पार्टटाइम स्पिनरको भरमा नेपाल, नेदरल्यान्ड्विरुद्ध फास्ट बलिङ जम्मा चार ओभर – Nepal Press

पार्टटाइम स्पिनरको भरमा नेपाल, नेदरल्यान्ड्विरुद्ध फास्ट बलिङ जम्मा चार ओभर

काठमाडौं । आफ्नै घरेलु मैदानमा नेपाललाई नेदरल्यान्ड्सले आज ८ विकेटको नमीठो हार चखाएको छ । लिग- २ को पहिलो त्रिकोणात्मक श्रृंखलामा नेपाली टीम आशातित प्रदर्शन गर्न नसक्दा १ जीत र ३ हारको नतिजा स्वीकार्न बाध्य भयो ।

आजको म्याचमा नेपाल कमजोर ब्याटिङ गर्दै १७२ रनको स्कोरमा समेटिएको थियो । कुशल भुर्तेलले संघर्षपूर्ण अर्धशतक बनाए भने अन्य ब्याट्सम्यानहरुले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । नेपालका लागि दोस्रो धेरै रन दशाैं नम्बरमा आएका करण केसीले बनाएका थिए ।

ब्याटिङले निराश बनाएपछि नेपालको झिनो आशा बलिङमा थियो । नेपालका बलरहरुले मामुली लक्ष्य जोगाएर जीत दिलाएका विगतमा थुप्रै उदाहरण छन् । तर, आज भने बलरले पनि कुनै चमत्कार गर्न सकेनन् ।

नेपालले नेदरल्यान्ड्विरुद्ध दोस्रो इनिङमा ६ जना बलर प्रयोग गरेको थियो । रोचक के भने ती ६ मध्ये ५ जना पार्टटाइम बलरहरु थिए । दुई जनामात्र विशेषज्ञ बलर थिए । फास्ट बलर करण केसी र स्पिनर ललितनारायण राजवंशी नेपालका विशेषज्ञ बलर हुन् । करण केसीले केवल ४ ओभर बलिङ गरे । उनको बलिङमा कुनै धार थिएन । ललितले १० ओभरको कोटा पूरा गर्दै एक विकेट लिए । बाँकी ओभर पार्टटाइम स्पिनरले फालेका थिए ।

दीपेन्द्रसिंह ऐरीले किफायती बलिङ गर्दै १० ओभरको पूरा कोटामा ३० रन खर्चिए र १ विकेट लिए । कुशल मल्लले ७ ओभर बलिङ गर्न पाए । तर, आज उनी महँगा सावित भए । उनले ४२ रन खर्चिँदा कुनै विकेट लिन सकेनन् । कप्तान रोहित पौडेल आफैंले ४.५ ओभर बलिङ गरे । अर्का पार्टटाइम स्पिनर कुशल भुर्तेललाई दुई ओभर मिल्यो ।

समग्रमा नेपालले ३७.५ ओभर बलिङ गर्दा ४ ओभरमा मात्रै फास्ट बलर प्रयोग गर्‍याे । बाँकी ३३.५ ओभर कप्तानले स्पिन बलरलाई दिए ।
नेपालले लामै समयदेखि घातक फास्ट बलरको कमी महसुस गर्दै आएको छ । हरेक टीमसँग एक-दुई यस्ता फास्ट बलर हुन्छन्, जसले सुरुमै विपक्षी टीमको विकेट खसालेर दबाबमा पार्छन् । तर, नेपालका नियमित फास्ट बलरहरु सोमपाल कामी र करण केसीको बलिङमा एकरुपता छैन । बाउन्स र स्वीङ नभएको पिचमा उनीहरु खर्चिला सावित हुने गर्छन् ।

त्रिविको पिचले यस प्रतियोगितामा फास्ट बलरभन्दा स्पिनरलाई सहयोग गरेको छ । यद्यपि, अन्य टीमका फास्ट बलरले राम्रो बलिङ गरेका छन् । तर, नेपालका फास्ट बलरहरु फिक्का देखिए । त्यही भएर कप्तानले फास्ट बलिङमा भरोसा गर्न नसकेका हुन् ।

आजको खेलमा नेपालले सोमपाललाई विश्राम दिएको थियो । टीममा गुल्शन झा र आरिफ शेख छन्, जो मध्यम गतिको बलिङ गर्न सक्छन् । तर, कप्तानले उनीहरुलाई प्रयोग गर्न चाहेनन् । लक्ष्य थोरै भएको हुनाले उनी पूर्ण रुपमा स्पिन बलिङमा निर्भर देखिए । स्पिनरहरुले किफायती बलिङ गरे पनि विकेट निकाल्न सकेनन् । दर्शकले आज स्पिनर सन्दीप लामिछानेको अभाव महसुस गरे । उनी चाहिएको बेला विकेट निकालेर दिन सक्ने क्षमता राख्थे ।

अघिल्ला तीन खेलमा पनि नेपाल पार्टटाइम स्पिनरमै निर्भर बनेको थियो । पहिलो खेलमा नामिबियाविरुद्ध कप्तान रोहित पौडेलले फास्ट बलरलाई १३ ओभर र स्पिनरलाई २०.१ ओभर दिएका थिए । दोस्रो म्याचमा नेदरल्यान्ड्विरुद्ध नेपालले करण केसीलाई बेञ्चमा राख्यो । पहिलो इनिङमा बलिङ गर्न पाएको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै नेदरल्यान्ड्सलाई १३७ रनमा राेकेको थियो । कप्तानले केवल ९ ओभर फास्ट बलिङ गराएका थिए भने बाँकी ३० ओभर स्पिनरलाई दिएका थिए । पार्टटाइम स्पिनर कुशल भुर्तेलले ४ विकेट लिए ।

तेस्रो खेलमा नामिबियाविरुद्ध करण टीममा फर्किए । तर, उनले ४ ओभरमात्रै बलिङ गर्न पाए र कुनै विकेट लिएनन् । ३ ओभर बलिङ गरेका सोमपाल पनि विकेटविहीन रहे । नेपालका लागि कुशल भुर्तेलले ३ तथा ललित, रोहित, दीपेन्द्र र कुशलले एक-एक विकेट बाँडेका थिए । यो म्याचमा नेपालले केवल ७ ओभर फास्ट बलिङ गराउँदा ३३ ओभर स्पिन फ्याकेको थियो ।

यसरी समग्र चार खेलमा नेपालले ११७ ओभर स्पिन बलिङ गरेको छ भने केवल ३३ ओभर फास्ट बलिङ गरेको छ । कुनै पनि फास्ट बलरले प्रतियोगिताभरि १० ओभरको पूरा कोटा बलिङ गरेनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर