यस्तो छ दूरसञ्चार प्राधिकरण हाँक्ने नयाँ अध्यक्षको राष्ट्रिय-अन्तर्राष्ट्रिय टेलिकम्युनिकेसन र वित्तीय संस्था नेतृत्वको अनुभव – Nepal Press

यस्तो छ दूरसञ्चार प्राधिकरण हाँक्ने नयाँ अध्यक्षको राष्ट्रिय-अन्तर्राष्ट्रिय टेलिकम्युनिकेसन र वित्तीय संस्था नेतृत्वको अनुभव

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारी नियुक्त भएका छन् । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएपछि पद रिक्त भएको थियो ।

लो प्रोफाइलमा रहेर काम गरेका भण्डारी सार्वजनिकरूपमा चर्चामा नआएपनि राष्ट्रिय-अन्तर्राष्ट्रिय टेलिकम्युनिकेसन तथा वित्तीय संस्थामा उनको कामको अनुभवका आधारमा प्राधिकरण हाँक्ने जिम्मेवारी दिइएको बताइएको छ ।

को हुन् भण्डारी ?

विसं २०५४ सालमा त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनतर्फ स्नातक पूरा गरेका भुपेन्द्र भण्डारीले विसं २०६२ मा भारतबाट चार्टर्ड एकाउन्टेन्टको अध्ययन पूरा गरेका हुन् ।

इन्स्टिच्यूट अफ चार्टर्ड एकाउन्टेन्टस भारतबाट विसं २०६२ र इन्स्टिच्यूट अफ चार्टर्ड एकाउन्टेन्टस नेपालको विसं २०६४ मा सदस्यता प्राप्त गरेका उनले भारतमै चार्टर्ड एकाउन्टेन्टस फर्ममा तीन वर्षे अतिरिक्त तालिम पनि लिएका छन् ।

२०५९ सालदेखि नेपालमा बैंकिङ क्षेत्रमा नेृत्वदायी भूमिकामा काम गर्दै आएका थिए । उनले नेपाल श्रीलङ्का मर्चेन्ट बैंक (हाल नविल बैंकमा गाभिएको) मा कम्पनी सचिव एवम् लेखा तथा वित्त प्रमुखको जिम्मेवारी लिएर वित्त तथा व्यवस्थापन क्षेत्रको नेतृत्व सुरु गरेका थिए ।

त्यसको एक वर्षपछि उनले नेपालको दुर्गम मानिने मध्यपश्चिम क्षेत्रको नेपालगञ्जमा पहिलो विकास बैंकको रुपमा कर्णाली विकास बैंक स्थापनामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै बैंकको संस्थापक बोर्ड सचिव तथा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाले ।

सशस्त्र द्वन्द्वका बीचमा ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्दै कर्णाली विकास बैंकलाई सफल बनाउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरेको जानकारहरू बताउँछन् । त्यसको दुई वर्षपछि विसं २०६२ मा सीएससी एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्टसमा वरिष्ठ लेखापरीक्षकको रुपमा काम गरेका भण्डारीले एक वर्षपछि पशुपति विकास बैंक (हाल हिमालयन बैंकमा गाभिएको) मा प्रमुख कार्यकारीको रूपमा जिम्मेवारी सम्हालेका थिए । पशुपति विकास बैंकको नेतृत्वमा आएसँगै भण्डारीले चार वर्षअघि सञ्चालनमा आएर पनि लाभांश नदिएर समस्याग्रस्त बनेको बैंकमा खराब वित्तीय स्थितिको व्यापक सुधार गरी एक वर्षभित्रै लाभांश दिने अवस्थामा पुर्‍याएका थिए ।

नवनियुक्त अध्यक्ष भण्डारीले भारतमा रहँदा पञ्जाव नेश्नल बैंक, कर्पोरेशन बैंक, इण्डियन आयल कार्पोरेशनजस्ता स्थापित निकायमा लेखापरीक्षणको अनुभव प्राप्त गरिसकेका छन् । नेपाल र भारतमा विभिन्न निकायको कर तथा लेखा परीक्षणमा सल्लाहकारको भूमिका पनि निर्वाह गरेको अनुभव पनि उनीसँग छ ।

चार वर्ष वर्ष बैंकिङ क्षेत्रको कुशल नेतृत्व गरेका उनले विस २०६४ देखि दूरसञ्चार क्षेत्रको नेतृत्वदायी भूमिकामा छन् । स्पाइस नेपाल प्रालि (मेरो मोबाइल) मा नायव प्रमुख वित्तीय अधिकृतको रुपमा सात महिना दूरसञ्चार क्षेत्रको नेतृत्व गरेका भण्डारीले सोही वर्षदेखि दूरसञ्चार क्षेत्रकै अन्तर्राष्ट्रिय अनुभव सुरु गरेका थिए ।

विस. २०६४ मा अफ्रिकी मुलुक बुरुण्डीस्थित मोबाइल अप्रेटर कम्पनी लासेलको प्रमुख कार्यकारी अधिकृत बनेका भण्डारीले विसं २०७२ सालसम्म आठ वर्ष सोही कम्पनीको नेतृत्वमा समय दिएका थिए । उनले रुग्ण कम्पनीको नेटवर्कसुचारुसँगै तीन वर्षमै कम्पनीलाई नाफामा पुर्‍याएका थिए । काम थालेको चार वर्षमै लासेल बुरुण्डीको दोस्रो नम्बरको कम्पनी बन्न सफल भएकोमा उनैलाई श्रेय दिइन्छ ।

विसं २०७२ देखि २०७३ सम्म सिरायलिवनको इन्टरग्रुप टेलिकमको प्रमु्ख कार्यकारी अधिकृतको रुपमा नेतृत्व गरेका भण्डारी सोही वर्षको अन्तिमतिर पुनः बुरुण्डी मोबाइल नेटवर्क कम्पनी लासेलको कन्सल्ट्यान्टको भूमिका निर्वाह गरे । दश वर्ष लामो अन्तर्राष्ट्रिय अनुभव र दूरसञ्चार क्षेत्रको कुशल नेतृत्व गरेर विसं २०७४ मा उनी नेपाल फर्किएका हुन् । नेपाल फर्केपछि भण्डारी सूचना तथा सञ्चार प्रविधि क्षेत्रको नवीन विधा फिनटेकतर्फ प्रवेश गरे । उनी आफैले पे नेप प्राली स्थापना गरेर २०८० जेठसम्म (छ वर्ष) त्यसको कुशल नेतृत्व पनि गरे ।

२०८० असारमा भण्डारीको जिम्मेवारी बदलियो । मन्त्रिपरिषद्को निर्णयअनुसार भण्डारीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सञ्चार तथा सूचना प्रविधि सल्लाहकारको जिम्मेवारी सम्हाले । दूरसञ्चार तथा सूचना प्रविधि क्षेत्रमा अब्बल भण्डारीको प्रवेशले सञ्चार मन्त्रालयका प्राथमिकता नै बदलिएको उनको दाबी छ । लामो समयदेखि मन्त्रालयभित्र रहेका विभिन्न निकायको अनियमिताको औपचारिक अध्ययनमार्फत छोटो समयको बीचमा भण्डारीले नेपालको दूरसञ्चारको क्षेत्रमा सुशासनको सुरुवात गर्न महत्वपूर्ण योगदान दिएको उनले बताए ।

टेरामक्स, एमडीएमएस जस्ता प्रविधि जडानको बेलामा भएका भनिएका अनयिमतिताको गहिरो अध्ययन तथा प्रतिवेदन तयार, अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली संशोधन, फ्रिक्वेन्सी नीति परिवर्तन, इन्टरनेट सेवा प्रदायकबाट भएका भनिएका कर छली र पूँजी पलायनका घटनाको शुक्ष्म अध्ययन जस्ता सुशासनका सवालमा भण्डारीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

नेपालमा सूचना प्रविधि क्षेत्रमा भए गरेका बेथिति कानूनको परिधिभित्र ल्याई राष्ट्रको हितमा हुने गरी यो क्षेत्रबाट देशको अर्थतन्त्र र रोजगारी वृद्धिमा योगदान दिनुका साथै भरपर्दो तथा उच्च गुणस्तरको टेलिकम सेवाको सुनिश्चितता गरेर अगाडि बढ्ने साथै नेपालमै बसेर राष्ट्रको सेवा गर्ने दृढ संकल्प र उच्चमनोबलका साथ काम गर्दै आएको भण्डारीको दाबी छ ।


प्रतिक्रिया

2 thoughts on “यस्तो छ दूरसञ्चार प्राधिकरण हाँक्ने नयाँ अध्यक्षको राष्ट्रिय-अन्तर्राष्ट्रिय टेलिकम्युनिकेसन र वित्तीय संस्था नेतृत्वको अनुभव

  1. अनुभव सनुभव जे भए पनि यिनले गर्ने काम भनेको नियुक्ति पाउँदा बुझाएको उठाउने हो । काम त सुप्रिमोको त यो हालत छ अरूको के होला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *