरियोस् । आक्रमणमा परि घाइते हुनु भएका सम्पूर्ण श्रमिकहरुको तत्काल अवस्था बुझी तत्काल उपचारको प्रवन्ध गरियोस् ।

३. जफत् गरिएका सामानहरु फिर्ता :महानगर प्रहरीहरुद्धारा आज तथा अन्य समयमा लुटिएका स्वरोजगार श्रमिकहरुको सामानहरु सम्बन्धीत श्रमिकहरुलाई स–सम्मान र तत्काल फिर्ता गरियोस् ।

४. सन्ध्याकालिन बजारको व्यवस्था :महानगरभीत्र सन्ध्याकालिन बजारको व्यवस्थाका लागि निश्चित समय र स्थानहरुको निर्धारण गरि व्यवसाय गर्ने वातावरणको व्यवस्था गरियोस् ।
५. कार्यदल गठन  : महानगरभीत्र “सस्तो नागरिक बजार‶को व्यवस्था गर्न, महानगरभीत्र “श्रम डेस्क‶को व्यवस्था गरि श्रमिकहरुको सूचिकरण र व्यवस्थापन लगायत तात्कालिन र दिर्घकालिन संकटहरुको व्यवस्थापनका लागि नेपाल स्वरोजगार व्यापार श्रमिक संघ सहित सरोकारवालाहरु सम्मिलित कार्यदल गठन गरियोस् ।

माथि उल्लेखित विषयहरु तत्काल सम्बोधन नभए सम्पूर्ण श्रमिकहरु सडक आन्दोलनमा जान बाध्यहुने व्यहोरा अवगत गराउँदछौं ।
हार्दिक अभिवादन सहित ।

नेपाल स्वरोजगार व्यापार श्रमिक संघ
केन्द्रीय कमिटी, काठमाडौं

……………………
राजकुमार श्रेष्ठ
महासचिव ………………..
माया गुरुङ
अध्यक्ष

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *