नेपाल संस्कृत विश्वविद्यालयको जग्गासम्बन्धी समस्या समाधान गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता – Nepal Press

नेपाल संस्कृत विश्वविद्यालयको जग्गासम्बन्धी समस्या समाधान गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पलकमल दाहाल प्रचण्डले नेपाल संस्कृत विश्वविद्यालयको जग्गासम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

विश्वविद्यालयको जग्गासम्बन्धी समस्या समाधानका लागि ध्यानाकर्षण गराउन पुगेको दाङको सर्वदलीय/सर्वपक्षीय टोलीसँग प्रधानमन्त्रीले आवश्यक अध्ययन गरेर यससम्बन्धी समस्या समाधान गर्ने बताएका हुन् ।

विश्वविद्यालयका कूलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्बाट आवश्यक निर्णय गरेर वा आफूले कुलपतिको तर्फबाट निर्णय गरेर समस्या समाधान गर्ने बताए ।

उनले जतिसक्यो चाँडो उचित निकास निकाल्ने प्रतिबद्धता व्यक्त गरे ।

दाङमा केन्द्रीय कार्यालय रहेको नेपाल संस्कृत विश्वविद्यालयको एक हजार ४०० विघा जग्गा रहेको छ । सो जग्गाबाट विश्वविद्यालयले आयस्रोत लिन सकिरहेको छैन । जोतभोग गरिरहेका किसानहरु पनि मोही दर्ताबाट वञ्चित छन् ।

विश्वविद्यालयको आयस्रोतको बाटो खुलाउने र जोताहा किसानको अधिकार पनि सुनिश्चित गर्ने गरी समस्या समाधानका लागि नीतिगत निर्णय गर्न सर्वपक्षीय टोलीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । टोलीले उच्चस्तरीय अध्ययन समिति गठन गरेर काम अघि बढाउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

सर्वपक्षीय टोलीमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य रेखा शर्मा, दाङ क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य दीपक गिरी, नेपाली कांग्रेस राष्ट्रियसभा दलका प्रमुख सचेतक अनिता देवकोटा, प्रतिनिधिसभा सदस्यहरु मेनका पोख्रेल, नारायणी शर्मा र आश्मकुमारी चौधरी, नेकपा एमालेका नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य सुजिता शाक्य, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं दाङ इञ्चार्ज निर्मल आचार्य, केन्द्रीय सदस्य हेमराज शर्मा र जिल्ला सचिव विश्वराज आचार्य, एमाले जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेत, जग्गादाता कुमुद पोख्रेललगायत सहभागी थिए ।

त्यस्तै विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रसाद लामिछाने, रजिष्ट्रार माधव अधिकारीलगायत पनि उपस्थिति थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर