अन्तर्राष्ट्रिय शतक बनाउन रुविनाले कुरेको १५ वर्ष – Nepal Press

अन्तर्राष्ट्रिय शतक बनाउन रुविनाले कुरेको १५ वर्ष

काठमाडौं । नेपालकी रुविना क्षेत्रीले अन्तर्राष्ट्रिय महिला क्रिकेटमा राष्ट्रिय कीर्तिमान बनाएकी छन् । जारी एसीसी महिला प्रिमियर लिगको मंगलबार भएको माल्दिभ्सविरुद्धको खेलमा शतक बनाउँदै रुविनाले ऐतिहासिक सफलता प्राप्त गरेकी हुन् । उनी टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने पहिलो नेपाली महिला क्रिकेटर बनिन् ।

रुविनाले सन् २००८ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेकी छन् । सन् २००९ मा उनले सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेकी थिइन् । त्यसयता उनी नेपाली महिला राष्ट्रिय टोलीको नियमित सदस्य हुन् । सन् २०१२ देखि झण्डै एक दशक उनले नेपाली टोलीको कप्तानी गरेकी थिइन् ।

नेपाली महिला क्रिकेटले सन् २००७ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको हो । सुरुका दिनमा अब्बल देखिएको नेपाली टोलीले त्यो पेसलाई लामो समय कायम राख्न सकेन । सन् २००७ मा आयोजित एसीसी महिला क्रिकेटमा नेपाल फाइनलसम्म पुगेको थियो । त्यतिबेला बंगलादेशसँग उपाधि भिडन्तमा पराजित भएको थियो ।

सन् २००८ देखि लगातार तीन संस्करण एसीसी महिला यू-१९ क्रिकेटको उपाधि जितेको नेपाली टोलीले हालसम्म सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा भने उपाधि जित्न बाँकी छ । पहिलो पुस्ताकी सीता रानामगरले अझै पनि राष्ट्रिय टोलीबाटै खेलिरहेकी छन् । त्यसपछिकी सबैभन्दा सिनियर खेलाडी हुन् रुविना ।

सन् २००९ मा आयोजित एसीसी महिला टी-२० क्रिकेटमा रुविनाले एकै ओभरमा ५ विकेट लिएर दुर्लभ सफलता हात पारेकी थिइन् । सिंगापुरलाई जीतका लागि केवल २ रन आवश्यक रहेका बेला रुविनाले उक्त कमाल गरेर नेपाललाई जिताएकी थिइन् । त्यसमा ह्याट्रिक विकेट पनि समावेश थियो ।

आईसीसीले सबै सदस्यलाई टी-२० अन्तर्राष्ट्रियको मान्यता दिएपछि नेपाली महिला क्रिकेटले पनि टी-२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेलहरु खेल्ने अवसर पाएको हो । रुविनाले सन् २०१९ मा पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय खेल खेलेकी थिइन् ।

यसबीचमा उनले एक पटक अर्धशतक बनाएकी थिइन् । उनी अलराउन्डर हुन् । उनले ३६ टी-२० अन्तर्राष्ट्रिय विकेट पनि हात पारेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *