मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति सिंहले सार्वजनिक गरे ४ वर्षे कार्यकालको प्रगति विवरण – Nepal Press

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति सिंहले सार्वजनिक गरे ४ वर्षे कार्यकालको प्रगति विवरण

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले चार वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन् । मङ्गलवार सिंहले पत्रकार सम्मेलन गर्दै चार वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

प्रगति विवरण सार्वजनिक सिंहले आफूले त्यस्तो कुनै पनि निर्णय नगरेको बताएका छन् । उनका अनुसार पाँच वर्ष देखि स्थायी भएका कार्यालय सहयोगी र सवारी चालक कर्मचारीलाई स्तर वृद्धि गरेको जानकारी दिए । एक वर्ष देखि स्थायी भएका कार्यालय सहयोगी र सवारी चालकलाई एक/एक ग्रेट वृद्धि गरेको उपकुलपति सिंहले बताए ।

मध्यपश्चिम विश्वविद्यालयमा म आएपछि ४६ जनालाई पिएचडी गर्ने अवस्थामा पुर्‍याएको छु, ‘उनले भने,‘मैले त्यति पास गरेर बिदा हुँदै छु । २/४ वर्ष पनि पिएचडी गरेर आएका सर म्याडले मध्यपश्चिम एउटा ठाउँमा जान्छ । मेरो लागि यहाँका विद्यार्थी, कर्मचारी र जनता शत्रु नभई यहाँको भोक, शिक्षा, गरिबी र पछौटे मेरो लागि ठुलो शत्रु हुन् । मैले पदीय जिम्मेवारी अनुसार उपकुलपतिको हैसियतले नेतृत्व गरेको हुँ । मेरो कार्यकाल सफल भए त्यसको सम्पूर्ण श्रेय विश्वविद्यालय परिवारलाई जान्छ ।’

विश्वविद्यालयमा हुने राजनीतिक जन्जिर तोड्न सके मात्रै शिक्षामा परिवर्तन हुन सक्ने उपकुलपति सिंहको भनाइ छ । आफू जन्मको माटोमा केहि गर्ने सोच र नयाँ भिजनका साथ यहाँ आएको बताउँदै आफ्नो कार्यकालमा भएका कामको जिम्मेवारी यहाँका जनताले नै मूल्याङ्कन गर्ने दाबी गरे ।

उपकुलपति सिंहको चार वर्षे कार्यकालको प्रगति विवरण

विश्वविद्यालयको भिजन

मध्यपश्चिम विश्वविद्यालयको दशौँ सभाले पारित गरेको एमयू एकीकृत भिजन मार्फत विश्वविद्यालयको दिगो शैक्षिक विकासका लागि पाँच वटा आयामहरू शैक्षिक उत्कृष्टता, आर्थिक वृद्धि, पाठ्यक्रम पुनर्संरचना, अन्तर्राष्ट्रिय सम्बन्ध र आदान–प्रदान र पूर्वाधार विकासको क्षेत्रमा विभिन्न कार्यहरू सम्पन्न भएका छन् ।

मिति २०७६ फाल्गुन १८ गते मेरो मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति पदमा नियुक्ति भए लगत्तै कोभिड–१९ को महामारी सुरु भई विश्वविद्यालयमा हुने गतिविधिमा बाधा अड्चन भएको र सोको बाबजुद समेत विश्वविद्यालयमा हुने गतिविधिहरू सफलतापूर्वक सुचारु गरिएको थियो । महामारीसँग लड्न विभिन्न कार्यक्रमहरू सञ्चालन जस्तै ह्याण्ड स्यानिटाइजरको उत्पादन, जनचेतनामूलक कार्यक्रम तथा रक्तदान, क्वारेण्टाईनको स्थापना लगायतका कार्यहरू गरिएका थिए ।

शैक्षिक सुधार

नियुक्ति लगत्तै सुरु भएको कोभिड महामारीका बीच शैक्षिक क्यालेन्डर निर्माण गरी सोही अनुसार शैक्षिक गतिविधिहरूको सञ्चालन गरिएको थियो । यो वर्ष चौथो वार्षिक शैक्षिक क्यालेन्डर–२०८० सञ्चालनमा रहेको छ भने क्यालेन्डरमा सबै शैक्षिक कार्यक्रमहरूको भर्ना देखि नतिजा प्रकाशन सम्मको मितिहरू स्पष्ट रूपमा उल्लेख गरिएको छ र सोही अनुसार कार्यक्रमहरू अगाडि बढेका छन् । हालै UGC द्वारा राष्ट्रिय स्तरको शैक्षिक क्यालेन्डर डिजाइन गर्दा MU को शैक्षिक क्यालेन्डरलाई नमुना क्यालेन्डरको रूपमा समेत प्रयोग गरिएको थियो ।

त्यस्तै सम्पूर्ण आंगिक क्याम्पसहरूको अवस्था, समस्या र चुनौतीहरूको पहिचान गरी समस्याको समाधान गर्ने उद्देश्यका साथ अनुगमन तथा अन्तरक्रिया कार्य सम्पन्न गरिएको छ । विश्वविद्यालयका सम्पूर्ण भौतिक पूर्वाधार एवं कक्षाकोठाको स्तरोन्नति गरिएको छ । त्यस्तै विश्वविद्यालयमा हुने हरेक गतिविधिहरुलाई नियमन र सञ्चालन गर्न ४० वटा कार्यविधिहरू कार्यकारी परिषदबाट स्वीकृत गरिएका छन् ।

मेरो नियुक्तिको बखत विश्वविद्यालयमा विद्यार्थी संख्या ७ हजार ८ सयको हाराहारीमा रहेकोमा शैक्षिक सत्र २०७७/७८ मा ८ हजार ६६०; २०७८/७९ मा ११ हजार ८९ र २०७९/८० मा १२ हजार ६८४ जना विद्यार्थी भर्ना भएका छन् । त्यसै गरी शैक्षिक सत्र २०७७/७८ मा जम्मा परीक्षा २६८, नतिजा २५५, शैक्षिक सत्र २०७८/७९ मा जम्मा परीक्षा २६३, नतिजा २५१ र शैक्षिक सत्र २०७९/८० मा जम्मा परीक्षा २७९ र नतिजा २७० क्रमशः परीक्षा सञ्चालन र नतिजा प्रकाशन गरिएका छन् ।

आर्थिक वृद्धि

मध्यपश्चिम विश्वविद्यालयले आत्मनिर्भर हुनका लागि विभिन्न मोडेल र परियोजनाहरू अगाडी बढाएको छ । जस अन्तर्गत २ क्तबच स्तरको एमयू होटेल, हर्बल प्रोसेसिङ्ग युनिट, अर्ग्यानिक एक्ग्रिकल्चार फार्मिंड, सम्बन्धन प्राप्त कलेज बाट प्राप्त आम्दानी, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परियोजनाहरू, स्विमिङ्ग पूल, एमयू टावर, सेमिनार हल, एमयू इकोनोमिक हब, एमयू इञ्जिनियरिङ्ग कन्स्ट्रक्सन ल्याब आदि मुख्य आम्दानीका परियोजनाका रूपमा रहेका छन् । यसरी एमयूको एकीकृत भिजन अन्तर्गतका परियोजनाहरू सम्पन्न पश्चात् करिब रु. २८.५६ करोड वार्षिक आम्दानी हुने लक्ष्य राखिएको छ ।

भौतिक पूर्वाधार निर्माण

विगत चार वर्षको कार्यकालको अवधिमा मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत १ अर्ब ३२ करोड ४३ लाख ५९ हजार २१६ (करिब १.३ अर्ब) अर्थात् १० मिलियन अमेरिकी डलर बराबरका विभिन्न ५७ वटा परियोजनाहरू सम्पन्न भएका छन् । त्यस्तै ९ अर्ब ६१ करोड ३० लाख (करिब ९.६ अर्ब) अर्थात् ७२.५ मिलियन अमेरिकी डलर बराबरको ७ बटा परियोजनाहरू पाइप लाइनको चरणमा रहेका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक संस्थाहरूसँगको सहकार्य

मध्यपश्चिम विश्वविद्यालयले विभिन्न देशहरुका २१ वटा विश्वविद्यालयहरुसंग सहकार्यका लागि सम्झौता गरेको छ भने आठ जना प्राध्यापकहरू विद्यावारिधिका लागि अन्तर्राष्ट्रिय विश्वविद्यालयमा अध्ययनका लागि पठाइएको छ । त्यस्तै ९ वटा राष्ट्रिय विभिन्न संस्था र उद्योगहरूसँग सम्झौता गरी शैक्षिक गतिविधिहरू सञ्चालनमा रहेका छन् । मेरो कार्यकालमा मध्यपश्चिम विश्वविद्यालयमा अध्यापनरत ४६ जना प्राध्यापकहरूलाई स्वदेश तथा विदेशका विश्वविद्यालयहरूमा विद्यावारिधि अध्ययन तथा अनुसन्धानका लागि पठाइएको छ ।

वर्कसप, सेमिनार तथा तालिमहरू

मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत Mid–West University Training Unit (MUTU) को स्थापना गरी विश्वविद्यालयमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरूको पेशागत क्षमता अभिवृद्धिका लागि विश्वविद्यालय अनुदान आयोगको ’गुणस्तर सुनिश्चितता एवम् प्रत्यायन मापदण्ड बमोजिम विभिन्न तालिमहरू सञ्चालन गरिएका छन् । त्यस्तै विभिन्न निकाय अन्तर्गत २५ भन्दा बढी वर्कसप, सेमिनार तथा तालिमहरू सम्पन्न भएका छन् ।

पाठ्यक्रमको पुनर्संरचना

परिवर्तनशील विश्व परिवेश एवम् राष्ट्रिय, क्षेत्रीय र स्थानीय स्रोत साधन र मौलिकता समावेश हुने गरी सम्पूर्ण शैक्षिक कार्यक्रमका पाठ्यक्रमहरूको पुनर्संरचनाको कार्य सुरु भएको छ । त्यस्तै प्रत्येक विषयमा सैद्धान्तिक र प्रयोगात्मक पक्षलाई ४० प्रतिशत, ६० प्रतिशतमा निर्धारण गरिएको छ । हरेक विषयमा शिक्षण सिकाइको विषयवस्तुको बनावटमा अन्तर्राष्ट्रिय, राष्ट्रिय र स्थानीय रूपमा ७० प्रतिशत १० राष्ट्रिय २० प्रतिशत स्थानीयका दरले हुनुपर्ने व्यवस्था गरिएको छ ।

विश्वविद्यालयमा डिजिटलाइजेसनको सुरुवात

विश्वविद्यालयको Central ICT Unit अन्तर्गतMid–West University Digitalization and Automation System (MU–DAS) को स्थापना गरी विश्वविद्यालयका समग्र क्रियाकलाप छिटो छरितो र पारदर्शी रूपमा सञ्चालन गर्न तथा विश्वविद्यालयलाई डिजिटल विश्वविद्यालय बनाउने उद्देश्य अनुरूप ERPS, EMIS, LMS, वेबसाइट र MU Moblie Applicationsको निर्माण कार्य सम्पन्न भएको छ भने हाल डेटा अपलोडको कार्य भइरहेको छ ।

सञ्चालन तथा पूजीगत खर्च

मध्यपश्चिम विश्वविद्यालयले सञ्चालन तर्फ आर्थिक वर्ष २०७७/७८ मा ७२ प्रतिशत, २०७८/७९ मा ७२ प्रतिशत र २०७९/८० मा ७५ प्रतिशत बजेट खर्च गरेको छ । त्यस्तै पूजीगत खर्च तर्फ आर्थिक वर्ष २०७७/७८ मा ९८ प्रतिशत, २०७८/७९ मा ७८ प्रतिशत र २०७९/८० मा १०० प्रतिशत बजेट खर्च गरेको छ ।

विश्वविद्यालयमा मेरो नियुक्ति पूर्व आर्थिक वर्ष २०७५/०७६ मा बेरुजु रकम ४० करोड ५९ लाख ६० हजार अर्थात् ३६.०४ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७६/०७७ मा १५ लाख ७७ लाख ४४ हजार अर्थात् ५.७५ प्रतिशत मा ल्याएको, आर्थिक वर्ष २०७७/०७८ मा ३ करोड ५२ लाख अर्थात् ३.३१ प्रतिशत मा र २०७८/०७९ मा ५ करोड ३८ लाख ९७ हजार अर्थात् ५.२६ प्रतिशत मा कायम भएको छ ।

कार्यकारी परिषद्

मेरो कार्यकालमा मिति २०८० साल फाल्गुन १३ गते सम्म गरी जम्मा १३८ कार्यकारी परिषद्का बैठक मार्फत १६५५ निर्णयहरू गरिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *