घोडाघोडीको कायापलट हुने गरी विकास गर्छौ : मुख्यमन्त्री शाह – Nepal Press

घोडाघोडीको कायापलट हुने गरी विकास गर्छौ : मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले घोडाघोडी क्षेत्रको विकासका लागि प्रदेश सरकारले पहल गर्ने बताएका छन् ।

कैलाली र कञ्चनपुरका प्रमुख सिमसार क्षेत्रहरूमा रहेका रैथाने तथा प्रवासी पक्षी अवलोकन गर्ने कार्यक्रममा उपस्थित मुख्यमन्त्री शाहले घोडाघोडीको विकासमा प्रदेश सरकार लागि पर्ने बताएका हुन् ।

‘घोडाघोडीको डिपिआर तयार गर्नुहोस् । पैसाको चिन्ता नगर्नुहोस् । २४ वर्षमा कायापलट हुने गरी हामी विकास गर्छौ’ मुख्यमन्त्री शाहले भने ।
घोडाघोडीमा बाह्य देशबाट चराहरू आउने गरेको भन्दै उनले बाह्य देशहरूबाट पर्यटकहरू पनि ल्याउनु पर्ने बताएका थिए ।

चरा संरक्षणलाई पर्यटनसँग जोड्नु पर्नेमा मुख्यमन्त्री शाहको जोड थियो । घोडाघोडी विश्व राम सार क्षेत्रमा सूचीकृत भएको र अन्तर्राष्ट्रियले पनि मान्यता दिएको भन्दै उनले यसलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन आवश्यक रहेको बताए ।

‘यहाँ साइबेह्रिया, मङ्गोलिया लगायतका देशहरूबाट पनि चराहरू आउने गर्दछन्’ मुख्यमन्त्री शाहले भने ‘यो विषयलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन आवश्यक छ ।’

राज्यका सबै निकायहरूले घोडाघोडीको महत्त्व बुझ्न आवश्यक रहेको मुख्यमन्त्री शाहको भनाइ थियो । सत्तीमा रहेको शिव मन्दिर र कर्णाली, घोडाघोडी, बेहेडावावा गोदावरी जस्ता क्षेत्रलाई धार्मिक रूपमा मात्रै नभएर ऐतिहासिक रूपमा पनि महत्त्वपूर्ण रहेको उनले बताए ।

‘गुरुयोजना अझै विस्तृत रूपमा हेरौँ । विना गुरुयोजना सरकारले कतै बजेट हाल्दैन’ उनले भने ‘घोडाघोडी जस्ता क्षेत्रमा राज्यले लगानी बढाउन तयार छ ।’

कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी पनि सहभागी थिए । उनले प्रदेश सरकारले घोषणा गरेको वर्ड सेन्चुरी कार्यान्वयनमा लैजानु पर्ने बताए ।

‘राम्रो सँग हामीले व्यवस्थापन गर्न सकिरहेका छैनौँ । सुगम हुँदा पनि सही व्यवस्थापन गर्न राज्यले सकिरहेको छैन । हामी यसको विकास गर्न लाग्छौ’ उनले भने, ‘यहाँको हरेक फाइदा छ। विश्वका पर्यटकहरू कोही पूजा गर्न आउँछन् कोही चरा हेर्न आउँछन् । केही घुम्न आउँछन् सबै ढंगले यो क्षेत्र विभिन्न प्रकारको महत्त्व रहेको छ ।’

प्रदेश सरकारको तर्फबाट घोडाघोडी ताल क्षेत्रको विकासको लागि घोडाघोडी नगरपालिकासँग समन्वय गरेर अगाडी बढाउने बताए ।

‘हाम्रै पालामा केही देखिने गरी घोडाघोडी तालमा देखिने गरी काम गर्छौ ’ उनले भने ।

रामसारको प्रावधान अनुसार विश्वका ८ मध्ये दुई महत्त्वपूर्ण अन्तर्राष्ट्रिय चराहरूको सूचक यस तालमा उपलब्ध छन् । २० हजार भन्दा बढी रैथाने तथा आगन्तुक चराको बसोबास रहेको यस क्षेत्रमा दक्षिण एसियाको एक प्रतिशत हरिहाँस यहि बसोबास गर्ने गरेको पाइएको छ ।

हरिहाँस, बगाले सिमकुखुरा तथा नादुन हाँसले घोडाघोडी ताल क्षेत्रमा मात्रै प्रजनन गर्ने गरेका छन् । यहाँ हरिहाँस, मगर गोही र बन धान सूचक प्रजातिको रूपमा छन् ।

विश्वव्यापी रूपमा लोप हुँदै गएका भुडिफोड गरुण, सेतो गिद्ध, सानो खैरे गिद्ध, हाज हलाचे, आज धनेस लगायत चराहरू यहाँ बसोबास गर्दछन् । अझ रोचक कुरा त यस क्षेत्रमा प्रत्येक बर्ष साइबेरीया लगायत मुलुकबाट हजारौँ चराहरू आउने गर्दछन् ।

चराहरूको महत्त्वपूर्ण बासस्थल भएको हुँदा २८ फाल्गुन २०७८ मा घोडाघोडी क्षेत्रलाई नेपालकै पहिलो बर्ड सेन्चुरी (चरा अभय आरण्य क्षेत्र) घोषणा गरिएको थियो ।

त्यसपछि यहाँ थप पर्यटकहरूको चहलपहल बढेको छ ।प्रदेश सरकारले पनि यसको विकास गर्ने बताएपछि स्थानीय थप उत्साहित छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *