कोशीका पहाडी जिल्लामा गाँजा उत्पादन, एम्बुलेन्स र तरकारीको गाडीबाट भारत तस्करी (भिडिओ) – Nepal Press

कोशीका पहाडी जिल्लामा गाँजा उत्पादन, एम्बुलेन्स र तरकारीको गाडीबाट भारत तस्करी (भिडिओ)

माघयता दुई हजार किलो गाँजा बरामद

विराटनगर । पूर्वी नेपालका पहाडी जिल्लाहरूमा उत्पादन भएको गाँजा मोरङको सीमावर्ती क्षेत्रमा भण्डारण गरी भारतमा बिक्री गर्न गिरोह सक्रिय रहेको पाइएको छ ।

गत एक महिनाको अवधिमा मात्र प्रहरीले करिब दुई हजार किलो गाँजा बरामद गरेपछि गाँजा ओसारपसारमा ठूलो गिरोह रहेको निष्कर्षमा प्रहरी पुगेको हो । ओसारपसार, बेचबिखन र प्रयोगमा पूर्णरूपमा प्रतिवन्ध लगाइएको गाँजा धनकुटा, उदयपुर, तेह्रथुम, भोजपुरलगायतका जिल्लामा उत्पादन गरी भारत पुर्‍याउने गरिएको प्रहरी अनुसन्धानबाट खुलेको हो । पहाडी क्षेत्रमा उत्पादन भएको गाँजा एम्बुलेन्स तथा तरकारी बोक्ने सवारीमार्फत ओसारपसार गरी भारततर्फ पुर्‍याउने गिरोह पछिल्लो सयम सक्रिय रहेको प्रहरीको भनाइ छ ।

पूर्वी पहाडी जिल्लामा गाँजाको खेती नै गरेर सेवनका लागि तयारी भएको गाँजा सीमावर्ती क्षेत्रसम्म आइपुग्दा सुरक्षा निकायको भूमिकामाथि नै प्रश्न उठ्ने गरेको छ । तर, प्रहरी भने वर्षेनी गाँजा खेती फँडानी गर्ने, उत्पादन तथा ओसारपसार गर्ने गिरोहको सञ्जाल भत्काउने अभियानमा सक्रिय रहेको दाबी गर्छ । लागुऔषध दुर्व्यसनलाई निरुत्साहित गर्न विभिन्न सचेतनामूलक अभियान सञ्चालन गरिरहेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिना बताउँछन् ।

प्रदेश प्रहरी कार्यालयकाअनुसार गत माघ महिनायता एक हजार ९ सय १९ किलो गाँजा बरामद गरिएको छ । चालू आर्थिक वर्षको सात महिनामा मात्रै प्रदेशभर दुई हजार आठ किलो गाँजा बरामद भएको छ । अघिल्लो आर्थिक वर्षमा यो प्रदेशमा पाँच हजार आठ सय १५ किलो गाँजा बरामद भएको थियो ।

प्रहरीले गाँजालगायत लागुऔषधसहित चालू आर्थिक वर्षको माघसम्ममा ७५८ जनालाई पक्राउ गरेको छ । अघिल्लो आर्थिक वर्षमा एक हजार १५१ जनालाई लागुऔषधसहित नियन्त्रणमा लिइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *