नेपालमा मोनोरेलका लागि दक्षिण कोरियासँग सम्झौता – Nepal Press

नेपालमा मोनोरेलका लागि दक्षिण कोरियासँग सम्झौता

काठमाडौं । नेपालमा मोनोरेल स्थापनाका लागि दक्षिण कोरियासँग सम्झौता भएको छ । नेपाल मोनोरेल केएमई ट्राभल प्रालिका निर्देशक संगीता कुँवर र दक्षिण कोरियाको डेलिम मोनोरलका प्रमुख कार्यकारी अधिकृत सेओङ बू–सियोपबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतामा नेपाललगायत अन्य देशमा मोनोरेल स्थापनाको लागि सामानको उत्पादन, बजार व्यवस्थापन र मर्मत सम्बन्धी कार्य गर्ने उल्लेख छ । कोरियाको राजधानी सउलमा हालै सम्पन्न एक ‘स्पोर्टस ग्लोबल टुरिजम २०२४’ गोष्ठीमा नेपाल मोनोरेलसहित ६ वटा सम्झौता भएका थिए । ‘ड्राइभिङ नेशनल डेभलपमेन्ट’ नारा दिएको उक्त गोष्ठीको कोरियास्थित नेपाली राजदूतावास, ग्लोबल एनआरएन फाउन्डेसन, हान्याङ्ग विश्वविद्यालय र एमआइटी फाउन्डेसनले संयुक्त रुपमा आयोजना गरिएको थियो ।

कार्यक्रममा नेपालको खेलकुद क्षेत्रको प्रवर्धन र विकासको सहकारी ढाँचा स्थापना र पारस्परिक सम्बन्ध विस्तारको लागि दक्षिण कोरियाको कलेज अफ आर्ट्स एण्ड फिजिकल एजुकेशनबीच पनि सम्झौता भएको छ । उक्त सम्झौतामा कलेज अफ आर्ट्स एण्ड फिजिकल एजुकेशनका डीन सेङनो ली र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले हस्ताक्षर गरेका छन् ।

त्यसैगरी सामाजिक कल्याण, संस्कृति आदानप्रदान र पर्यटन प्रवर्धन तथा विकासको लागि कोरियाको दुगेदर कोरिया लभ एण्ड होप स्वयंसेवी समूह र ग्लोबल एनआरएनए फाउण्डेसनबीच पनि सम्झौता भएको छ । सम्झौतामा ग्लोबल एनआरएनए फाण्डेसनका अध्यक्ष विनोद कुँवर र दुगेदर कोरिया लभ एण्ड होप स्वयंसेवी समूहको तर्फबाट प्रोफेसर योङसु किम र लभ एण्ड भलन्टियर कोरका उपाध्यक्ष प्रा।किम यङ्ग सुले हस्ताक्षर गरेका छन् ।

त्यसैगरी शैक्षिक आदानप्रदानलाई प्रवर्द्धन, फ्याकल्टी कार्यक्रममा सहकार्य र शैक्षिक अनुसन्धान र प्रविधि विकासमा सहयोग तथा सहकार्यको लागि हान्याङ युनिभर्सिटी बीके २१ ह्युमन–टेक कन्भर्जेन्स ग्रेजुएट स्कूल र मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजीबीच पनि सम्झौता भएको छ । सम्झौतामा बीके २१ को तर्फबाट डीन डा।सेओङनो ली र मेलबर्न इन्स्टिच्युटका अध्यक्ष जमुना गुरुङले हस्ताक्षर गरेका छन् ।

अन्तर्राष्ट्रिय स्तरमा नेपालका युवा खेलाडीको वृत्ति विकासको लागि आर्थिक, भौतिक र नैतिक सहयोग र सहकार्यको लागि पनि सम्झौता भएको छ । उक्त सम्झौतामा ग्लोबल एनआरएन फाण्डेसनका अध्यक्ष विनोद कुँवर, अन्तर्राष्ट्रिय पर्वत समाजका उपाध्यक्ष संगीता कुँवर र नेपाल खेलकुद अनुसन्धान प्रवर्द्धन प्रतिष्ठानका प्राध्यापक केशव थापा, कोरियाको ग्योङसान खुटबल संघका उपाध्यक्ष काङ योङ–होले हस्ताक्षर गरेका छन् ।

त्यसैगरी टेबल टेनिस खेलको लागि शैक्षिक र प्रविधि विकासको अनुसन्धानको लागि पनि सम्झौता भएको छ । उक्त सम्झौतामा फस्टपोङ कम्पनी लिमिटेडका सीईओ अमिर कमन्दी र हान्याङ विश्वविद्यालयको खेलकुद उद्योग तथा विज्ञान विभागका प्राध्यापक सिद्धार्थ विक्रम पाँणेले हस्ताक्षर गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *