सहमति पालना नभएपछि सीटीईभीटीका कर्मचारीहरु ३५ दिनदेखि धर्नामा – Nepal Press

सहमति पालना नभएपछि सीटीईभीटीका कर्मचारीहरु ३५ दिनदेखि धर्नामा

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका- २ सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) का कर्मचारीहरुले थालेको आन्दोलन ३५ दिनमा पुगेको छ । कर्मचारीहरु धर्नामा बसेको मंगलबार ३५ दिन पुग्दा पनि सीटीईभीटी व्यवस्थापनले माग पूरा गर्नेतर्फ कुनै पहल गरेको छैन ।

आफूहरुसँग विभिन्न मितिमा व्यवस्थापनले गरेको सहमति तथा उच्च अदालत पाटनले गएको भदौ २७ गते दिएको आदेश पालना नभएपछि आफूहरु आन्दोलनमा उत्रिएको नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष तेजबहादुर खत्रीले बताए ।

पदपूर्तिलगायत विविध माग राखी धर्नामा बसेको ३५ दिन पुगिसक्दा पनि आफूहरुको न्यायिक आन्दोलनलाई व्यवस्थापनले बेवास्ता गरेको भन्दै अध्यक्ष खत्रीले आन्दोलन थप कडा बनाउने चेतावनी दिए ।

सीटीईभीटी प्राङ्गणमै संगठनका अध्यक्ष खत्री, उपाध्यक्ष कमल ढकाल र महासचिव शिवानन्द मिश्रको नेतृत्वमा कर्मचारीहरु धर्नामा बसेका छन् । तीन जना पदाधिकारी कार्यालय समयभर धर्नामा बस्ने गरेको अध्यक्ष खत्रीले जानकारी दिए ।

‘उच्च अदालत पाटनबाट गत भदौ २७ गते भएको आदेशअनुसार माघ १० गतेभित्र पदपूर्ति गर्नुपर्ने माग पूरा नभएपछि आन्दोलन थालेका हौं’, उनले भने, ‘योसँगै हामीले व्यवस्थापनसामु ५ बुँदे माग अघि सारेका छौं ।’

वर्षौंदेखि जरा गाडेर बसेका कर्मचारीका कारण सीटीईभीटीमा बेथिति बढेको आन्दोलनकारी कर्मचारीहरुको भनाइ छ । त्यस्ता कर्मचारीहरुको जिम्मेवारी हेरफेर हुनुपर्ने संगठनको माग रहेको महासचिव शिवानन्द मिश्रले बताए ।

सीटीईभीटीमा कतिपय कर्मचारी १५ वर्षभन्दा बढी समयदेखि एउटै शाखामा रहेको उनको भनाइ छ ।

‘बढीमा ५ वर्ष एकै शाखामा बसेका कर्मचारीको सरुवा हुनुपर्ने हाम्रो संगठनको माग छ’, महासचिव मिश्रले भने, ‘त्यस्तै सेवा करार तथा ज्यालादारी कर्मचारीको महँगी भत्ता उपलब्ध गराउनुपर्ने, प्रधानमन्त्रीद्वारा घोषणा गरेको सामाजिक सुरक्षाको व्यवस्था हुनुपर्ने तथा आगामी शैक्षिक सत्रबाट परिषद्अन्तर्गतका सम्भाव्य आंगिक शिक्षालयहरूमा प्रमाणपत्र तह नर्सिङ कार्यक्रम सञ्चालन गर्न आवश्यक प्रक्रिया शुरू गर्नुपर्नेलगायतका मागहरू अघि सारेका छौं ।’

सीटीईभीटीका सदस्य सचिव इ. महेश भट्टराईले भने आफूलाई असहयोग गर्न नेपाल राष्ट्रिय कर्मचारी संगठनले आन्दोलन शुरु गरेको प्रतिक्रिया दिएका छन् । आफू जिम्मेवारीमा आउना साथ् आन्दोलन शुरु गरिएको भन्दै उनले असन्तुष्टिसमेत पोखे ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन सत्तारुढ दल नेकपा माओवादी केन्द्र निकट कर्मचारीहरुको संगठन हो । सीटीईभीटीका नवनियुक्त सदस्य सचिव इ. भट्टराई पनि माओवादी केन्द्र निकट नै मानिन्छन् । प्रधानमन्त्री निकट सदस्य सचिवले नै पार्टी समर्थित कर्मचारी संगठनको माग सम्बोधन गर्ने तत्परता नदेखाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सीटीईभीटीको अध्यक्ष भने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रहने व्यवस्था छ । जनता समाजवादीका नेता अशोककुमार राई शिक्षामन्त्री छन् । मन्त्रालयअन्तर्गतको संस्थाका कर्मचारीहरु आन्दोलनमा रहँदा पनि मन्त्री राईले समस्या समाधान गर्न कुनै चासो नदेखाएको कर्मचारीहरुको आरोप छ ।

सीटीईभीटी प्रशासनका उपनिर्देशक रोहित दाहालले भने वार्ताको पहल भैरहेको दाबी गरेका छन् । पदपूर्तिको विषय अर्थ मन्त्रालयसँग पनि जोडिएकोले समय लाग्ने भए पनि अन्य विषयलाई सम्बोधन गरेर अघि बढ्नेबारे छलफल भइरहेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *