संवेदनाहीन बागलुङ जिल्ला अदालत- ९६ वर्षीया वृद्धा ११ महिनादेखि अदालत धाउँदै – Nepal Press

संवेदनाहीन बागलुङ जिल्ला अदालत- ९६ वर्षीया वृद्धा ११ महिनादेखि अदालत धाउँदै

बागलुङ । बागलुङ जिल्लाअदालतले एक ९६ वर्षीया वृद्धाको अंश मुद्दा ११ महिनादेखि झुलाइरहेको छ । बागलुङ नगरपालिका वडा नम्बर १४ (साविक नारायणस्थान गाउँविकास समिति वडा नं. ९) बस्ने वर्ष ९६की गीताकुमारी पौडेलले मिति २०८० बैशाख ३१ गते बागलुङ जिल्ला अदालतमा दायर गरेको अंश मुद्दा अदालतले ११ महिनादेखि झुलाइरहेको हो । उक्त मुद्दाको कहिले फैसला हुन्छ भन्ने कुनै टुंगो छैन । ९६ वर्षीया वृद्धाको मुद्दा प्राथमिकता राखेर अगाडि बढाउनु पर्नेमा मुद्दालाई विभिन्न चरणमा विलम्ब बनाउँदै अलपत्र पारिएको छ ।

बागलुङ जिल्ला अदालतमा २०८० वैशाख ३१ गते फिराद दर्ता भएपछि तत्कालीन न्यायाधीश डा. दिवाकर भट्टले मुद्दा छिटो टुंगो लगाउने उद्देश्यका साथ २०८० साउन १८ गते मुद्दा मेलमिलापमा पठाउने र साउन ३० गतेभित्र मेलमिलाप गरिसक्ने, उक्त अवधिभर मेलमिलाप भए मेलमिलाप साथ पेश गर्नू, मेलमिलाप हुन नसके फिरादपत्र र प्रतिउत्तर पत्रको साक्षी खण्डमा उल्लेखित साक्षीहरूलाई बकपत्रको लागि पेश गर्नू’ भन्ने आदेश दिएका थिए।

सामान्यतया इजलासबाट साक्षी बकपत्रको लागि आदेश हुने गर्दैन । तर, न्यायाधीश भट्टले साक्षी बकपत्रको मिति नै तोकिदिएका थिए । विपक्षीको बेवास्ताका कारण मेलमिलाप हुन नसकेपछि मुद्दा प्रक्रिया अगाडि बढेको थियो ।

अदालतको आदेशबमोजिम गीतादेवीका वारेसले साउन ३० गते साक्षी लगेर अदालत जाँदा फाँटले मुद्दाका विपक्षीहरूलाई बकपत्र नभई साधारण तारेख दिइएको र अदालतमा उपस्थित भएका साक्षीलाई फिर्ता गरिएको थियो । इजलासबाट भएको आदेशलाई लत्याउँदै फाँटका कर्मचारीले विपक्षीलाई साधारण तारेख दिएपछि एक महिना १० दिनपछि २०८० असोज ८ गते मात्रै साक्षीहरूको बकपत्रभएको थियो ।

निकै चासो दिएर मुद्दा छिटो टुंगो लगाउने तत्परता देखाएका न्यायाधीश भट्टको असोज महिनामा चितवन जिल्ला अदालतमा सरुवा भएपछि गीताकुमारी पौडेलको मुद्दा अदालतमै अलपत्र परेको छ ।

उनको फिरादमा भनिएको छ, ‘मेरा श्रीमान् टंकनाथ पौडेलको विक्रम संवत् २०५० साल असार २९ गते बिरामी भई भारतमै निधन भएको छ । कान्छी श्रीमतीतर्फका जेठा छोरा बलभद्र शर्माको पनि २०७८ फागुनमा भारतको मुम्बइमा निधन भएको छ र उहाँका एक छोरा अर्जुन शर्मा रहेका छन् । हाल म फिरादी गीताकुमारी पौडेल, कान्छीतर्फका कान्छा छोरा शिवबहादुर पौडेल र जेठो छोरा बलभद्र पौडेलको छोरा अर्जुन शर्मा एकासगोलमा बस्दै आएका छौं । फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी बण्डा गर्नुपर्ने सम्पत्तिको सम्पूर्ण तायदाती फाँटबारी लिई सबै अंशियारहरूलाई समान भाग लगाई एक भाग मेरो अंश हक कायम गरी अंश दिलाई बण्डासमेत छुट्याइ पाऊँ ।’

विपक्षीमा अंशियारमध्येका शिवबहादुर पौडेल र अर्जुन शर्मा हुन् । शिवबहादुर पौडेल सौतातिरका छोरा हुन् भने अर्जुन शर्मा सौतातिरका नाति हुन् । शिवबहादुर पौडेल बागलुङमै बसोबास गरेको भएपनि अर्जुन शर्मा आमा दीपा शर्मासहित भारतमै घर जग्गा किनी घर बनाई विगत लामो समयदेखि भारतमै बस्दै आएका छन् । अर्जुन शर्माका बुबा बलभद्र पौडेलको निधन भइसकेको छ ।

फिरादमै अंशियार खुलेको मुद्दामा न्यायाधीश रमेशकान्त अधिकारीले अंशियार खुलाउन आदेश दिएका थिए । फिरादमै तीन अंशियार रहेको प्रष्ट रूपमा खुलाइएको थियो । फिरादमै तीन अंशियारको नाम लेखिएकोमा अनावश्यकरूपमा अंशियार खुलाउन आदेश दिइएको थियो । बलभद्र शर्माको मृत्यु भएपछि उनका छोरा अर्जुन शर्मा अंशियार हुन् भन्ने कुरा खुलिसकेपछि पुनःअंशियार खुलाउनुपर्ने मुद्दा नभएको जिकिर गरिएको छ ।

न्यायाधीश रमेशकान्त अधिकारीको आदेशअनुसार अंशियार खुलाइयो र विपक्षीका नाममा म्याद तामेल भयो । विपक्षी अर्जुन शर्मा र आमा दीपा शर्मा भारतमा घर बनाएर स्थायी बस्ने भएको हुनाले म्याद बेपत्ते भएर आएको थियो । म्याद बेपत्ते भएर आउनुको कारण कानूनव्यवसायीमार्फत् सबै कुरा इजलासमा जानकारी गराइएको थियो ।

प्रक्रियाअनुसार पत्रिकामा सूचना निकाल्न, तायदाती फाँटवारी मगाउन आदेश गर्नुपर्नेमा न्यायाधीश अधिकारीले ती कुनै पनि आदेश नगरी २०८० माघ २ गते म्याद तामेललाई बदर गर्दै पुनः म्याद तामेल गर्ने आदेश दिएका थिए । माघ २ गते जारी भएको म्याद तामेल गर्ने आदेश फागुन १० गतेसम्म तामेल भएको छैन र पुनः फागुन २२ गतेलाई साधारण तारेख दिएर पठाइएको छ ।

आदेशबमोजिम डेढ महिनासम्म पनि म्याद तामेल भएको छैन । सदरमुकामभित्रै म्याद तामेलीको प्रक्रिया लामो समयसम्म नगरेर अदालतले न्यायिक प्रक्रियालाई धज्जी उडाएको छ । कानूनले ७ दिनभित्र म्याद तामेली गर्नुपर्ने व्यवस्था गरेको छ । न्यायाधीश, प्रशासन र कर्मचारीको मनोमानीको कारण ९६ वर्षीया वृद्धाको मुद्दामा अकल्पनीय तरिकाले विलम्ब गरिएको छ ।

गीतादेवी पौडेलका श्रीमान् टंकनाथ पौडेलको २०५० सालमै मृत्यु भइसकेको छ । उनका दुई श्रीमतीमध्ये गीतादेवीतर्फबाट एक छोरी, कान्छी तर्फ दुई छोरा रहेका छन् । सौतातर्फका छोरा शिवबहादुर पौडेलले हेला गर्ने, गालीगलौज गर्ने, घरमा बस्न नदिने, हेरचाह केही नगरेपछि छोरी लक्ष्मी ज्ञवालीले विगत तीस वर्षदेखि आमाको रेखदेख, पालनपोषण गर्दै आएकी छिन् ।

सबै सम्पत्ति गीताकुमारी पौडेलका पति टंकनाथ पौडेल र शिवबहादुर पौडेलकै नाममा रहेको छ भने शिवबहादुर पौडेलले एकलौटी भोगचलन गर्दै आएका छन् । शिवबहादुर पौडेलले आमालाई हालसम्म एक रूपैयाँ पनि नदिएको, अंश पनि दिन्न भनेर धम्क्याएको कारण जीवनको अन्तिम बेलामा गीताकुमारी पौडेलले अंशको लागि मुद्दा मामिला गर्नुपरेको हो ।

‘मैले छोरीको सम्पत्तिखाएर मर्दिन, मेरो काजकिरिया मेरा श्रीमान्‌कै सम्पत्तिबाट होस् भन्ने इच्छाकै कारण आमाले आफ्नो किरिया खर्चको लागिमात्रै अंश लिन खोज्नुभएको हो’ छोरी लक्ष्मीलाई उद्धृत गर्दै कानून व्यवसायी विमल पोखरेलले भने ।

छोरी लक्ष्मी आफ्ना श्रीमान् र परिवारसँगै भारतमै घर बनाएर बस्दै आएकी छिन् ।

‘हामीले किरियाको सम्पूर्ण खर्च व्यहोर्छौं भन्दा पनि आमाले मान्दै मान्नुभएन । श्रीमान्‌कै सम्पत्तिबाट मेरो काजकिरिया गरिदिनू भनेर भनिरहनु हुन्छ । हामीसँग हामीलाई पुग्ने सम्पत्ति भारत र नेपालमै छ । आमालाई पालनपोषण, औषधि उपचार गर्न सक्छौं र गरिरहेका छौं तर आमाले छोरीको सम्पत्तिबाट मेरो किरिया नहोस् भन्ने चाहनुहुन्छ, आमा धेरै परम्परागत र धार्मिक स्वभावको हुनु भएकोले छोरीको सम्पत्ति खाँदै खानुहुन्न भनेर भनिरहनुहुन्छ’, लक्ष्मीको भनाई उद्धृत गर्दै पोखरेलले भने, ‘गीताकुमारीकी छोरी लक्ष्मी ज्ञवालीमात्रै हुनुहुन्छ, अरु छोराछोरी छैनन् ।’

पोखरेलले भने, ‘फिराद दर्ता गर्न आफैं उपस्थित हुनुभएको थियो, फिराद दर्ता गरेपछि अदालतबाट रुँदै बाहिरिनुभएको थियो । एउटी ९६ वर्षीया वृद्ध आमालाई रुवाउने परिवारका व्यक्ति कस्ता होलान्, अनुमान गर्न सकिन्छ । उहाँलाई साँच्चिकै अन्याय भएको छ । मिलापत्र गरेर टुंगो लगाउन पनि उहाँ तयार हुनुहुन्छ । तर, छोराहरू आमालाई एक रूपैयाँ वा एक टुक्रा जग्गा दिन तयार छैनन् । शिवबहादुर पौडेल काठमाडौंमा पनि घर बनाएर बसेका छन् । बागलुङको जग्गा बाँडेर आमालाई दिन तयार छैनन् । वृद्धा अवस्थाकी आमालाई निकै हेला गरेको देखिन्छ । आमाको निकै वृद्धावस्था भएको हुनाले मृत्युपछि सबै आफैंले खान पाइन्छ भन्ने सोचाइले काम गरेको देखिन्छ ।’

मुद्दाका पक्षलाई तायदाती मगाउने आदेश गर्न बाँकी रहेको छ । सरकारी अड्डाबाट तायदाती मगाएर परीक्षण गर्ने लगायत आदेशहरू गर्न बाँकी रहेको छ । विगत डेढ महिनादेखि म्यादसमेत तामेल नभएको हुनाले तीआदेश कहिले हुन्छन् भन्न सकिने अवस्था रहेको छैन । म्याद तामेल नभएसम्म कुनै पनि प्रक्रिया अगाडि बढ्नै सक्दैनन् ।

पोखरेल थप्छन्, ‘अदालत प्रशासन र न्यायाधीशले चाहेनन् भने ५ वर्षसम्म पनि मुद्दा फैसला हुँदैनन् । एकैपटक गरे हुने आदेशहरू पटक पटक गर्ने, लगातार तारेख दिने, अनावश्यक म्याद जारी गर्ने, जारी भएको म्याद रद्द गर्ने, पेशी चढेको दिनमा न्यायाधीश बिदामा हुने,कार्यक्रममा जाने गर्दा मुद्दा लम्बिएको हो ।’

यो मुद्दा कहिले टुंगिन्छ भन्ने कुनै ठेगान नभएको उनले बताए ।

‘न्यायाधीशले मुद्दा अगाडि बढाउन चाहेनन् भने दर्जनौं आदेश जारी गरेर वर्षौं लम्ब्याउन सकिन्छ । गीताकुमारी पौडेलको मुद्दामा अदालतले निकै हेलचेक्र्याइँ गरेको छ’ पोखरेले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर