बैंकिङ क्षेत्रमा कुनै समस्या छैन, सक्षम र सबल छ : राष्ट्र बैंक – Nepal Press

बैंकिङ क्षेत्रमा कुनै समस्या छैन, सक्षम र सबल छ : राष्ट्र बैंक

काठमाडौं । पछिल्लो समय नेपालमा बैंक डुब्न लागेको भनेर हल्ला भएपछि नेपाल राष्ट्र बैंकले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । केही व्यक्ति/समूहले दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति बैंकले गम्भीर ध्यानाकर्षण भएको बताएको हो ।

राष्ट्र बैंक मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समयमा इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरूको पूँजी कोष, कर्जा निक्षेप अनुपात र तरलताको अवस्थासम्बन्धी परिसूचकहरू राष्ट्र बैंकको निर्देशनअनुरूप नै रहेको बताएको छ ।

‘कुनै बैंक तथा वित्तीय संस्थामा यी परिसूचकहरू तथा कर्जा, संस्थागत सुशासनलगायतका अन्य विषयमा कुनै समस्या देखिएमा यस बैंकले समय समयमा आवश्यक निर्देशन दिई सुधार गराउँदै आइरहेको छ । बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणको निक्षेप परिचालन गर्ने हुँदा यस बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिँदा र निरीक्षण/सुपरिवेक्षण गर्दा समेत सर्वसाधारणको निक्षेपको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको हुन्छ’, राष्ट्र बैंकको विज्ञप्तिमा उल्लेख छ ।

बैंक तथा वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको राष्ट्र बैंकले बताएको छ । बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकोले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको राष्ट्र बैंकले जनाएकाे छ ।

बैंकिङ जस्तो संवेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्न दुष्प्रचार गर्ने कार्यको पछाडि नलाग्न राष्ट्र बैंकले अनुरोध गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर