एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै – Nepal Press

एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै

जनकपुरधाम । मधेश प्रदेश सरकारलाई दिएको समर्थन नेकपा एमालेले पनि फिर्ता लिने भएको छ । मधेशमा २४ सांसद भएको एमाले सबभन्दा ठूलो दल हो ‌। एमालेले नै जसपा संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री बनाएको थियो ‌। तर सत्ता परिवर्तनसँगै कांग्रेस सरकारमा सहभागी बने र एमाले सरकार छाडे ।

सरकार छाडे पनि एमालेले समर्थन फिर्ता लिएन । मुख्यमन्त्री यादवलाई दोस्रो पटक पनि विश्वासको मत दियो । तर मुख्यमन्त्रीले जनताको आकांक्षा बमोजिम काम गर्न नसकेको निष्कर्ष निकाल्दै एमाले सरकारबाट समर्थन फिर्ता लिन लागेको छ ‌‌।

एमाले मधेशका संसदीय दलका नेता सरोज कुमार यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका छन् । उनले नेपाल प्रेससंग भने, ‘मुख्यमन्त्री ज्यूले हामीसँग विश्वासको मत पनि माग्नु भ एको छैन ‌। आज १२ बजे संसदीय दलको बैठक छ । सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय हुनसक्छ।’

एमालेका अर्का सांसद शत्रुधन प्रसाद सिंहले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय संसदीय दलको बैठकबाट हुनसक्ने बताए । उनले जसपा नेतृत्वको सरकारको काममा असन्तुष्टि जनाए ।

जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएर दुई मन्त्रीलाई समेत फिर्ता बोलाइसकेको छ । त्यसैले मुख्यमन्त्री यादव आज विश्वासको मत लिन लागेका छन् । एमाले र जनमतले विश्वासको मत नदिए पनि सरकार ढल्ने छैन ।

अहिले जसपा नेतृत्वको सरकारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोसपा सहभागी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर