ओलीबाट हुने विद्यालय भवन उद्घाटन रोक्न इटहरीका मेयरको पत्र, उपमेयरको आपत्ति – Nepal Press

ओलीबाट हुने विद्यालय भवन उद्घाटन रोक्न इटहरीका मेयरको पत्र, उपमेयरको आपत्ति

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इटहरीस्थित कचना माध्यमिक विद्यालयको भवन उद्घाटन तय गरिएको कार्यक्रम इटहरीका मेयर हेमकर्ण पौडेलले रोक्ने प्रयास गरेका छन् । ओलीले उद्घाटन गर्ने भनेर सम्पूर्ण तयारी भइसकेको अवस्थामा मेयर हेमकर्ण पौडेलले भोलिको भवन उद्घाटनको कार्यक्रम स्थगित गर्न पत्रचार गरेका हुन् ।

मेयरले कार्यपालिकाको निर्णय भन्दै पत्र पठाए पनि विद्यालय व्यवस्थापन समितिले उद्घाटन कार्यक्रम नरोक्ने जनाएको छ । मेयरले कार्यक्रम रोक्न दबाब दिँदा र विद्यालय व्यवस्थापन समितिले उद्घाटन कार्यक्रम नरोक्ने जनाउँदा भवन उद्घाटनको अन्यौल छाएको छ ।

मेयर पौडेलले भवन निर्माणको काम सम्पन्न नभएको भन्दै सोमबार उद्घाटन कार्यक्रम स्थगित गर्न पत्र पठाएका थिए । मेयरले पत्र पठाए पनि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिगबहादुर राईले निर्धारित समयमै भवन उद्घाटन हुने र ओलीले नै गर्ने बताए ।

उद्घाटन तयारीका विषयमा एमाले कोशीका सहइन्चार्ज तथा पूर्वमुख्यमन्त्री शेरधन राईले स्थलगत अनुगमनसमेत गरेका छन् । भवन निर्माणको सम्पूर्ण काम सकिएको राईले बताए ।

राजनीतिक प्रतिशोध साँधेर ओलीलाई भवन उद्घाटननमा अवरोध गर्न खोजेको भन्दै एमाले इटहरीले मेयर हेमकर्ण पौडेलको कार्यशैलीको विरोध गरेको छ । पौडेल कांग्रेसबाट निर्वाचित हुन् ।

मेयरले भन्दैमा भवन उद्घाटन कार्यक्रम नरोकिने इटहरी एमालेका कार्यवाहक अध्यक्ष रुपेश बस्नेतले बताए ।

पूर्वप्रधानमन्त्री तथा अध्यक्ष ओलीले भवनको उद्घाटन गर्नु गौरवको कुरा भएपनि नगरसँग जोडिएको विषय भएकाले आवश्यक तयारी पूरा गर्न बाँकी भएको जिकिर गरेका छन् ।

उनले भने, ‘हामी उहाँलाई बोलाएर पछि भवनको उद्घाटन गराउँछौ अहिले भवन निर्माणको काम सकिएको छैन हतार नगरौँ ।’

उपमेयर संगिताकुमारी चौधरीले भने सबै तयारी सकिएकोले अध्यक्ष ओलीबाटै भोलि भवनको उद्घाटन हुने बताइन् । मेयरले राजनीति गरेको उनको टिप्पणी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर