बझाङ उपनिर्वाचन: यी हुन् एमाले र कांग्रेसका दावेदार, भिड्न माओवादी र नेकपा एस पनि तयार – Nepal Press

बझाङ उपनिर्वाचन: यी हुन् एमाले र कांग्रेसका दावेदार, भिड्न माओवादी र नेकपा एस पनि तयार

कैलाली । बझाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुने भएको छ । नेपाली कांग्रेसबाट विजयी पृथ्वीबहादुर सिंहको गएको असार ५ गते सवारी दुर्घटनामा मृत्यु भएपछि यो क्षेत्र रिक्त थियो । निर्वाचन आयोगले यहाँ वैशाख १५ गते उपनिर्वाचन गर्ने तय गरिसकेको छ ।

स्वीकृत निर्वाचन कार्यतालिकाअनुसार फागुन १६ गतेदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरी चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ । सो उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ता गर्न फागुन २४ देखि ३० गतेसम्मको म्याद दिइनेछ ।

चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता र २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह वितरण गरिने, २८ गतेदेखि २०८१ वैशाख १२ गतेसम्म प्रचारप्रसारको अवधि रहने जनाइएको छ । वैशाख १५ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान गर्ने निर्वाचन आयोगको योजना छ ।

कुन दलबाट को छन् आकांक्षी ?

उपनिर्वाचन हुने भएसँगै बझाङमा दलहरू आन्तरिक रुपमा उम्मेदवार छनोटमा लागेका छन् । पहिले विजयी भएको आधारमा गठबन्धनबाट आफ्नै उम्मेदवार हुनुपर्ने नेपाली कांग्रेसको दाबी छ । तर, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पनि आआफ्नो पार्टीको उम्मेदवार रहने बताइरहेका छन् । एमालेले पनि आन्तरिक रुपमा बलियो उम्मेदवारको छलफल गरिरहेको छ ।

यस पटक यहाँबाट कांग्रेसले अभिषेक सिंह र जगतप्रसाद जोशीमध्ये एक जनालाई उम्मेदवार बनाउने सम्भावना छ । सिंह दुर्घटनामा निधन भएका पृथ्वीबहादुर सिंहका छोरा हुन् । २०५४ सालमा नेविसंघको केन्द्रीय महाधिवेशन प्रतिनिधि भएका उनी २०७४ सालमा नेपाल तरुण दल क्षेत्र नं (क) का क्षेत्रीय सभापति भएका थिए ।

कांग्रेसको १४औं महाधिवेशनमा जिल्ला कार्य समितिमा म्यान अफ द इलेक्सन सिंह २०७९ सालको स्थानीय तहको निर्वाचनमा जयपृथ्वी नगरपालिका- ५ मा स्वतन्त्र उम्मेदवार प्रेमबहादुर थापासँग ७० मतले पराजित भए । उनी अहिले कांग्रेसका जिल्ला कार्य समिति सदस्य छन् ।

कांग्रेसका अर्का आकांक्षी जोशी महासमिति सदस्य हुँदै महाधिवेशन प्रतिनिधि छन् । उनी खप्तडछान्नका वासिन्दा हुन् ।

एमालेले अफिलाल ओखेडा र दमन भण्डारीमध्ये एक जनालाई प्रदेशसभाको उम्मेदवार बनाउने सम्भावना छ । पार्टीको वडा सचिवबाट राजनीति सुरु गरेका ओखेडा २०५४ सालमा हेमन्तवाडा गाउँ कमिटीको अध्यक्ष थिए । २०६६ सालबाट राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य, २०७० सालबाट अञ्चल कमिटी सदस्य हुँदै उनी नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य भइसकेका छन् ।

मंसिर ४ गते भएको प्रदेशसभा सदस्य निर्वाचन यसै क्षेत्रबाट उम्मेदवार भएका उनी पृथ्वीबहादुर सिंहसँग ३ हजार ७७६ मतले पराजित भएका थिए । ओखेडा संविधानसभा सदस्य पनि हुन् ।

एमालेका अर्का आकांक्षी भण्डारी पनि लोकप्रिय मानिन्छन् । अनेरास्ववियुबाट सक्रिय राजनीतिमा लागेका भण्डारी अहिले जिल्ला कमिटी बझाङका अध्यक्ष हुन् । २०५४ सालमा मटेला गाविसको निर्वाचित अध्यक्ष भएका उनी २०५५ सालमा जिल्ला कमिटी सदस्य, निर्वाचन क्षेत्र १ को क्षेत्रीय कमिटी सचिव थिए । २०६२ साल राष्ट्रिय युवासंघ नेपाल अञ्चल कमिटी सचिव, २०६९ साल सातौं जिल्ला अधिवेशनबाट नेकपा एमाले जिल्ला कमिटी सचिव हुँदै हाल पार्टी जिल्ला अध्यक्ष छन् ।

गठबन्धनमा रहेर यसअघि प्रदेशसभामा कांग्रेस उम्मेदवारलाई सहयोग गरेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले उपनिर्वाचनमा आआफ्नो दलको पनि उम्मेदवारी रहने जनाएको छ । बझाङ क्षेत्र नं १ को १ मा २०७४ सालदेखि आफ्नो पार्टीको उम्मेदवारलाई भोट दिन नभएको भन्दै यस पटक आफ्नै चुनाव चिन्हमा मत दिनेबारे छलफल भइरहेको माओवादी केन्द्रका प्रदेश सचिव जनक बुढाले जानकारी दिए ।

यहाँ २०७४ मा एमालेसँग माओवादीले गठबन्धन गर्दा प्रतिनिधिसभामा एमालेका भैरव सिंहलाई र प्रदेशसभामा एमालेकै अर्जुनबहादुर सिंहलाई माओवादीले समर्थन गरेको थियो । यस पटक पनि प्रतिनिधिसभामा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशीलाई र प्रदेशसभामा कांग्रेसका पृथ्वीबहादुर सिंहलाई समर्थन गर्दै उम्मेदवारी दिएन ।

‘हामीले २०७४ पछि आफ्नो चुनाव चिन्हमा मत दिन पाएका छैनौं । यस पटक यहाँ माओवादीको आफ्नै उम्मेदवार हुन्छ’, माओवादी प्रदेश सचिव बुढाले भने, ‘यस विषयमा हामी केन्द्रमा पनि कुराकानी गरिरहेका छौं ।’

उनले बझाङमा माओवादी केन्द्रको आफ्नै उम्मेदवार रहने गरी माथिल्लो तहमा स्थायी कमिटी सदस्य खगराज भट्टले छलफल गरिरहेको बताए । बझाङमा माओवादीले उम्मेदवारी दिने अवस्थामा बुढा नै उम्मेदवार बन्ने सम्भावना छ ।

सिद्धनाथ बहुमुखी क्याम्पस महेन्द्रनगर क्याम्पस इकाइ अध्यक्षबाट विद्यार्थी राजनीति सुरु गरेका बुढा क्रान्तिकारी अनेरास्ववियु कञ्चनपुर जिल्ला सदस्य, जिल्ला उपाध्यक्ष र अध्यक्ष हुँदै २०५८ सालमा क्रान्तिकारी विद्यार्थी संगठन केन्द्रीय सदस्य भएका थिए ।

२०५८ सालमा माओवादी केन्द्रको बझाङ जिल्ला कमिटी सदस्य भएका उनी पार्टीको बझाङ र बैतडीको जिल्ला सचिव पनि भए । बझाङ जिल्ला इन्चार्ज हुँदै अहिले प्रदेश सचिव रहेका बुढा  २०७० सालमा माओवादीबाट संविधानसभा सदस्य पनि थिए ।

माओवादीले मात्रै होइन नेकपा एकीकृत समाजवादीले पनि यहाँ आफ्नो उम्मेदवार तयार गर्ने बताएको छ । ‘समाजवादी मोर्चाबाट यो कुरा टुङ्गो लगाउँछौं । मोर्चाबाट म आफैं कलम चुनाव चिन्ह लिएर लड्छु’, नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले भने ।

२०५४ सालमा एमालेबाट जिल्ला विकास समिति सभापति भएका सिंह २०७० सालमा एमाले जिल्ला अध्यक्ष थिए । हाल नेकपा एकीकृत समाजवादीका जिल्ला इन्चार्ज र केन्द्रीय सदस्य छन् ।

को कति बलियो ?

२०५१ र २०६४ सालमा नेकपा एमालेबाट निर्वाचित नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी अहिले नेकपा एमालेकै उम्मेदवारलाई हराएर प्रतिनिधिसभा सदस्य छन् । जोशी २८ हजार १४३ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ऐन महरले २७ हजार १४५ मत पाएका थिए ।

प्रतिनिधिसभामा अघिल्लो पटक वाम गठबन्धनको तर्फबाट एमालेका उम्मेदवार बनेका भैरवबहादुर सिंहले ७ हजार ७०२ मतले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बनेका कांग्रेसका पृथ्वीबहादुर सिंहलाई हराएका थिए । एमालेका सिंहले ३४ हजार ६१२ मत पाउँदा कांग्रेसका सिंहले २६ हजार ९१० मत ल्याएका थिए ।

बझाङमा समानुपातिक मत हेर्दा कांग्रेसभन्दा एमाले बलियो छ । तर, गठबन्धनको मत हेर्दा त्यो फरक देखिन्छ । प्रतिनिधिसभातर्फ समानुपातिक मत हेर्दा यहाँ एमाले पहिलो दल छ । एमालेले २२ हजार २०४ मत प्राप्त गरेको थियो । कांग्रेसले १६ हजार ६५३ मत पाउँदा माओवादी केन्द्रले ८ हजार १५ र नेकपा एकीकृत समाजवादीले ७ हजार ८३३ मत पाएका थिए ।

गएको वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतलाई आधार मान्दा नेकपा एमालेले २८ हजार ६११ पाएकाे छ । कांग्रेसले २० हजार १६६, माओवादीले ९ हजार १४५, नेकपा एकीकृत समाजवादीले ७ हजार ६३२ र राप्रपाले जिल्लाभर १२८ मत पाएका छन् ।

२०४८ सालयता यहाँ कांग्रेसले २ पटक निर्वाचन जितेको यस क्षेत्रमा नेकपा एमाले चार पटक विजयी भएको छ । २०४८ र २०५६ सालमा कांग्रेस विजयी हुँदा २०५१, २०६४, २०७० र २०७४ मा एमाले विजयी भएको थियो । अहिले भने प्रतिनिधिसभामा नेकपा एकीकृत समाजवादीका सांसद छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर