धुलो दूधको माग घटेपछि ‘डेरी’ सञ्चालनमा समस्या – Nepal Press

धुलो दूधको माग घटेपछि ‘डेरी’ सञ्चालनमा समस्या

दमक । झापामा दूध तथा दुग्धजन्य सामग्री उत्पादन एवं बिक्री (डेरी सञ्चालन) गर्दै आएकाहरूले स्वदेशमा उत्पादन भएको धुलो दूधको माग घटेपछि व्यवसाय सञ्चालनमा समस्या भएको गुनासो गरेका छन् ।

स्थानीय किसानले उत्पादन गर्दै आएको गाई भैँसीको दूध सङ्कलन गरी बजारीकरण गर्दै आएका साना तथा मझौला डेरी व्यवसायीले किसानलाई भुक्तानी दिननसक्ने अवस्थामा आफूहरु पुगेको दुखेसो पनि गरेका छन् ।

विगत चार वर्ष अघिदेखि झापाको दमक–१० सेतुमारीमा डेरी सञ्चालन गर्दै आएका व्यवसायी विदुर भण्डारीले पछिल्ला केहि दिनयता डेरी व्यवसायीले स्थानीयस्तरमा सङ्कलन गरेको दूधको भुक्तानी किसानलाई दिन कठिन भएको बताए । उनको डेरीले आबद्ध दुई सय साना किसानबाट गाईभैँसीको पाँच सय लिटर दूध दैनिक सङ्कलन गदैआएको छ तर बजारबाट भुक्तानी नहुँदा समस्या भएको व्यवसायी भण्डारीले बताए ।

उनका अनुसार डेरीमा सङ्कलन भएको दूध दमक बजारका साथै पोखराको सुजल डेरीले खरिद गर्दै आएको छ तर केही दिनयता उक्त डेरीले बजारमा धुलो दूध बिक्री गर्न नसकेको भन्दै भुक्तानी नदिएपछि किसानलाई पशुआहाराको रुपमा प्रयोग गर्दै आएको दाना,चोकरसमेत दिन नसक्ने अवस्थामा डेरी सञ्चालक पुगेका छन् ।

केही समय अघिमात्र दूधको मूल्यमा केही वृद्धि हुँदा निकै उत्साहित देखिएका किसान अहिले समयमानै दूधको भुक्तानी पाउन नसक्दा निराश हुनुपरेको दमक– १० का गाईपालक किसान नवराज न्यौपानेले बताए । दुग्ध डेरी अहिले दूधका साथै दही, घिउ, पनिर लगायत दुग्धजन्य वस्तु उत्पादन तथा बिक्री गर्दै आएको छ ।

नेपाली बजारमा भारतीय उत्पादनले निकै प्रभाव जमाउँदै आइरहेको समयमा दूधको बजारमा पनि समस्या आएको व्यवसायीहरू बताउँछन् । भारतीय उत्पादनको लागत मूल्य कम हुनु र नेपाली उत्पादनको लागत मूल्य बढी भएकाले दूधको बजारमा समस्या भएको उनीहरूको बुझाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर