आगामी चुनावमा गठबन्धन के गर्ने ? देउवा र गगनबीच कुरा नमिलेपछि पदाधिकारीसँग छलफल – Nepal Press

आगामी चुनावमा गठबन्धन के गर्ने ? देउवा र गगनबीच कुरा नमिलेपछि पदाधिकारीसँग छलफल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । महासमितिको बैठकबारे छलफल गर्न देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् ।

प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार बैठक देउवा निवास बूढानीलकण्ठमा बस्नेछ ।

महामन्त्री गगन थापाको सांगठनिक प्रतिवेदनमा चुनावमा गठबन्धन नगर्ने उल्लेख छ । तर, सभापति देउवा चुनावी गठबन्धनबारे अहिल्यै निर्णय गर्न नहुने पक्षमा छन् ।

महासमितिको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘भविष्यमा राजनीतिक गठबन्धन गर्ने वा नगर्ने भन्ने विषय तत्कालीन परिस्थितिमा निर्भर हुने भएको हुँदा पार्टीेले तत्कालीन परिस्थितिअनुसार गठबन्धनको औचित्य सान्दर्भिकतालगायतका विषयमा ठोस मूल्याङ्कन र छलफल गरी त्यसै बेलामा उचित निर्णय लिन सक्नेछ ।’

तर, महामन्त्री थापा अहिले नै गठबन्धन नगर्ने संकल्प गरेर जानुपर्ने अडानमा छन् । अहिले नै चुनावी गठबन्धनबारे घोषणा गर्दा सत्ता गठबन्धनमा तलमाथि हुनसक्ने भय देउवालाई छ ।

यही विषयमा बैठक उद्घाटनअघि पनि बूढानीलकण्ठमा वार्ता भएको थियो । तर, कुरा मिलेन । महामन्त्री थापाले पछि नहड्ने अडान लिएपछि शनिबारदेखिको वार्ता निरन्तर विफल भएको हो ।

देउवाले महामन्त्री थापाको मात्र होइन अर्का महामन्त्री विश्वप्रकाश शर्माले तयार पारेको राजनीतिक प्रतिवेदनबाट पनि कोशीको प्रसंग हटाउन भनेका छन् । शर्माले कोशी प्रकरणपछि जुनसुकै बेलामा गठबन्धन संकटमा पर्नसक्ने उल्लेख गरेका छन् ।

सभापति देउवासहित संस्थापन पक्षका नेताहरू निर्वाचन रणनीतिक हुने भएकाले अहिले घोषणा गरेर जान नहुने पक्षमा उभिएका छन् । देउवाले चुनावमा गठबन्धन गरेर नजाने भन्ने शब्द हटाउन भनेपछि महामन्त्री थापाले आफूले फरक मत ल्याउने चेतावनी दिएका थिए । महामन्त्री थापाको प्रतिवेदनलाई डा. शेखर कोइरालासहित इतर पक्षका नेताहरूले समर्थन गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर