फेदीखोलाको कृषि उत्पादन काठमाडौँसम्म निर्यात, कृषकले पाउँछन् उत्पादनको १५ प्रतिशत नगद अनुदान – Nepal Press

फेदीखोलाको कृषि उत्पादन काठमाडौँसम्म निर्यात, कृषकले पाउँछन् उत्पादनको १५ प्रतिशत नगद अनुदान

किसानको गुनासो सुन्न किसान कल सेन्टर

पोखरा । स्याङ्जाको फेदीखोला गाउँपालिकाको प्रत्येक वडामा पालिकाले छनोट गरेका एउटा कृषि सहकारी छन् । ती कृषि सहकारीहरूमा किसानले आफूले उत्पादन गरेको वस्तु बिक्री गर्छन् ।

गाउँपालिकाले किसानले उत्पादन गरेको वस्तुको न्यूनतम समर्थन मूल्य पनि तोकिएको छ । सोही बमोजिम किसानले मूल्य पाउँछन् । किसानले मूल्य मात्र पाउँदैनन्, उत्पादन गरेको वस्तुको १५ प्रतिशत नगद अनुदान समेत पाउँछन् । गाउँपालिकाले उत्पादनको १५ प्रतिशत नगद अनुदान किसानलाई प्रदान गर्दै आएको छ ।

गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीका अनुसार २७ प्रकारका उत्पादनमा न्यूनतम मूल्य तोकेको छ । सोहीअनुसार किसानले कृषि सहकारीबाट मूल्य पाउने गर्छन् । किसानले आफूले बिक्री गर्न पनि पाउँछन् । अनुदानका लागि भने कृषि सहकारीमा उत्पादनको विवरण टिपाउनुपर्ने हुन्छ ।

किसानले उत्पादन गरेको वस्तु कृषि सहकारीसम्म पुर्‍याउन र कृषि सहकारीबाट बजारसम्म पुर्‍याउन कृषि एम्बुलेन्ससमेत गाउँपालिकाले सञ्चालन गरेको छ । हरेक वर्ष गाउँपालिकाले करोडौँको कृषिजन्य वस्तु गाउँपालिकाले निर्यात गर्ने गर्दछ ।

फेदीखोला १ मा रहेको कृषि उपज बजार व्यवस्थापन सहकारी संस्थामार्फत सोमबार मात्रै दुई गाडीमार्फत मुला र काउली काठमाडौँको कालीमाटी निर्यात गरिएको हो । १० क्विन्टल मुला र ५ क्विन्टल काउली काठमाडौँ निर्यात गरिएको गाउँपालिकाका कृषि प्राविधिक शिव सुवेदीले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले उत्पादनमा आधारित अनुदान र बजारीकरणमा पालिकाले सहजीकरण गरिरहेको बताए । उनले १८ करोड मासुजन्य उत्पादन बाहिर निर्यात हुने गरेको जानकारी दिए ।

उनका अनुसार गाउँपालिकाबाट वार्षिक दुग्ध उत्पादनमा ६ करोड, तरकारीमा ८ करोड, मसलावारिमा १ करोड, फलफूलमा २ करोड र बिउ विजनमा ५० लाख निर्यात हुने गर्छ । ४ वर्षदेखि नै गाउँपालिकाले कृषिमा लगानी बढाउँदै आएको गाउँपालिका अध्यक्ष सुवेदीले सुनाए ।

किसानको गुनासो सुन्न किसान कल सेन्टर

गाउँपालिकाले गाउँपालिकाभित्र रहेका किसानको गुनासो सुन्न किसान कल सेन्टरसमेत सञ्चालन गरेको छ । उक्त कल सेन्टरमा दैनिक जसो नै गुनासो आउने गरेको कृषि प्राविधिक सुवेदीले बताए ।

बिरुवामा खाद्य तत्त्वदेखि विषादीसम्मका समस्या किसानले सुनाउने गरेको उनले सुनाए । ‘बिरुवामा खाद्य तत्त्वको कुरा, गोलभेँडाका कुरा, किराहरूको कुराहरू पनि आउँछन्,’ उनले भने, ‘सुझाव पनि दिन्छौँ यतैबाट । कति कुरा फिल्ड मै गएर हेर्छौ । नभए विज्ञमार्फत पनि समाधान खोज्छौँ ।’

किसानबाट आएका समस्या र प्राविधिकले दिएको जवाफ सबै टिपोट गरेर राखेको कृषि प्राविधिक सुवेदीले बताए । हालसम्म यसमा ११३५ जनाले कल गर्नुभएको छ । कहिले दुईचार वटा आउँछ त कहिले धेरै पनि आउँछ,’ उनले भने, ‘किसानबाट के प्रश्न आयो । प्राविधिकले के उत्तर दियो भनेर सबै टिपेर राख्छौँ ।’ किसान कल सेन्टरमा दैनिक बिहान ११ देखि २ बजेसम्म कल गर्न सकिने सुवेदीले सुनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *