नेपालको लगातार खराब ब्याटिङपछि प्रशिक्षक मन्टी देसाईले के भने ‘ब्याट्सम्यानशिप’बारे ? – Nepal Press

नेपालको लगातार खराब ब्याटिङपछि प्रशिक्षक मन्टी देसाईले के भने ‘ब्याट्सम्यानशिप’बारे ?

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मन्टी देसाईले विश्वकप लिग-२ अन्तर्गतको पहिलो श्रृंखलामा घरेलु टोलीको कमजोर ब्याटिङपछि ‘ब्याट्सम्यानशिप’को आवश्यकताबारे बोलेका छन् ।

‘जब तपाईं स्तरीय टोलीविरुद्ध चुनौतीपूर्ण सर्फेसमा खेल्दै हुनुहुन्छ भने तपाईं ब्याटलमा रहिरहनु पर्छ । ब्याट्सम्यानशिप भनेको आर्ट हो । त्यहाँ तपाईंले प्रस्तुत गर्ने स्किलले ठूलो भूमिका खेल्छ । ब्याटलमा रहिरहन आँट र हिम्मत चाहिन्छ’, पहिलो श्रृंखलाका तीन खेलमा हारेपछि प्रशिक्षक मन्टी देसाईले आइतबार पोस्ट म्याच कन्फेरेन्समा भने ।

उनले नेपाली ब्याट्सम्यानले एउटै गल्ती पटक पटक दोहोर्‍याएको बताए । ‘हामीले गल्तीबाट सिक्नुपर्छ, त्यसलाई दोहोर्‍याउनु हुँदैन । कप्तानले पनि यही भन्दै थिए । हामीले त्यही खेल फेरि दोहोर्‍यायौं’, देसाईले भने ।

विश्वकप लिग-२ अन्तर्गत पहिलो त्रिदेशीय एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखलामा नेपालले खेलेका चारमध्ये तीन खेलमा पराजय व्यहोर्‍याे ।

पराजित भएका सबै खेलमा नेपालले टस हारेर पहिला ब्याटिङ गर्ने जिम्मा पाएको थियो । यो श्रृंखलामा टस जित्ने सबै टोलीले पहिला बलिङ रोजेका थिए । नामिबियाले मात्र एक खेलमा टस हारेर खेल जितेको थियो । नेपाली टोलीले राम्रो सुरुवात गरेर पनि त्यसलाई पछिसम्म कायम राख्न सकेन । आशा गरिएका ब्याट्सम्यान अधिकांशले अपेक्षित प्रदर्शन गर्न सकेनन् ।

‘घरेलु मैदानमा हार्दा मन दु:ख्छ । तर, यदि तपाईं नम्बर एक एसोसिएट बन्ने लक्ष्य राखिरहनु भएको छ भने अवे गेमहरु पनि उत्तिकै राम्रो खेल्नुपर्छ’, देसाईले भने ।

टोलीले हारेपछि मन्टी आफैं कप्तानलाई लिएर पोस्ट म्याच कन्फेरेन्समा आउने गरेका छन् । तर, आइतबार भने मन्टी एक्लै आएका थिए ।

मन्टीले यस पटक बलरलाई फेभर गर्ने खालको पिच भएको बताए । ‘यसअघि टीयूमा खेलाडीको स्किल हावी हुने पिच थियो । यस पटक त्योभन्दा फरक थियो’, उनले भने ।

उनले अर्को एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखलाअघि खेलाडीहरुका लागि विभिन्न स्तरोन्नति कार्यक्रम सञ्चालन गरिने बताए ।

नेपालले अब नामिबिया र नेदरल्यान्ड्ससँग त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय श्रृंखला खेल्नेछ । त्यसपछि भारतको रन्जी ट्रफी खेल्ने बरोडा र गुजराजसँग टी-२० खेल्नेछ । हङकङमा हङकङ, पीएनजी र नेपाल सम्मिलित टी-२० श्रृंखला खेल्ने पनि कुरा भइरहेको उनले बताए ।

‘यो सबै विश्वकपको तयारीका लागि हो’, उनले भने । विश्वकप लिग-२ खेलेका एकदुई जना खेलाडीलाई आसन्न टी-२० श्रृंखलाका लागि अवसर दिइने पनि उनले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर