साउदी अरबमा नेपाली चेलीको जादु : कीर्तिमान तोड्ने साम्बाको ‘ब्याक ट्याकल’ र प्लेमेकर प्रीतिको फाइनल ‘टच’ – Nepal Press

साउदी अरबमा नेपाली चेलीको जादु : कीर्तिमान तोड्ने साम्बाको ‘ब्याक ट्याकल’ र प्लेमेकर प्रीतिको फाइनल ‘टच’

काठमाडौं । तालमेल र गोलको अभाव, मङ्गलवार राती लेबनानविरुद्ध सुरुवातबाटै दबाब बनाएको नेपाली महिला फुटबल टोलीले दोस्रो हाफको मध्यसम्म नमज्जाले झेल्यो।

तर मिडफिल्डमा प्रीति राईको कला र अग्र पङ्क्तिमा सावित्रा भण्डारी साम्बाले लगातार बढाइरहेको दबाबबीच नेपाली टोली अन्ततः पहिलो पटक सहभागी भइरहेको वेस्ट एसियन फुटबल फेडेरेसन (वाफ च्याम्पियनसिप)को फाइनल पुग्न सफल भएको छ। साउदी अरबमा वैदेशिक रोजगारीमा पुगेका नेपाली युवाहरू उल्लेख्य संख्यामा रंगशाला पुगे पनि पहिलो हाफमा बेहोरेको ‘सिल्ली’ आत्मघाती गोलका कारण केही निराश बनेका थिए।

मिडफिल्डबाट आएको लामो प्रहारमा लेबनानी खेलाडी गोल खोस्न अगाडी बढी रहेका बेला पूजा रानाले डीबक्सबाहिरबाट सेकेन्ड बारतर्फ गोलकिपरलाई दिएको ब्याक पास एन्जिला तुम्बापो लिम्बुले यकिन गर्न सकिनन् र ३८ औँ मिनेटमा गोल हुन पुगेको थियो।

तर खेलमा नेपालले दबाब बढाउन छाडेन। ७६ औँ मिनेटमा साम्बाले उत्कृष्ट ब्याक ट्याकलमार्फत गोल गरिन् र नेपाल बराबरीमा पुग्यो। साम्बाले डिबक्सभित्रबाट पहिलो पटक गरेको प्रहार सिक्सयार्ड बाहिर आएकी विपक्षी गोलरक्षकले खुट्टाले रोक्न खोज्दा बल आफ्नै डिफेन्डरको खुट्टामा पुगेको थियो।

ती डिफेन्डरले गोलपोस्टतर्फ लग्दै क्लियर गर्न खोज्दा साम्बाले गति बढाउँदै ‘क्लिन ब्याक ट्याकल’ गरेपछि बल फस्ट बार हुँदै गोल भएको थियो। यो गोलले नेपाल बराबरीमा मात्र पुगेन, साम्बा महिला सिनियर अन्तर्राष्ट्रिय फुटबलमा दक्षिण एसियाकै सर्वाधिक गोलकर्ता बन्न पुगिन्। उनले भारतकै बालादेवीलाई पार गर्दै व्यक्तिगत गोल संख्या ५३ पुर्‍याइन। जारी प्रतियोगितामा उनले सर्वाधिक ९ गोल गरेकी छिन्।

खेललाई बराबरीमा ल्याएपछि नेपाल थप आक्रामक बनेको थियो। गोल मात्र हुन सकिरहेको थिएन। दोस्रो हाफमा थपिएको ५ मिनेटको इन्जुरी समय लगभग सकिन करिब ४० सेकेन्ड मात्र बाँकी रहँदा प्रीति राईले डीबक्स बाहिरबाट सेकेन्ड बार च्याप्दै गरेको प्रहार गोल भएको थियो।

विमला चौधरीले प्रहार गरेको कर्नरमा लेबनानी खेलाडीले क्लियर गर्न खोज्दा बल डीबक्सबाहिर रहेकी प्रीतिको खुट्टामा पुगेको थियो। प्रीतिले पहिलो टचमै बल प्रहार गरिन् र गोल भएर नेपाल फाइनल पुग्यो। मिडफिल्डमा रहेर स्ट्राइकरलाई सुन्दर मौका सृजना गर्न माहिर पहिचान बनाएकी प्रीति र गोल मेसिनको छवि बनाएकी साम्बा समकालीन नेपाली महिला फुटबलका दुई पिलर हुन्।

वेस्ट एसियन फुटबल फेडेरेसनका सदस्यले मात्र खेल्ने यो प्रतियोगितामा यस पटक नेपाल र ग्वामलाई अतिथि टोलीका रूपमा निमन्त्रणा गरिएको थियो। दक्षिण एसियाली फुटबल महासंघ (साफ च्याम्पियनसिप) हालसम्म जित्न नसकेको नेपाललाई यस पटक पहिलो अफिसियल अन्तर्राष्ट्रिय महिला फुटबल उपाधि जित्ने अवसर छ।

अब नेपालले फाइनलमा जोर्डनलाई हराउनुपर्ने छ। जोर्डनले अर्को सेमिफाइनलमा प्यालेस्टाइनलाई ५-० गोलले हरायो। जोर्डन सर्वाधिक ५ पटकको विजेता हो। गत संस्करणमा लेबनानलाई हराएर जोर्डनले उपाधि जितेको थियो। जोर्डनबाहेक यूएईले मात्र यो प्रतियोगिता जितेको छ। सन् २०१० र २०११ मा दुईपटक जितेको यूएई यस पटक सहभागी छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *