माओवादी नेताहरुलाई मैनालीको चेतावनी- शहीदहरुको भागबन्डा नगर्नुस् – Nepal Press

माओवादी नेताहरुलाई मैनालीको चेतावनी- शहीदहरुको भागबन्डा नगर्नुस्

कठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका उपाध्यक्ष जीपी मैनालीले जनयुद्धका शहीद, वेपत्ता परिवार र घाइतेहरुको भागबन्डाको राजनीति नगर्न सबै धाराका माओवादी नेताहरुसँग आग्रह गरेका छन् ।

नेकपा निकट विद्यार्थी संगठनको आइतबार भएको राष्ट्रिय सम्मेलनमा उपाध्यक्ष मैनालीले सबै धाराका माओवादी मिलेर उपलब्धिको रक्षा गर्नुपर्नेमा जोड दिए ।

‘जनयुद्धका शहीद, बेपत्ता परिवार र घाइतेको भागबन्डा राजनीति नगरौं । ती सबै माओवादीका साझा सम्पत्ति हुन् । सबै मिलेर जनयुद्धका उपलब्धिको रक्षा गर्ने दायित्व हामी सबैको हो’, मैनालीले भने, ‘ठूला नेताहरुबीच के कुरामा मनमुटाव छ, तपाईंहरु नै मिलाउनुस् । हाम्रो आग्रह छ– शहीद, बेपत्ता परिवार र घाइतेलाई बाँडेर उहाँहरुको सपनामाथि खेलवाड नगर्नुस् ।’

उनले यो वा त्यो बहानामा सबै धाराका माओवादी नेता–कार्यकर्तामाथि मुद्दा मामिला गर्ने प्रपञ्च भएको भन्दै सबै मिलेर त्यसको प्रतिरोध गर्नुपर्ने बताए ।

उपाध्यक्ष मैनालीले माओवादी नेता-कार्यकर्ताका मुद्दामा चासो राख्ने न्यायालयले तत्कालीन राज्य पक्षबाट भएका गम्भीर मानव अधिकारविरोधी घटनालाई नजरअन्दाज गरेको देखिन थालेको बताए ।

‘न्यायालयका निर्णयमाथि प्रश्न उठाउन खोजिएको होइन । तर, हाम्रो मनमा प्रश्न छ- माओवादीलाई अपराधीकरण गर्न खोज्नेहरुले राज्य पक्षका अपराधमा किन मुख खोल्दैनन् ?’, उनले भने, ‘यसकारण पनि तेरो-मेरो नभनी सबै धाराका माओवादी नेता-कार्यकर्ताको रक्षा हामी सबैको दायित्व हुनुपर्छ ।’

मैनालीले सडक, सदन र सरकार जहाँ पनि माओवादीको प्रभावकारी उपस्थिति रहेको बेला सबै मिलेर समाजवादी दिशामा अगाडि बढ्नुपर्नेमा जोड दिए ।

‘हामीले आजको मात्र होइन, भविष्यको लागि पनि राजनीति गर्ने हो । त्यसैले सबै एकजुट भएर समाजवादी दिशामा अगाडि बढौं, यही नै आज सबै माओवादीको कार्यभार हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर