देवदह नगरपालिकामा भएको आक्रमणको चौतर्फी विरोध, कानूनी उपचार खोज्ने कार्यपालिकाको निर्णय – Nepal Press

देवदह नगरपालिकामा भएको आक्रमणको चौतर्फी विरोध, कानूनी उपचार खोज्ने कार्यपालिकाको निर्णय

रुपन्देही । रुपन्देहीको देवदह नगरपालिकामा सोमबार केही वडाध्यक्षहरूकै नेतृत्वमा कार्यालयभित्र हुल हुज्जत गर्ने, नगर प्रमुख, कार्यकारी अधिकृतमाथि हातपात प्रयास र कार्यालयमा तोडफोड गर्नेमाथि चौतर्फी आलोचना भएको छ ।

नगरपालिकाले मङ्गलवार कार्यपालिका बैठक बसेर जनप्रतिनिधिको नेतृत्वमा कार्यालय समयमा भएको गम्भीर अपराधप्रति खेद प्रस्ताव पारित गर्दै यस विरुद्ध कानुनी उपचार खोज्ने बताएको छ ।

कार्यपालिका बैठकपछि आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख ध्रुवप्रसाद खरेलले प्रमुख प्रशासकीय अधिकृतमाथि ह्यारेसमेन्ट गरेर लखेट्ने योजना अनुरूप नगरपालिकाभित्र हुल हुज्जत गर्ने र प्रमुख प्रशासकीयको कार्यकक्षमा तोडफोड गर्ने काम भएको भन्दै यसका विरुद्ध कानुनी उपचार खोज्ने चेतावनी दिए ।

नगरपालिकाले सबै काम कानुनसम्मत, पारदर्शी र विधि प्रक्रिया पुर्‍याएर गरेको अवस्थामा केही वडाअध्यक्ष र व्यक्तिहरूले आफ्नो निहित स्वार्थ सिद्द गर्ने उद्देश्य अनुरूप तालाबन्दी गर्ने र गैरकानुनी उच्छृङ्खल गतिविधि गरेको भन्दै नगरप्रमुख खरेलले हरेक विषयमा सर्वसम्मत निर्णय सम्भव नभएको र सर्वसम्मत नभएको अवस्थामा बहुमतका आधारमा निर्णय गर्ने प्रचलन र अभ्यास सर्वत्र रहेको बताए ।

सोमबार रुपन्देहीको देवदहमा जनप्रतिनिधिहरूले नै अराजक शैलीमा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तोडफोड गरेका थिए ।

नगर खेलकुद विकास समितिको अध्यक्षमा स्थानीय कमल पाण्डेलाई नियुक्त गरेकोमा असन्तुष्ट नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष र सदस्यहरूले नगरप्रमुख ध्रुव खरेल र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाको कार्यकक्षमा तालाबन्दी गर्नुका साथै तोडफोड समेत गरेका थिए ।

सोमबार बिहान नगरपालिका कार्यालय पुगेका उनीहरूले प्रमुख प्रशासकीय अधिकृत सापकोटाको कार्यकक्षमा प्रवेश गरी उनलाई हातपातको प्रयास गर्दै नाम प्लेट र टेबुल, सिसा फुटालेर फालेका थिए।

आफ्नो कार्यकक्षमै बसेर काम गरिरहेका सापकोटालाई जबरजस्ती बाहिर निकाल्न खोजेपछि प्रहरी र नगर प्रहरीले सुरक्षा दिएर बाहिर निकालेको थियो ।

सापकोटालाई प्रहरीले कार्यकक्षबाट सुरक्षा दिएर बाहिर निकालेपछि उत्तेजित उनीहरूले नेपाल प्रहरीले बोकेको टियर ग्यासको गन समेत खोस्ने प्रयास गरेका थिए ।

आफ्नो काम लिएर कार्यालय पुगेका सेवाग्राहीले समेत जनप्रतिनिधिको क्रियाकलापलाई गैर जिम्मेवार, अलोकतान्त्रिक र अराजक चरित्र भनेका छन् । प्रमुख प्रशासकीय अधिकृत सापकोटा आएपछि नगरपालिकाको काम कारबाहीले गति लिन थालेको अवस्थामा कामको गतिलाई रोक्ने र आफ्नो स्वार्थ सिद्ध गर्ने उद्देश्यले यस्तो क्रियाकलाप गरिएको नगरप्रमुख खरेलले बताए ।

प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले स्थानीय शासन सञ्चालन ऐनभित्र रहेर नगरपालिकाले काम अगाडि बढाउने भन्दै त्यसविपरीत अघि बढ्न नसकिने बताए ।

‘मैले प्रमुख प्रशासकीय अधिकृतको हिसाबले ऐन कार्यान्वयन गर्ने हो, ऐनले जे भनेको छ, जनप्रतिनिधि वा कर्मचारी सबैलाई त्यही गर्नुपर्छ, ऐन विपरीत हुने कुनै पनि क्रियाकलाप कसैले पनि गर्न हुँदैन’, उनले भने ।

नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले देवदह नगरपालिकामा केही समयदेखि सुधारका काम अगाडि बढेको अवस्थामा त्यसलाई पचाउन नसक्ने स्वार्थ समूहले विभिन्न बहानामा अराजकता फैलाउन खोजेको आरोप लगाए ।

यसैबीच नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय समितिले विज्ञप्तिमार्फत देवदहमा कर्मचारीमाथि भएको हुल हुज्जतको विरोध जनाएको छ । संगठनका महासचिव जीवन काफ्लेद्वारा जारी विज्ञप्तिमा यस्तो अमानवीय क्रियाकलाप गर्ने र कर्मचारीलाई त्रसित बनाई काममा अवरोध सिर्जना गर्नेमाथि कारबाहीको माग गरिएको छ ।

त्यस्तै नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीले देवदह नगरपालिका रुपन्देहीका केही जनप्रतिनिधिहरू प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रवेश गरी कार्यालयको भौतिक सामग्री तोडफोड गर्नुका साथै प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटालाई लक्षित गरी गरिएको अमानवीय कार्य प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संगठनका जिल्ला अध्यक्ष प्रेमप्रसाद खनाल र सचिव जीवन पौडेलद्वारा जारी विज्ञप्तिमा नागरिकको सेवामा दिन रात नभनी सेवा प्रदान गर्ने कर्मचारीहरूको सेवामा बढ्दै गएको असुरक्षाले कर्मचारीहरूद्वारा गरिने सेवा प्रवाह कमजोर र कठिन हुँदै गएको उल्लेख छ ।

उक्त घटनाले सम्पूर्ण राष्ट्रसेवक कर्मचारी असुरक्षित भएको र निर्धक्क भई जनताको सेवा प्रवाह गर्ने अवस्थामा प्रश्न चिन्ह खडा भएको विज्ञप्तिमा उल्लेख छ ।

राजनैतिक द्वन्द्व र समस्याको समाधान राजनीतिक तवरबाट नै गर्नुपर्नेमा सो नगरी स्वयं निर्वाचित जनप्रतिनिधिबाट हुल हुज्जत एवं अमर्यादित कार्य हुनु आफैमा दुखद घटना भएको संगठनले बताएको छ ।

‘राष्ट्रसेवक कर्मचारी प्रति जोसुकैबाट गरिने दुर्व्यवहारले नागरिकको सेवामा अहोरात्र खटिने कर्मचारीको मनोबल खस्किने हुँदा हामी त्यस्ता क्रियाकलाप प्रति भर्त्सना एवं खेद प्रकट गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

यस्ता आपराधिक गतिविधिमा संलग्न जोकोहीलाई कानूनी दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्न र कार्यस्थलको सुरक्षा प्रत्याभूति दिलाइ कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण मिलाउन समेत संगठनले माग गरेको छ ।

एमाले देवदह नगर कमिटीले समेत विज्ञप्ति जारी गर्दै घटनाको निन्दा र भर्त्सना गरेको छ । नगर अध्यक्ष केशवप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा घटनाको घोर भर्त्सना गर्दै संलग्नमाथि कानुनी कारबाहीको माग गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर