निर्वाचन नगरी नेतृत्व घोषणा गरेपछि ट्रक समितिमा विवाद – Nepal Press

निर्वाचन नगरी नेतृत्व घोषणा गरेपछि ट्रक समितिमा विवाद

रुपन्देही । तीन दिनअघि सर्वसम्मत नेतृत्व चयन भएको भनिएको पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलमा नेतृत्व चयनको विषयमा विवाद निकालेर व्यवसायीहरु सडकमा आएका छन् ।

फागुन ३ गते समितिको २३ औं साधारणसभा तथा ४ गते १३ औं अधिवेशनमा सर्वसहमतिको नाममा ३ जना पूर्व अध्यक्षको समितिले आर्थिक अनियमितता गरेकोलाई नेतृत्व हस्तान्तरण गरेको असन्तुष्ट पक्षले विरोध गरेको छ ।

सर्वसम्मतरुपमा स्वच्छ छविको नेतृत्व ल्याउनका लागि पूर्वअध्यक्ष अजुन रानाभाटको संयोजकत्वमा लोकराज पोखरेल र गुप्तबहादुर केसी सदस्य रहेको समिति गठन गरेको र सो समितिले षडयन्त्रपूर्वक एकलैटी रुपमा आर्थिक अनियमितता गरेका टिकाराज गौतमलाई नेतृत्व हस्तान्तरण गरेको भन्दै यसअघि नेतृत्वमा रहेकाहरुले नै आपत्ति जनाएका हुन् ।

सोमबार पश्चिमाञ्चल यातायात व्यवसायी समितिको कार्यालयअघि निवर्तमान वरिष्ठ उपाध्यक्ष प्रतापबहादुर कार्की र निवर्तमान उपाध्यक्ष गणेश घिमिरे लगायतको समूहले पूर्वअध्यक्षहरुको नेतृत्वमा गठित समितिले कार्यसमितिभित्रका इमान्दार र स्वच्छ छवि भएका व्यक्तिलाई निर्वाचित गराउनुपर्नेमा व्यवसाय छाडिसकेका र विभिन्न विवादमा परेका व्यक्तिलाई नेतृत्वमा मनोनित गरी एकलौटी गरेको र यो निर्णयमा निर्वतमान कार्यसमितिमा रहेका बहुमत सदस्य व्यवसायीहरु विरोधमा रहेको दावी गरे।

मनोनित गरिएका टिकाराम गौतम विभिन्न समयका दुर्घटनामा भएका गाडीका कागजपत्र फेल भएका गाडीलाई कमिशनको भरमा लगानी गरी संस्थाको ठूलो धनराशी हिनामिना गरी भ्रष्टाचार गरेका प्रर्याप्त प्रमाण हुँदाहुँदै अध्यक्षमा स्वीकार गर्न नसक्ने निवर्तमान उपाध्यक्ष प्रतापबहादुर कार्कीले बताए ।

साथै निवर्तमान उपाध्यक्ष गणेश घिमिरेले नियम विपरीत फाइलहरु खडा गर्ने, संस्थाको रकम आफ्नो व्यक्तिगत प्रयोजन प्रयोग गर्ने लगायतका अनैतिक कार्य गरेको पनि छानविन गर्नुपर्ने बताए । आफूहरु पूर्वअध्यक्षबाट घोषित समितिलाई कुनै पनि हातमा स्वीकार गर्न नसक्ने घिमिरेले बताए । आफूहरुको चाहना स्वच्छ छवि भएको व्यक्ति आउनुपर्ने भन्ने रहेको बताए । माग सम्बोधन नभए कडा कदम चाल्ने उनीहरुले चेतावनी दिएका छन् ।

सोमबार कार्यालय परिसरमा जम्मा भएका व्यवसायीहरुले समितिमा निर्वाचन नगराई पटक पटक भ्रष्टाचारको विषयमा मुछिएका व्यक्तिहरुलाई नेतृत्व दिइएको भन्दै त्यसको छानविन नभए अहिलेको समितिलाई आफ्नो मान्य नहुने बताए । उनीहरुले अध्यक्ष गौतममाथि नै त्यो विषय उठेको तर साधारण सदस्यहरुलाई कुनै जानकारी नै नदिई नेतृत्व घोषणा गरेर आफ्नो अपमान भएको बताए ।

व्यवसायी महेन्द्र कार्कीले हालै नवनिर्वाचत अध्यक्ष गौतम पदमा रहँदा यसअघि ०७५ असोज २१ गते दुर्घटना भएको सवारीको विमाबाट समेत मुद्धा हारेको र उक्त फाइल नं। ८० बाट ८ लाख ३३ हजार भ्रष्टाचार गरेको भन्दै त्यो आरोपको टुंगो नलाग्दासम्म अध्यक्षमा स्वीकार गर्न नसक्ने बताए । निर्वाचन मण्डललाई विलबुकमा फोटो भएपनि कमाई खाने गाडी नभएका, विवादमा नआएका व्यक्तिलाई नेतृत्वमा ल्याउन म्यानडेट दिएपनि उक्त प्रतिबद्धता जनाएजस्तो नेतृत्व नआएको भन्दै उनले अध्यक्ष गौतम बाहेक अरुको नेतृत्वका बारेमा आफूहरुले सोच्न सकिने बताए ।

साथै उनले निर्वाचन समितिबाट आफूहरुलाई धोका भएको समेत बताए । उनले मतदान गर्न पाउने अधिकारलाई बञ्चीत गरेर पद नखुलाई फाराम भराएर आकांक्षीहरुलाई नेतृत्व बाहिर राख्ने काम गरेको बताए । त्यस्तै अर्का व्यवसायी डिल्लीराम रिजालले निर्वाचन मण्डलले निष्पक्ष निर्णय गर्नका लागि अधिकार दिएपनि विलबुकेहरुलाई नेतृत्वमा ल्याइएको बताए । साथै उनंले नीतिगत भ्रष्टाचार गर्नेहरुले संस्थालाई अगाडि बढाउन नसक्ने समेत बताए ।

समितिको हालै मात्र भएको निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा कमल घिमिरे, उपाध्यक्ष खुल्लामा कृष्ण ठकुरी, उपाध्यक्ष रुपन्देही बसन्ती आले र नारायणप्रसाद रेग्मी, नवलपरासी उपाध्यक्षमा खुमबहादुर विसी, नवलपुर उपाध्यक्षमा शाभाकान्त पाण्डेय, काठमाण्डौ उपाध्यक्षमा देवेन्द्र वानिया, गुल्मी, पाल्पा, स्याङजा उपाध्यक्षमा निरज केसी, कपिलवस्तु, अर्घाखांची उपाध्यक्षमा उज्वल केसी, महासचिव खिमबहादुर थापा, सचिव बसन्त खड्का, कोषाध्यक्ष शंकर लम्साल सर्वसम्वत रुपमा निर्वाचित भएका थिए । त्यस्तै समितिको सदस्यमा दुर्गाबहादुर कार्की, काशीनाथ पोखरेल, भूमिराम गैरे, ठाकुर खड्का, रनबहादुर कंडेल, हुमनाथ आचार्य, गोकुल शर्मा, खगेश्वर काफ्ले, रमेश भुसाल र राजकुमार लामा निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष टिकाराम गौतमले आफूले रकम नलिएको तर बिमाबाट ल्याउन नसकेर कमजोरी भएको स्वीकार गरे ।
‘बिमामा समस्या परेर रकम रोकिएको हो, शिखर इन्सोरेन्समा समस्या परेको हो, रकम नआएको सत्य हो । पेश्की गएको छ रकम आएको छैन । समितिको नेतृत्वका हिसाबले जिम्मेवारी लिनुपर्छ तर त्यसलाई मैले खाएको भन्न त भएन नि’ उनले भने ।

निर्वाचनको विषयमा नसमेटिएका व्यवसायीको असन्तुष्टि रहेको उनले बताए । ‘कार्यसमितिले निर्णय गरेर व्यवसायीहरुको भेला गरेर पूर्वअध्यक्षहरुको समिति बनाएर साधारणसभामा पेश गरेर पारित गरेर जिम्मेवारी दिएको समितिले नेतृत्व घोषणा गरेको हो’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर