शर्मिलालाई कृष्ण कँडेलको प्रश्न- मैले ह्यारेसमेन्ट गरेको भए हिजो किन ‘भगवान् दाइ’ भन्दै हिँड्नुभयो ? – Nepal Press

शर्मिलालाई कृष्ण कँडेलको प्रश्न- मैले ह्यारेसमेन्ट गरेको भए हिजो किन ‘भगवान् दाइ’ भन्दै हिँड्नुभयो ?

काठमाडौं । इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलले आफूमाथि लगाइएका आरोपबारे पत्रकार सम्मेलनमार्फत जवाफ दिएका छन् । उनले कुनै पनि कलाकारमाथि शोषण र दुर्व्यवहार नगरेको बताए ।

इन्द्रेणीबाट हटाइएका ६ जना कलाकारले आफूहरूलाई अन्यायमा पारिएको भन्दै कँडेलविरुद्ध पत्रकार सम्मेलन गरेका थिए । उनीहरूमध्ये शर्मिला श्रेष्ठले आफूमाथि कँडेलले ‘ह्यारेसमेन्ट’ गरेको आरोप पनि लगाएकी छन् । कँडेल आफ्नो कोठामा जान खोजेको तर आफूले नलगेपछि काममा पेल्न थालेको उनको आरोप छ ।

इन्द्रेणीको टीमसहित उपस्थित भएका कँडेलले आफूमाथि लागेका अधिकांश आरोप इन्कार गरे । युट्यूवका क्यामराहरूको भिडबीच उनी भावुकता र आवेशमिश्रित मनोदशामा प्रस्तुत भएका थिए । खासगरी शर्मिलाले लगाएको ‘ह्यारेसमेन्ट’ आरोपमा उनको आक्रोश थियो । उनले शर्मिलालाई ‘आफूले ह्यारेसमेन्ट गरेको भए अहिलेसम्म किन मौन बसेको ?’ भन्दै प्रश्न गरे ।

कँडेलले भने, ‘अहिले जसलाई जे-जे भने पनि हुने भयो यो देशमा । शर्मिला बहिनी ! यदि मैले तपाईंलाई ह्यारेसमेन्ट गरेको थिएँ भने तीन वर्ष के हेर्नुभयो भन्नुस् त ? म विदेश जाँदा तपाईं एयरपोर्टमा आएर ‘भगवान् दाइ’ भन्दै ढोग गर्नुभएको थियो । अहिले राक्षस भन्ने हो भने त्यो बेला किन भगवान् भन्नुभयो ? त्यही बेला मलाई तैंले किन यसो गरिस् भन्नु पर्दैन ?’

सबै कर्मचारीको कोठामा जाने गरेको आरोपलाई उनले आंशिक स्वीकार गरे ।

कँडेलले भने, ‘परेको बेलामा काम विशेषले साथीभाइको कोठामा गइयो होला । गइन्छ पनि । त्यसैलाई लिएर ह्यारेसमेन्ट भन्न मिल्छ ?’

आर्थिक कारणले इन्द्रेणीमा कार्यरत कर्मचारीहरुलाई स्थायीरूपमा राख्न नसक्ने भएपछि नयाँ करार गरेको कँडेलले बताए । त्यसैअनुसार आन्तरिक विधान बनाएको र वकिल राखेर सबैलाई हस्ताक्षर गराएको उनको भनाइ छ ।

‘कार्यक्रम भएको बेलामा बोलाउने भनेर सबैलाई एउटै व्यहोरामा सही गराइएको हो, उहाँहरूलाई मात्र होइन,’ कँडेलले भने ।

१० वर्षमा घर बनाइदिने आश्वासन आफूले नदिएको उनले बताए ।

‘इन्द्रेणी त जग्गा लिजमा लिएर चलाइरहेको छु । ५ वर्षपछि के हुने हो टुंगो छैन । मैले कसरी अरुको घर बनाइदिने ठेक्का लिन सक्छु ?’ कँडेलले प्रश्न गरे ।

इन्द्रेणीका गाडी चालककी पत्नीलाई ४ लाख रूपैयाँ दिएको आरोप भने कँडेलले स्वीकार गरेका थिए । उक्त पैसा केका लागि दिइएको भन्ने उनले ठोस जवाफ दिन सकेनन् । आर्थिक पारदर्शीताको विषयमा उठेको प्रश्नमा कँडेलले सबै आयव्ययको लेखापरीक्षण हुने गरेको भनेर पन्छिए ।

कर्मचारीहरूलाई कुटपिट गरिएको आरोप कँडेलले आंशिक स्वीकार गरे । आफूविरुद्ध गालीगालौज र ज्यानकै धम्की दिइएपछि आफ्ना भाइभतिजाले धकेलाधकेल गरेको उनले बताए ।

‘उनीहरूले ममाथि नचाहिँदा आरोप लगाएर आक्रामकरूपमा पेश भएपछि मेरा मान्छेहरू पनि आक्रोशित हुनु स्वाभाविक हो । अलिकति धकेलाधकेल गरेका हुन्,’ कँडेलले भने, ‘त्यस्तो कुटपिट नभै भएको थियो भने त वकिल साब त्यही हुनुहुन्थ्यो, प्रहरीको हवल्दार हुनुहुन्थ्यो । त्यही दिन किन उजुरबाजुर गरिएन ?’


प्रतिक्रिया

2 thoughts on “शर्मिलालाई कृष्ण कँडेलको प्रश्न- मैले ह्यारेसमेन्ट गरेको भए हिजो किन ‘भगवान् दाइ’ भन्दै हिँड्नुभयो ?

  1. कृष्ण कंडेलका गतिविधि स्वभाविक थिएनन्। सुरूमा माओवादीको आडमा त पछि समाज सेवाको आडमा लुट मच्चाइरहेका थिए। पैसा संकलन र वितरण पनि स्वभाविक थिएन। छानविन हुनुपर्छ।

  2. भगवान मन्नेर पुजेकै मान्छेले हो धोखा दिने : ह्यारेस्मेंट होस् वा अरु बर्बादी !!
    कृष्ण कंडेल को धन्दाका ३ आधार :
    १, माओबादि ( प्रचण्डपथ) को बिज
    २. नेपाली सेनामा कन्नेक्सन
    ३. ‘कृष्ण’ भगवान संग मिल्ने नाम
    त्येहा गएर गहिरो गरि बुझ्दा थाहा पाइञ्छ : माओबादिको ढाडस, सेनाको जस्तो सासन : देखाउने ‘कृष्ण’ भित्र कस्तो छ खै धन्दा कस्तो कस्तो !!
    नभनेका मात्र हुन्, सबै कलाकारको हालत उही छ !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *