नेविसंघ इतर पक्षले माग्यो दुजाङको राजीनामा, स्वार्थमा लिप्त भएको आरोप (भिडिओ) – Nepal Press

नेविसंघ इतर पक्षले माग्यो दुजाङको राजीनामा, स्वार्थमा लिप्त भएको आरोप (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघका संस्थापनइतर समूहले सभापति दुजाङ शेर्पाको राजीनामा माग मागेको छ ।

दुई दिन काठमाडौंमा बसेको बैठकको निर्णय बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।  सभापति शेर्पाले केन्द्रीय कार्यसम्पादन समितिको निर्णय उल्लंघन गर्दै विभिन्न जिल्लामा मनोमानी ढंगले जिल्ला अध्यक्षको जिम्मेवारी दिने काम गरेको भन्दै राजीनामा माग गरेको हो ।

उनीहरूले मनोमानी ढंगले व्यक्तिगत स्वार्थमा लिप्त भएर गरिएका सबै निर्णय खारेज गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको ध्यानाकर्षण गराउने निर्णय गरिएको नेविसंघ केन्द्रीय सदस्य प्रेमिका राना मगरले बताइन् ।

व्यक्तिगत स्वार्थका कारण देशभरी संगठनलाई धरासयी बनाउँदै लैजाने अवस्था भइरहेकोप्रति गम्भीर ध्यानकर्षण भएको भन्दै उनले विधिविधानविपरीत अध्यक्षले गरेको कामलाई सचेत गराउने काममात्रै गरेको जिकिर गरिन् ।

आफ्नो पक्षले बारम्बार छलफलका लागि बोलाउँदा पनि अध्यक्ष नआएको, आफूखुसी ढंगले कार्यक्रम गर्दै हिँडेको संस्थापनइतर समूहको आरोप छ । शेर्पाबाट अब संगठन अघि नबढ्ने उनीहरूको निष्कर्ष छ ।

देशभर विधिवत १२औं महाधिवेशनको तयारीका लागि सदस्यता वितरण, सुझाव संकलन र संगठन विस्तारका लागि केन्द्रीय प्रतिनिधि खटाउनेलगायत ५ वटा निर्णय गरिएको केन्द्रीय सदस्य भुवन भट्टले बताए ।

पार्टी सभापति शेरबहादुर देउवासहित संस्थापननिकट संघका अध्यक्ष दुजाङ शेर्पाले मनोमानी ढंगले संगठन चलाएको भन्दै इतर पक्षका विद्यार्थी नेताहरूले मंगलबारका लागि बोलाइएको केन्द्रीय समितिको बैठक वहिष्कार गरेका थिए । उनीहरूले मंगलबार सभापति शेरबहादुर देउवालाई उनकै निवास पुगेर ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापन पत्र बुझेपछि देउवाले नेविसंघ अध्यक्ष शेर्पालाई फोन गरी विवाद मिलाएर मात्रै बैठक गर्न निर्देशन दिएका थिए । तर, पूर्वनिर्धारित तालिकाअनुसार प्रज्ञा भवनमा कमलादीमा अध्यक्ष शेर्पाले बैठकको उद्घाटन गराए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर