नाटक मासिन्या : मुद्दामा बलियो, मञ्चमा केही फितलो – Nepal Press

नाटक मासिन्या : मुद्दामा बलियो, मञ्चमा केही फितलो

काठमाडौं । नाटक मुख्यतया प्रस्तुति हो । नाटकले उठाएको मूल विषयलाई कलाकारले प्रस्तुतिमार्फत् उजागर गर्छन् । त्यही नाटकमार्फत् आफूले भन्न खोजेको कुरा सर्जकले पस्कन्छन् । सँगै नाटक अभिनय हो, संवाद हो, ध्वनि हो, प्रकाश हो, मञ्चको साजसज्जा पनि हो । यी सबैको सुन्दर संयोजन भएपछि अन्तिममा नाटक विचार र मुद्दा हो वा दर्शन हो ।

समग्रमा विचार, मुद्दा र अभिनयको प्याकेज हो, नाटक ! विचारले मात्रै वा मुद्दाले मात्रै अथवा अभिनयमात्रैले एउटा नाटक पूर्ण हुन सक्दैन भनिन्छ । सबै कुराको सही तालमेल मिल्यो भने एउटा सुन्दर नाटक बन्छ । दर्शकले उक्त नाटकलाई आत्मसात् गर्न सक्छन् ।

कुनै नाटकमा भावनात्मक रुपमा विचारले वा मुद्दाले जोडिएर कोही दर्शक प्रफुल्लित हुन सक्लान् । भावनात्मक रुपमै अभिनयले तानेर कोही दर्शकले नाटकको आनन्द लिन सक्लान् । तर, पूर्ण नाटकले दर्शकलाई सबै थोकको स्वाद चखाउन सक्नुपर्छ । किनभने नाटक कला पनि हो, जहाँ सबैथोकको तालमेल सही तरिकाले हुन आवश्यक छ ।

गएको माघ ११ गतेबाट नाटक ‘मासिन्या’ थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको छ । नाटकले तामाङ समुदाय ऐतिहासिक रुपले कसरी राज्यद्वारा विभेद र अन्यायमा पारियो भन्ने विषयलाई मूल मुद्दा बनाएको छ । राज्यले कानून नै जारी गरेर तामाङ समुदायलाई कसरी ‘मासिन्या’ बनायो, अनेक षड्यन्त्र र जालझेल गरेर क्रमिक रुपमा तामाङ समुदायलाई कसरी आफ्नै थातथलो छाड्न बाध्य बनायो, नाटक ‘मासिन्या’ले भन्छ । कथित विकासका नाममा राज्यले तामाङहरुको पहिचान कसरी उधिन्यो, नाटक ‘मासिन्या’ले भन्छ ।

गौवधको प्रसंगलाई पनि नाटकले उठाएको छ । भाषाका कारण ‘गाई मार्‍यो, खायो’ अर्थात् ‘गाई मर्‍यो, खायो’ भनेर भनिएको आशयलाई खस नेपाली भाषाले उल्टो बुझिदिँदा निर्दोष तामाङहरु कसरी फसिरहेका छन्, ‘मासिन्या’ले स्पष्ट पारेको छ । जंगलको वरिपरि रहेका तामाङ समुदायले बस्ती छेउको जंगल राष्ट्रिय निकुञ्ज बनेपछि कति सास्ती भोग्नुपर्‍यो, ‘मासिन्या’ले देखाउन खोजेको छ । तामाङ समुदायले भोगेको उत्पीडनको कथालाई ‘मासिन्या’ले सरलीकृत ढंगबाट दर्शकलाई बुझाउन कोेसिस गरेको छ ।

तर, यो टिपोट नाटक ‘मासिन्या’ले उठाएको राजनीतिक र सामाजिक मुद्दाहरु केलाउनलाई गरिएको होइन । ‘मासिन्या’ले तड्कारो रुपमा उठाएको पहिचान र पलायनको विषयलाई उधिन्नेभन्दा पनि ‘मासिन्या’ रंगमञ्चको प्रस्तुति पनि हो भन्ने हेतुले यो टिपोट गर्ने कोसिस गरिएको हो । खासगरी नाटक ‘मासिन्या’ आन्दोलन हो । तर, रंगमञ्चमा मञ्चन भएपछि यो कलाको एउटा प्रारुप पनि हो भन्ने अभिप्राय हो ।

नाटकको सुरुमै जोखनाको दृश्य छ । ‘बोन्बो’ (झाँक्री)ले झारफुक गरेको दृश्यबाट सुरु भएको नाटक विस्तारै पहिचानको मुद्दासँग जोडिँदै जान्छ । नाटकको मुख्य पात्र च्याङ्बाले छोर्तेन बनाउँदै गरेको दृश्य आउँछ । मरिसकेका आपाआमाको सम्झनामा बनाइरहेको छोर्तेन उसको सपना हो । तर, च्याङ्बाको सपनाको बाधक बनेर कथित विकास आइपुग्छ । सडक आइपुग्छ ।

मुख्य रुपमा यो कथा जनयुद्धकालीन समयको हो, विशेष गरेर २०५८/६० साल वरिपरिको । जनयुद्ध उत्कर्षमा हुँदाको कथा हो यो । त्यो समयको कथामा २०६५/६८ सालपछि बहसमा आएको डोजरे विकासको अवधारणा छिरेको छ । डोजरे विकासले गाउँको स्थानीयता, मौलिकता कसरी नाश गरिरहेको छ भनेर ७० को दशकको पूर्वार्द्धबाट बहस सुरु भएको थियो । तर, २०५८/६० सालको कथामै यो प्रसंग जबरजस्ती घुसाइएको छ ।

‘मासिन्या’मा कुनै पनि मुद्दालाई छाड्नुहुन्न, सबै मुद्दालाई ‘टच’ गर्नुपर्छ भन्ने सर्जकीय बुझाइ देखियो । तर, मुद्दाहरुलाई समय क्रमअनुसार सिलसिलेबर बनाउन पनि सकिन्थ्यो, यहाँ नाटक चुकेको छ । नाटकका कलाकारहरुलाई अझै रिहर्सल गराउनुपर्थ्यो । नाटकभरि नै कतै कलाकार अत्यधिक लाउड बनेर गएका छन्, कतै अत्यधिक सुस्त । आवाज कति ठूलो बनाउने, कति सानो बनाउने, कति चर्को बोल्ने, कति सुस्त बोल्ने भन्ने संवाद डेलिभरीमा कलाकारको मनमौजीपना छ । यसले नाटकलाई रुखो बनाएको हो कि भन्ने महसुस दर्शकले गर्न सक्छन् ।

अर्कातिर हजुरआमा छिन्, उनी दर्शकलाई हसाउँछिन् । नाटकभरि नै हजुरआमाको भूमिका फिलरको रुपमा प्रयोग गरिएको छ । हजुरआमाहरु त्यस्तै नै हुन्छन् त ? हल्का गाली मिसाएर बोल्ने, हसाउन सक्नेमात्रै हजुरआमा हुन् त ? हजुरआमा त झनै कथाको ठूलो स्रोत पो होला ! मौखिक र प्रत्यक्ष इतिहासको दस्तावेज पो होला ! ‘मासिन्या’मा च्याङ्बाको पुस्ताले भोगिरहेको जीवन हजुरआमाको पुस्ताले कसरी भोगेको थियो ? उनीहरुको समयमा राज्यको ज्यादती कस्तो थियो । कति त्रासदीपूर्ण समय थियो ? हजुरआमा त यी कुरा भन्न पो होलिन् ! तर, नाटकले फिलरको रुपमा मात्रै प्रयोग गरेको देखिन्छ हजुरआमालाई ।

धामीझाँक्रीमाथिको विश्वास विशेष गरेर ‘बोन धर्म’मा गरिन्छ । यहाँ बोन धर्म जोड्न खोजिएको होइन । तर, झाँक्रीबाट सुरु भएको नाटकको समापन झाँक्रीमै गएर टुंगिएको छ । यसले चाहिँ यथास्थितितिर नाटकलाई धकेलेको हो कि भन्ने महसुस हुन्छ । झाँक्री, धामीप्रतिको विश्वास एकातिर होला तर, च्याङ्बाको पुस्तासम्म आइपुग्दा धामी-झाँक्रीको उपदेयतामाथि नै बहस सुरु भइसकेको थियो (यद्यपि, कुलपितृ र यससित जोडिएको विश्वासको पाटो अलग रह्यो) । तर, ‘मासिन्या’ले झाँक्रीमै लगेर नाटकलाई टुंग्याएको छ । यसमा सर्जकहरुको तर्क होलान् । तर, सरसर्ती हेर्दा यथास्थितिवादतिर धकेलिएको हो कि भन्ने महसुस दर्शकलाई हुन्छ ।

नाटकको पाश्र्वमा तामाङ समुदायको संस्कृति र जनजीवन झल्किने खालको ध्वनिको प्रयोग अझै राम्रोसँग गर्न सकिन्थ्यो । तर, प्रायः काठमाडौंका नाटकघरतिर बजाइने रेगुलर ध्वनिलाई नै कतिपय ठाउँमा प्रयोग गरिएको छ । यसले नाटकलाई तामाङ समुदायको सिंगो सांस्कृतिक प्याकेज बनाउनमा सहयोग गरेको देखिँदैन ।

प्रकाशको संयोजन सुन्दर छ । तर, नाटकमा केही कलाकारले जीवन्त अभिनय गरेका छन् । ‘मासिन्या’ले जुन मुद्दा उठाउन खोजेको हो, त्यसलाई उनीहरुको अभिनयले न्याय पनि गरेको छ (केही लाउड अभिनय बाहेक) । नाटकले गम्भीर मुद्दा उठाएको छ । यो मुद्दा लेखकहरु राजु स्याङ्तान, लक्ष्मी रुम्बा र राबतकै रुचिको विषय हुनसक्छ । तर, नाटकमा सर्जकहरुले उठाउन चाहेको विषय र मुद्दा बढी हावी भएको हो कि भन्ने भान हुन्छ । विचारको रुपमा बलियो नाटकलाई कलाको रुपमा पनि उत्तिकै फैलन दिएको भए ‘मासिन्या’ अझै गजब बन्थ्यो कि भन्ने दर्शकलाई लाग्नसक्छ । ‘मासिन्या’ मुद्दा हेर्न जाने कि नाटकको समग्र सुन्दर रुप हेर्न जाने ? यसको जवाफ चाहिँ ‘मासिन्या’ले दिन सकेको देखिँदैन ।

समग्रमा नाटक सुन्दर छ । सोनाम लामा र बुद्धि तामाङको निर्देशन अब्बल छ । स्याङतान, रुम्बा र राबतले नाटकलाई गहन र गम्भीर बनाउन कुनै कसर बाँकी राखेका छैनन् । रोहनी लामा, शितल थोकर तामाङ, सुलभ पाण्डे, रमिला मोक्तान, सानुमाया तामाङ, इँगिहिपो कोइँच सुनुवारलगायत कलाकारको अभिनय सुन्दर छ । जेडी तमु, सुशील तामाङको कोरियोग्राफी गजब छ । नाटक आउँदो फागुन १२ गतेसम्म मञ्चन हुनेछ ।

नाटक : मासिन्या
लेखन : राजु स्याङतान, लक्ष्मी रुम्बा, राबत
निर्देशन : बुद्धि तामाङ, सोनाम लामा
स्थान : मण्डला थिएटर, थापागाउँ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *