भरतपुर भ्रमण वर्षको तयारी पूरा, रेनु दाहाल भन्छिन्- ५० हजार जमघट हुने अपेक्षा छ (भिडिओ) – Nepal Press

भरतपुर भ्रमण वर्षको तयारी पूरा, रेनु दाहाल भन्छिन्- ५० हजार जमघट हुने अपेक्षा छ (भिडिओ)

चितवन । चितवनमा हुन लागेको ‘भरतपुर भ्रमण वर्ष २०२४’ को तयारी अन्तिम चरणमा पुगेको छ ।

भरतपुर महानगरपालिकाले मंगलबार चितवनमा पत्रकार सम्मेलन गर्दै फागुन १८ गतेबाट सुरू हुन लागेको भ्रमण वर्षको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । उक्त भ्रमण वर्षको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नारायणी नदी किनारमा भव्य समारोहबीच दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन समारोहमा पूर्वप्रधानमन्त्री, संघीय सरकारका मन्त्री, सातै प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीहरू, संघ तथा प्रदेश सांसदहरुलगायत तथा विशिष्ट व्यक्तिहरूलाई निम्तो दिइएको छ ।

भ्रमण वर्षको शुभारम्भ कार्यक्रममा करिब ५० हजार सर्वसाधारणको सहभागिता हुने उनको अपेक्षा छ ।

‘घुमौं भरतपुर’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको भ्रमण वर्षमा भरतपुरलाई चिनाउँदै यहाँको आर्थिक सम्भावनाको खोजी, लगानीको वातावरण निर्माण गर्न कोशेढुंगा सावित हुने अपेक्षा गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले बताए ।

भ्रमण वर्षमा आउने पाहुनाहरूलाई सेवा प्रदान गर्न महानगरपालिकाभित्र होटलहरूमा ७ हजार ५ सय बेड र सौराहादेखि गैंडाकोटसम्म १५ हजार बेड तयारी अवस्थामा राखिएको महानगरका पर्यटन विज्ञ विश्वराज सुवेदीले बताए । भ्रमण वर्षमा आउने पाहुनाहरूलाई लक्षित गरी होटल तथा रेष्टुरेन्टहरुले छुट सुविधा यसअघि नै घोषणा गरेका छन् ।

उद्घाटन कार्यक्रममा २९ वटा वडाबाट वडा अध्यक्षको नेतृत्वमा विद्यालय धार्मिक तथा जनजाति विभिन्न संघसंस्था नागरिक समाज जनजातिको झाँकीसहितको सहभागिता हुने महानगरले जनाएको छ । भरतपुर भ्रमण वर्षमा महानगरका पर्यटकीय गन्तव्यहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने पर्यटकको संख्या र बसाइ अवधि वृद्धि गर्ने तथा दिगो पर्यटन विकासबाट आर्थिक समृद्धि प्राप्त गर्ने उद्देश्य रहेको मेयर दाहालको भनाइ छ ।

भ्रमण वर्षमा करिब २ लाख बाह्य तथा ५ लाख आन्तरिक पर्यटक भरतपुर आउने आयोजकको अनुमान छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर