कसैको त्रुटिले फेरि ‘कपिलहरू’ नअस्ताऊन् ! – Nepal Press

कसैको त्रुटिले फेरि ‘कपिलहरू’ नअस्ताऊन् !

पहिलो दिन

दोलखास्थित जिल्ला प्रहरी कार्यालयमा कपिलमणि न्यौपाने र उहाँका भाइ कोसिसमणि न्यौपानेलाई भेटियो ।

भेटमा कपिलमणिले भन्नुभयो, ‘लगातार सोधपुछ भैरहेको छ । मेलुङ पवटीको सहकारीमा जनताको पैसा तलमाथि भैरहेको गम्भीर अवस्थामा हामीले प्रहरीलाई सहयोग गर्नुपर्छ भनेर म बोलाएको बेला आइरहेको छु ।’

यो घटनाका दोषी उम्कन हुन्न, हामी सबैले प्रहरीलाई सहयोग गरौं भन्दै प्रहरी कार्यालय परिसरबाट छुट्यौं ।

दोस्रो दिन

‘दाइ कपिललाई प्रहरीले हिरासतमा राख्यो, जाऔं न कुरा गरौं’, कोसिसले भोलिपल्ट बिहान भन्नुभयो । १० बजेपछि म र कोसिस जिल्ला प्रहरी कार्यालयमा गयौं । नाम टिपाएर केहीबेर हवेलीमा कुरेपछि प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक खड्कालाई भेट्न जाने अनुमति दिइयो । कार्यालय परिसरमा बसिरहेका डीएसपीलाई भेट्यौं र सोध्यौं, ‘कपिलजीको बारे कसैले पोलेको छ, किटनी जाहेरी वा ठाडो उजुरी केही परेको छ त ?’

डीएसपीले भन्नुभयो, ‘किटानी उजुरी केही छैन, घरबेटी हो, चोरी भएको कोठासँग जोडिएको अर्काे कोठामा सुतेकाले यो घटनामा कपिल नै जिम्मेवार छ । हैन भने पनि कपिललाई नै घटनाबारे थाहा छ भनेर हो ।’

डीएसपीको कुरा सुनेपछि कपिल राजनीतिक र सामाजिक व्यक्ति भएकाले सहकारीको त्यति पैसाका सवालमा भागेर कहीँ नजाने हुँदा बाहिर राखेर अनुसन्धान गर्नुहोस् भनेर म, रोहित खड्का र कोसिसले विनम्रतापूर्वक अनुरोध गर्‍यौं ।

डीएसपीले हिरासतमा लिएरै कारबाही गर्ने अडान दोहोर्‍याउनु भएपछि मैले भने, ‘त्यसो भए कपिलसँग भाइ (कोसिस)लाई भेट्ने मौका दिनोस् । कोसिसको प्रयासले अनुसन्धानमा केही मद्दत होला ।’

त्यो आग्रह डीएसपीले मान्नुभयो । अनुमतिपछि कोसिसले कपिललाई छुट्टै भेट्नुभयो । भेटेर फर्किएपछि कपिलको भनाइलाई कोसिसले डीएसपीलाई सुनाउनु भयो, ‘कान्छा (कोसिस) मेरो गल्ती केही छैन, मलाई फसाउन खोजिँदैछ, सहकारीको बदमासी लुकाउन चोरीको घटना बनाइएको हुनसक्छ । मेरो दोष देखिएमा जिल्ला प्रहरीमै आत्मदाह गरिदिन्छु ।’

करिब एक घण्टासम्म छलफल गर्दा पनि डीएसपीको अडान कायमै रहेपछि प्रहरी कार्यालयबाट हामी हिँड्यौं ।

तेस्रो दिन

कपिलका आफन्त र गाउँले चरिकोट आउनुभयो । कपिलले अनायासमा दु:ख पाइरहेको कुरा नेकपा एमाले जिल्ला कार्यालयमा हामीलाई पनि सुनाउनुभयो । सहकारीका विविध गडबडीबारे जानकारी गराउनुभयो । त्यसपछि पार्टी अध्यक्ष नरबहादुर श्रेष्ठले सीडीओ र डीएसपीलाई कपिलका बारेमा कुरा गर्नुभयो । त्यो दिन अरू नै घटनाले डीएसपी व्यस्त भएको सुन्नमा आयो । कपिलका सम्बन्धमा कुनै छलफल हुन सकेन ।

चौथो दिन

‘कपिल दाइ’ आफन्तको जिम्मामा हिरासतबाट मुक्त भएको कुरा भाइ कोसिसले फोनबाट सुनाउनुभयो । अब बाहिर बसेर घटनाको यथार्थ पत्ता लगाउने बताउँदै कोसिसले फोन राख्नुभयो ।

पाँचौं दिन

कपिलले सदरमुकाम चरिकोटमा केहीसँग भेट्नुभयो । एमाले पार्टी कार्यालयमा अध्यक्ष नरबहादुर श्रेष्ठसँग आफू निर्दोष रहेको स्पष्ट पार्नुभयो । राजनीति गर्नेलाई अनेक आइपर्ने हुँदा हर समस्याको फेस गर्न तयार हुनुपर्छ भन्दै सम्झाउनुभयो ।

छैठौं दिन

कपिल गृहगाउँ पवटीस्थित पुरानो घर पुग्नुभयो । परिवारसँग भेट्नुभयो । आफू निर्दोष भएकोले हल्लाको विश्वास नगर्न परिवारलाई आग्रह गर्नुभयो ।

सातौं दिन

बिहानै फेसबुकमा दुल्खद हल्ला फैलियो । अनर्थ भएको फोनहरू आउन थाले । कपिलले फेसबुक वालमा लेखेको स्टाटसलाई विभिन्न व्यक्तिले कपी पेस्ट गर्दै दु:ख व्यक्त गरेको देखिँदै गयो । तत्काल कोसिसलाई फोन गरें । उहाँले हल्ला सही भएको पुष्टि गर्नुभयो । भारतको गोरखपुरतिरको यात्रामा काठमाडौंबाट निस्किएको म अलमल्ल परें । कपिलबारे घटना थप पुष्टि हुँदै गएपछि मन गह्रुगो हुँदै गयो । फोन हातबाट सीटमा खस्दै गाडीको भुईंमा बज्रियो ।

‘हैट ! नराम्रो सुनियो’, सँगै यात्रा गर्ने साथी (श्याम केसी)लाई सुनाए, ‘हाम्रो जिल्ला कमिटीका नवनिर्वाचित सदस्य, निवृत्त स्वास्थ्यकर्मी, समाजसेवी, व्यापारी एक युवा राजनीतिकर्मी कपिलको अन्त्य भयो । नेकपा एमाले दोलखाले एक आशलाग्दो युवा गुमायो । मेलुङ पालिका र पवटीले अपूरणीय क्षति व्यहोर्‍यो ।’

रमाइलो डाँडा र कपिल

पवटीस्थित रमाइलो डाँडालाई रमाइलो बनाउने कपिल अस्ताउनु एक घटना हो । तर, उनले किन भयङ्कर गल्तीको निर्णय लिए भन्ने अहम् प्रश्न छ । तीन दशकदेखि त्यही रमाइलो डाँडामा बसेर सर्वसाधारणको उपचार गरेर होस्, व्यापार गरेर होस्, राजनीति गरेर होस्, कपिलले सेवा गर्नुभएको थियो । गाउँलेको हर कार्यमा कपिल हुन्थ्यो र केही साथ सहयोग गरेकै हुन्थ्यो । सेवा र राजनीतिमा दौडँदा परिस्थितिले मानिसलाई कहिलेकाहीँ लेनदेनको खोट लाग्छ, त्यो खोट मेटाउने गरी कपिलले बन्दोबस्त गर्दै गरेको पनि देखिन्छ । सबै कुरा मिल्दामिल्दै त्यो रमाइलो डाँडो उराठलाग्दो बनाउँदै कपिलले अति अमूल्य जीवन गुमाउनुभयो ।

पृथ्वीबाट गलत बाटोबाट बिदा लिने निर्णय गर्नु कुनै पनि प्राणीका लागि आफैंमाथि गरेको जघन्य अपराध पनि हो । किनकि कुनै देवता, धर्म, दर्शन या विज्ञानको चमत्कारले पनि यो सुन्दर पृथ्वीमा फर्कने बाटो छैन । गएपछि गयो, फर्कौला भन्ने सोच्नु बेकार पनि छ । त्यसैले परिवर्तनका लागि योगदान गरिरहेका योद्धाहरूले अमूल्य जीवनको अझ ध्यान दिन जरुरी छ । कारण उससँग परिवारमात्र हैन, देश, जनता, छरछिमेक समेतको जिम्मेवारी जोडिएको हुन्छ । ऊ मर्दा देश, जनता र छरछिमेक पनि मरेसरह हुन्छ । त्यसैले चिनियाँ महान नेता माओले भन्नुभएको छ, ‘कसैको मृत्यु प्वाँख जतिको हलुका हुन्छ भने कसैको मृत्युु पहाड जतिको गह्रुङ्गो हुन्छ ।’

कपिल तपाईंको मृत्यु ‘त्यो रमाइलो डाँडा’ जतिकै गह्रुङ्गो भएको हामीले ठानेका छौं ।

एमालेभित्र कपिल

एमाले दोलखाको १०औं अधिवेशनका लागि मेलुङ- १ को प्रतिनिधि छनोटको निर्वाचनमा कपिल विजयी हुनु स्थानीय स्तरमा नेता स्वीकार गरेको संकेत गर्छ । र, जिल्ला कमिटीको निर्वाचनमा आमकार्यकर्ताले बढी मत दिएर सदस्य पदमा विजय गराउनु एमाले जिल्लास्तरमा कपिललाई स्थापित गराउन प्रतिनिधिले चाहेको बुझ्न सकिन्छ ।

नेकपा एमाले दोलखाले जारी गरेको विज्ञप्तिमा कपिललाई एक राजनीतिक र सामाजिक अथक योद्धा भनिएको छ । चोरी भएको भनिएको सहकारीलाई घर भाडामा दिने घरबेटी भएवापत कपिललाई पक्राउ गरेर अनावश्यक छानबिन गरी दु:ख दिनुलाई प्रहरी र प्रशासनको कमजोरी भनेको छ । यसैका कारण सामाजिक मर्यादामा रहेका व्यक्ति हतास भै दु:खद घटना भएको उल्लेख छ ।

अनुसन्धानको सवाल

सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३२-३३ लाख अनुमान गरिए पनि डीएसपीको भनाइमा १२-१४ लाख चोरी भएको अनुमान छ । कसैले उजुरी नगरेको अवस्थामा प्रहरीको शंकाको भरमा मात्र हिरासतमा बस्नुपरेको अवस्थालाई कपिलले ठूलै चोट अनुभूति गर्नुभएको थियो ।

हुन त अनुसन्धानको विभिन्न तरिका हुन्छन् । एमालेको अधिवेशन प्रतिनिधि छनोटको चुनावमा कपिलले जित्नेबित्तिकै उक्त सहकारी चोरी भएको कुरा बाहिर ल्याइएको थियो । उक्त घटनामा प्रहरीले सोधपुछ सुरू गरिरहेका बेला एमालेको जिल्ला अधिवेशन निर्वाचनमा कपिलले विजय प्राप्त गर्नुभएको थियो । कपिलमाथि सोधपुछ र पक्राउ गरिँदा उक्त पाटोलाई पनि जोडेर प्रहरीले अनुसन्धान अघि बढाउनु पर्थ्यो । कपिलको सवालमा अनुमानको भरमा प्रमाणविना नै घटनाको पूर्णत: दोषी ठानेर अनुसन्धान शुरू गरिनुमै त्रुटि देखिन्छ । अर्कोतर्फ कुनै प्रमाण फेला नपरेपछि कपिललाई हिरासतमुक्त गर्न बाध्य हुनुले प्रहरीकाे कमजोरी पुष्टि गर्छ ।

अबको बाटो

कमरेड कपिल फर्कनु हुन्न । उहाँको योगदानलाई भुल्नु पनि हुन्न । उहाँले लिएको भयङ्कर गलत मृत्युको बाटोलाई कसैले नपछ्याऊन् भनेर भन्नु पनि पर्छ । यदि उहाँलाई मृत्युको भयङ्कर गलत निर्णयमा पुग्न बाध्य कसैले बनाएको हो भने दुरूत्साहन अपराध लाग्नुपर्छ । सहकारी चोरीको अनुसन्धान विशेष टोली झिकाइ हुन जरुरी छ । फेरि अरु कपिलहरू नअस्ताउने गरी दु:खद घटनाको चिरफार हुनुपर्छ । कानूनी बाटोबाट दोषीलाई कारबाही गर्न दबाब सिर्जना गर्नुपर्छ । भैसकेको घटनापछि सिर्जित आक्रोश, आवेग र पीडालाई कम गर्दै लानुपर्छ । यसमा राज्य प्रशासन जिम्मेवार हुनुपर्छ र दुखित पक्ष संयमित ढंगले न्यायको खोजीमा अघि बढ्नुपर्छ ।

परिवारजन र शुभेच्छुकहरूमा समवेदना ! कपिलप्रति हार्दिक श्रद्धाञ्जली !

(लेखक नेकपा एमाले दोलखाका उपाध्यक्ष हुन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *