यसरी बन्छ वैदेशिक रोजगारमा जानेको ‘फेक मेडिकल रिपोर्ट’, बटुवालाई प्राविधिक बनाएर हस्ताक्षर (प्रतिवेदनसहित) – Nepal Press

यसरी बन्छ वैदेशिक रोजगारमा जानेको ‘फेक मेडिकल रिपोर्ट’, बटुवालाई प्राविधिक बनाएर हस्ताक्षर (प्रतिवेदनसहित)

श्रम मन्त्रालयमा सूचीकृत २१२ मध्ये ६७ स्वास्थ्य संस्था अयोग्य, मेडिकल औजार राख्ने रेफ्रिजेरेटरमा कोक फेन्टा भेटियो, गन्तव्य मुलुकले आफैं छान्न थाले स्वाथ्य संस्था

काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वाथ्य संस्था (मेडिकल) हरूमा स्वास्थय परीक्षण नै नगरी रिपोर्ट तयार गर्ने गरेको पाइएको छ । स्वास्थ्य उपकरण र स्वास्थ्यकर्मीविनै कतिपय मेडिकलले बाटोमा हिँडिरहेका व्यक्तिलाई प्राविधिक बनाएर मेडिकल रिपोर्टमा हस्ताक्षर गराएको सरकारकै अनुगमनका क्रममा खुलेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको मेडिकल परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूको अनुगमनको क्रममा मान्यता प्राप्तमध्ये करिब आधा संस्था मेडिकलका लागि अयोग्य भेटिएका हुन् । यसलाई मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्यमाथि गम्भीर लापरवाही भनेको छ ।

मन्त्रालयमा सूचीकृत स्वास्थ्य संस्थाहरूले कामदारको स्वास्थ्य परिक्षणविना नै मेडिकल रिपोर्ट तयार गरेको अनुगमनका क्रममा भेटिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले अनुगमनका क्रममा धेरै लापरवाही भेटिएको नेपाल प्रेसलाई बताए ।

वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक जाने कामदारले अनिवार्यरूपमा स्वास्थ्य परीक्षण गर्नुपर्ने व्यवस्था छ । नेपालबाट जाने नेपाली कामदारको गन्तव्य मुलुकमा पुगेपछि स्वास्थ्य परीक्षण गरिन्छ । गन्तव्य मुलुकमा पुगेपछि मेडिकल ‘अनफिट’ भै स्वदेश फर्कनुभन्दा नेपालमा नै स्वास्थ्य परीक्षण गर्न थालिएको हो ।

मन्त्रालयमा दर्ता भएका यस्ता स्वास्थ्य संस्थाको लागि मन्त्रालयले पूर्वाधारको मापदण्डसमेत तोकेको छ । मन्त्रालयमा २१५ वटा स्वास्थ्य संस्था वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने प्रयोजनले दर्ता भएका छन् ।

जसमध्ये ३ वटाले नवीकरण गरेका छैनन् । बाँकी रहेका २१२ वटा स्वास्थ्य संस्थाको मन्त्रालयले अनुगमन गरेको थियो । जसमध्ये १४५ वटा मेडिकलको मात्र मापदण्ड पुगेको मन्त्रालयले जनाएको छ । सूचीकृतमध्येका ६७ वटा संस्थालाई तोकिएको मापदण्ड पूरा गर्न एक महिनाको समय दिइएको छ ।

पुनः अनुगमनको निवेदन पेश नगरेका र निवेदन दिएर पनि मापदण्ड नपुगेका संस्थाहरूको नवीकरण र सूचीकरण खारेज गर्नसमेत अनुगमन समितिले मन्त्रालयमा प्रतिवेदन दिएको छ ।

अनुगमनका क्रममा यस्तोसम्म भेटिएको छ कि, बाटोमा हिँडिरहेका व्यक्तिलाई प्राविधिक बनाएर रिपोर्टमा सही गराउँनेदेखि मेडिकलसम्बन्धी औजार राख्ने रेफ्रिजेनेटरमा कोक र फेन्टाजस्ता पेय पदार्थ राखिएको पाइएको छ । त्यस्ता मेडिकलमा स्वास्थ्य परीक्षणसम्बन्धी कुनै उपकरणसमेत पाइएनन् ।

अनुगमनका क्रममा ती स्वास्थ्य संस्थामा कर्मचारीको उचित व्यवस्थान नभएको, पर्याप्त स्पेस नभएको, मेसिन औजार नभएको, सी ग्रेडको ल्याब सञ्चालन स्वीकृति पाएको भए पनि ल्याबको मापदण्ड पूरा नभएको, मेडिकल टेष्ट नगरी रिपोर्ट तयार गर्ने गरेको पाइएको उल्लेख छ ।

त्यस्तै, वैदेशिक रोजगार विभागमा रिपोर्ट प्रवेश नगरिएको, मिलाएर रिपोर्ट तयार गर्ने जवाफ दिइएको, बाटोमा भेटिएको मान्छेलाई प्राविधिक बनाएको, कतिपय संस्था कहाँ छन् भनेर खोज्दासमेत समस्या रहेको, मेडिकल टेस्ट एउटाको तर विभागको अर्को व्यक्तिको रिपोर्ट दाखिला गरिएको समेत भेटिएको प्रतिवेदनमा छ ।

अधिकांश मेडिकलमा मेसिन औजारको नाममा कम्प्युटर र प्रिन्टरमात्र चालू अवस्थामा रहेको, २० औ वर्षदेखि सर्टिफिकेट जारी भएता पनि तोकिएको मापदण्ड पूरा नभएको, धेरै संस्थामा डक्टरको उपस्थितिविना रिपोर्ट तयार गरिएको अनुगमनका क्रममा फेला परेको छ ।

त्यस्तै रेफ्रिजेरेटरमा किटको प्याकेट नखोली राखिएको, सिरिन्ज प्रयोग गरेर डिस्पोज नगरिएको, स्वास्थ्य परीक्षण सम्बन्धी २०७२ को मापदण्ड समेत पूरा नभएको, १०० एमए को एक्सरे मेसिन भएता पनि सञ्चालनमा नरहेको अनुगमनमा भेटिएको छ ।

उदाहरणका लागि काठमाडौंको धुम्बाराहीस्थित कुण्डलिनी डाईग्नोष्टिक सेन्टरको त आफ्नो ल्याबसमेत नभएको पाइएको छ । अधिकांश मेडिकलले म्यानपावर कम्पनीलाई कमिसन बुझाउनु परेकोले मापदण्डबमोजिम काम गर्न कठिनाई भएको भनेर जवाफ दिएको समेत प्रतिवेदनमा उल्लेख छ ।

मन्त्रालयले वैदेशिक रोजगार ऐन, नियमावली तथा वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि २०७२ बमोजिम गत भदौ १२ गतेदेखि मन्त्रालयले टोली गठन गरेर अनुगमन थालेको थियो ।

मन्त्रालयको सचिवस्तरीय निर्णयबाट अनुगमन तथा निरीक्षण टोलीले काठमाडौ उपत्यकाभित्र र उपत्यकाबाहिर रहेको स्वास्थ्य संस्थाहरूको अनुगमन तथा निरीक्षण गरेको थियो । अनुगमनपछि मापदण्ड पूरा नगरेका ६७ वटालाई विभागमा रिपोर्ट दाखिल गर्न बन्द गरिएको छ । उनीहरूलाई तोकिएको मापदण्ड पूरा गर्न एक महिनाको समय प्रदान गरेको छ । मन्त्रालयले गत माघ १२ गते सूचना जारी गरी मापदण्ड पूरा गर्न निर्देशन दिएको हो ।

गन्तव्य मुलुकले आफ्नै मापदण्डअनुसारका संस्था छनौट गर्दै

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सूचीकृत भै स्वास्थ्य परीक्षण गर्दै आएका स्वास्थ्य संस्थाहरूको लापरवाही र बदमासीका कारण गन्तब्य मुलुकले आफनै मुलुकको मापदण्डअनुसार स्वास्थ्य संस्थाहरू छनौट गर्न थालेका छन् । यसमध्ये मलेसियाले धेरै अघि देखि यस्तो अभ्यास सुरू गरेको छ ।

मलेसियन सरकारले रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणको लागि ३६ वटा संस्था छनौट गरेको छ । ती संस्थाले मलेसियन सरकारको मापदण्डअनुसार नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्दै आएका छन् । मलेसिया जाने कामदारको बायोमेट्रिक गर्ने ३६ वटा एजेन्सीले अन्तर्राष्टिय स्तरको मान्यता पाएका हुन् ।

मलेसिया जाने कामदारको मेडिकल जाँच भने अलग्गै सूचीकृत स्वास्थ्य संस्थाहरुबाट हुने गरेको छ । मलेसियामा कामदार पठाउँने देशका लागि मलेसियन सरकारबाट मान्यता प्राप्त एजेन्सी बेस्टिनेट एसडिएनले छानेका ३६ वटा मेडिकल सेन्टरबाट मात्र स्वास्थ्य परीक्षण भइरहेको र तिनीहरु अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका पाइएको श्रम मन्त्रालयले जनाएको छ ।

त्यस्तै, साउदी अरबले १९ वटा संस्था तोकेको छ । कतारले कतार भिसा सेन्टरबाट नै सबै प्रक्रिया पूरा गर्दै आएको छ । इजरायले चार वटा र कोरियाले तीन वटा यस्ता स्वास्थ्य संस्था तोकेको छ ।

अन्य संस्थाहरूले स्वास्थ्य परीक्षण नै नगरी मेडिकल रूपमा फिट देखाएर कामदार गन्तव्य मुलुक पठाउन थालेपछि गन्तव्य मुलुक आफैं चनाखो भएका हुन् ।

बन्द गरिएका स्वास्थ्य परीक्षण गर्ने संस्थाहरुको सूची यसप्रकार छ-

हेर्नुस् अनुगमन प्रतिवेदनको पूर्णपाठ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *