गर्भावस्थाको शुरूमै वाकवाकी र बान्ता भए के गर्ने ? – Nepal Press

गर्भावस्थाको शुरूमै वाकवाकी र बान्ता भए के गर्ने ?

महिलामा गर्भ शुरूको समयमै हुने वाकवाकी र बान्ता, जसलाई अंग्रेजीमा मर्निङ सिक्नेस भनिन्छ, यो समस्या प्रायजसो गर्भवती महिलालाई देखिनु सामान्य हो । महिलाको महिनावारी बन्द भएर वाकवाकी शुरु हुनु गर्भवतीको शुरुवाती लक्षण हो, जसलाई घरपरिवारका अन्य सदस्यहरुले पनि गर्भवती भइन् कि भनेर अड्कल गर्न थाल्छन् । तर, कहिलेकाहीँ पेटसम्बन्धी र अरु समस्याको कारणले पनि यस्तो हुनसक्छ ।

विभिन्न अध्ययनअनुसार अन्दाजी ७० देखि ८० प्रतिशत गर्भवती महिलालाई यो समस्या देखिने गरेको छ । तथापि अंग्रेजीमा मर्निङ सिकनेस भनेर बुझिए तापनि कतिपय महिलाहरुमा यो समस्या बिहानदेखि बेलुकासम्म पनि भइराख्ने हुन्छ । यस समस्या मुख्यतया गर्भावस्थाको पहिलो ३ महिनासम्म हुने गर्छ । जुन गर्भावस्थाको ६ देखि ८ हप्तामा शुरु भई १२ देखि १४ हप्तामा प्रायः महिलाहरुमा विस्तारै कम हुँदै जान्छ । तर, कहिलेकाहीँ महिलालाई गर्भावस्थाको अन्तिम समयसम्म पनि हुने गर्छ । यो समस्या गर्भवती महिलाहरुमा साधारणतया सामान्यदेखि जटिल अवस्थासम्म देखिन सक्छ । कतिपय महिलामा मुखबाट खाएको कुनै पनि खाना पेटमा नरहने गरी बान्ता हुने गर्छ । यो अवस्थालाई जटिल समस्याको रुपमा लिइन्छ । यस समस्यालाई अंग्रेजीमा हाइपरइमेसिस ग्राभिडरम भनेर बुझिन्छ ।

यो समस्या हुनुको कारण ठोकुवासाथ यही हो भन्न सकिँदैन । तर, विभिन्न कारणहरुले हुनसक्छ भनेर विश्वास गरिन्छ । तर पनि गर्भवती महिलाहरुको शरीरमा बढिरहेको हर्मोन कोरिवनिक गोनाडोट्रोपिनको कारणले समस्या ल्याएको मानिन्छ । यो हर्मोनलाई गर्भावस्थाको हर्मोन भनेर पनि चिनिन्छ । साथै जो महिलाहरुमा मानसिक रुपमा तनाव तथा चिन्ता बढी छ, त्यस्ता महिलाहरुमा यो समस्या देखिने सम्भावना हुन्छ । त्यस्तै शरीरमा ग्लुकोजको मात्रामा कमी भएर पनि वाकवाकी लाग्नसक्छ ।

विभिन्न किसिमका गन्धहरुले पनि समस्यालाई बढाउने हुन्छ । जस्तैः भान्सामा पकाइरहेको, बाथरुमका गन्धहले पनि गर्भवती महिलाहरुलाई गाह्रो बनाउन सक्छ । गर्भवती समयमा कार्बोहाइड्रेटयुक्त खाना पच्न कठिन हुने कारणले पनि वाकवाकी र बान्ता हुने हुन्छ । साथै सामान्यतः जो महिलाहरुमा यात्रा गर्दा वाकवाकी र बान्ता हुने हुन्छ, त्यस्ता महिलाहरुमा गर्भवती हुँदा पनि वाकवाकी हुने सम्भावना हुन्छ । महिला जसलाई माइग्रेन अथवा टाउको दुख्ने समस्या छ भने पनि त्यस्ता महिलालाई यो समस्या देखिन सक्छ । गर्भवती महिला, जसको गर्भमा एकभन्दा बढी बच्चा जुम्ल्याहा, तिम्ल्याहा छन् भने यस्तो अवस्थामा पनि वाकवाकी र बान्ता हुने सम्भावना बढी हुन्छ ।

आफूलाई जुन गन्धले वाकवाकी बढाउँछ, त्यसबाट सकेसम्म टाढा बस्ने, विशेषतः भान्सामा खाना पकाउँदाको गन्धले प्रायः महिलालाई वाकवाकी बढाउँछ । यस्तो समयमा महिलालाई काममा परिवारका सदस्यहरुले सहयोग गर्नुपर्छ । बस्ने कोठामा पनि हावा आवतजावत हुने खालको हुनुपर्छ । गन्धरहित वातावरण हुनुपर्छ ।

यो समस्या गर्भवती अवस्थाको शुरुका तीन महिनापछि विस्तारै हराउँदै जान्छ भनेर बुझ्न आवश्यक छ । यसको लागि विशेष उपचार आवश्यक पर्दैन । यो समस्या कम गर्न गर्भवती महिलालाई बिहान उठनेबित्तिकै सुख्खा खानेकुरा, जस्तैः बिस्कुट, टोस्ट, रोटी, चिउरा, मकै, भटमास जस्ता खानेकुरा खाएरमात्र ओछ्यानबाट निस्कने सल्लाह दिनुपर्छ । समस्या कम गर्न जस्तैः अदुवा, पुदिना, नून भएको खानेकुरा प्रयोग गर्न सल्लाह दिनुपर्छ । यस्ता चिजहरुले कतिपय महिलालाई वाकवाकी कम भएको अध्ययनहरुले देखाएका छन् । यसका साथै बिहानको समयमा झोल कुरा कम खानुपर्छ । झोल कुरा बिस्तारै दिउँसो हुँदै गर्दा बढाउँदै जाने भनेर सुझाव दिनुपर्छ । खाना खाँदा पनि एकै पटक धेरै नखाने, थोरै थोरै तर बेलाबेलामा खाने र लामो समय पेट खाली नराख्ने सुझाव दिनुपर्छ ।

सादा खाना, जसमा कार्बोहाइड्रेट र प्रोटिनको मात्रा बढी भएको तथा चिल्लो कम भएको खाना खान सल्लाह दिनुपर्छ । आफूलाई जुन गन्धले वाकवाकी बढाउँछ, त्यसबाट सकेसम्म टाढा बस्ने, विशेषतः भान्सामा खाना पकाउँदाको गन्धले प्रायः महिलालाई वाकवाकी बढाउँछ । यस्तो समयमा महिलालाई काममा परिवारका सदस्यहरुले सहयोग गर्नुपर्छ । बस्ने कोठामा पनि हावा आवतजावत हुने खालको हुनुपर्छ । गन्धरहित वातावरण हुनुपर्छ । जस्तैः चुरोटको धूवाँ, परफ्युम, रुम फ्रेसनर आदिको गन्धबाट टाढै बस्नुपर्छ । बिहान उठ्नेबित्तिकै र खाना खानेबित्तिकै दाँत माझ्नाले वाकवाकी बढाउन सक्छ । त्यसैले खाना खाएको कम्तीमा एक घण्टापछि मात्र दाँत माझ्नुपर्छ ।

महिलाहरुलाई अलिक बढी आराम आवश्यक पर्छ । किनकि पर्याप्त आराम पुगेन भने पनि धपेडीले पानी वाकवाकी बढी हुने सम्भावना हुन्छ । कुनै महिलालाई वाकवाकी, बान्ताको कारणले खाना खान समस्या भएको छ भने वाकवाकी रोक्न डाक्टरको सल्लाह लिइ वाकवाकी रोक्ने औषधि सेवन गर्नुपर्ने हुन्छ । कतिपय महिलालाई वाकवाकी, बान्ताले गर्दा केही कुरा पनि खान नसक्ने र पेटमा नरहने गरी जटिल अवस्था देखिन सक्छ । यदि यस्तो समस्या देखिएको छ भने तुरुन्त अस्पतालमा जानुपर्छ ।

(लेखक घिमिरे पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्कुल अफ नर्सिङ एण्ड मिड्वाइफरी (ललितपुर नर्सिङ क्याम्पस) की सहायक प्राध्यापक हुन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर