हात्तीमैत्री पदयात्रा सम्पन्न, कोशीका मुख्यमन्त्री कार्कीले पुरा गरे २४३ किमी पैदल यात्रा – Nepal Press

हात्तीमैत्री पदयात्रा सम्पन्न, कोशीका मुख्यमन्त्री कार्कीले पुरा गरे २४३ किमी पैदल यात्रा

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको हात्तीमैत्री पदयात्रा बेलसोत पुगेर सम्पन्न भएको छ । झापाको बाहुनडाँगीबाट फागुन ९ गते सुरु भएको पदयात्रा १५ गते सम्पन्न भएको हो ।

पद यात्राका क्रममा कार्कीले पाँच जिल्लामा २४३ किलोमिटर पैदल यात्रा पुरा गरेका छन् । पद यात्रामा मुख्यमन्त्रीले पीडित र सर्वसाधारणसँग प्रत्यक्ष अन्तर संवाद गरेका थिए । पीडितसँगको कुराकानी र विज्ञको सुझावका आधारमा हात्ती समस्या समाधानका लागि योजना बनाउने कार्कीले बताएका छन् ।

जङ्गली हात्तीको परम्परागत जैविक मार्गमा गरिएको यो यात्रा मानव हात्तीबिचको द्वन्द्वको कारण पहिचान र समस्या निराकरणमा केन्द्रित रहेको मुख्यमन्त्री कार्कीले बताएका छन् ।‌

हात्ती दुस्मन होइन भन्दै मुख्यमन्त्री कार्की पालिका, वार्ड र खेत खलियानसम्म सरकार पुगेको बताउँदै भने,जङ्गल कसको हो ? हामी स्थानीयबाट समस्या बुझ्ने र समाधानको उपाय लिन पदयात्रामा निस्किएका हौँ । हात्ती सँगसँगै बस्नुको विकल्प छैन । कार्कीले सरकार आफै जङ्गल, बस्ती र टोल टोलसम्म पुगेर समस्या बुझ्ने कामको सुरुवात गरेको बताउँदै उनले यो सरकार बोल्नेभन्दा पनि काम गर्ने दिशामा सक्रिय भएको सुनाए ।‌

जनसड़ख्या वृद्धि र मानवीय विकासको आवश्यकताको चापले हात्तीको जैविक मार्गको सङ्कुचन र प्राकृतिक वासस्थानको घटेको यात्रामा देखेको र यस्ता विषयलाई बजेटमार्फत सम्बोधन गर्ने कार्कीले बताए । कोशी प्रदेशका पाँच जिल्लामा हात्तीले घर गोठ, खेतबारी तथा अन्नबाली विनाश गर्ने र मानवीय क्षति पुर्‍याउँदै आएको छ । समस्याहरूलाई उजागर गरी आगामी दिनमा मानव हात्ती सहअस्तित्व निर्माण गरी समग्र विकास प्रक्रियामा हात्तीमैत्री वातावरण निर्माण गरी उच्चतम लाभ प्राप्ति गर्नेतर्फ यस पदयात्रा लक्षित रहेको पर्यटन वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले बताए ।‌ हात्ती विज्ञ अशोक कुमार रामले हात्ती र पर्यावरण संरक्षणको लागि संसारभर यसरी कतै पनि पदयात्रा नभएको बताउँदै भने,यो यात्राले हात्ती संरक्षणमा थप काम गर्न बल पुगेको छ । यो संसारमै पहिलो पटक पर्यावरण मैत्री पदयात्रा भएको छ ।‌

स्थानीय जनताहरूको जीवनस्तर सुधार गर्न मौजुदा कानुनमा सुधार एवं थप नीतिगत व्यवस्था गर्ने, मानव हात्ती सह९अस्तित्व कार्य योजना कार्यान्वयनमा तीनै तहका सरकार, संरक्षण साझेदार तथा सबै सरोकारवालाहरूको जिम्मेवारी सहभागिताको सुनिश्चितता गर्ने जनाइएको छ । पर्यटन वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशका सचिव विशाल घिमिरेले पदयात्रा समस्या पहिचान र समाधानका उपाय खोज्न फलदायी भएको सुनाए ।‌ समापन कार्यक्रममा हात्ती विज्ञ रमेश थापा, शङ्कर लुइँटेल, सङ्घीय सरकारका सचिव दीपक खराल र अभियानकर्मी बालकृष्ण कार्कीलाई सम्मान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *