मध्य भोटेकोशीको सुरुङ परीक्षणको क्रममा चुहियो पानी (भिडिओ) – Nepal Press

मध्य भोटेकोशीको सुरुङ परीक्षणको क्रममा चुहियो पानी (भिडिओ)

सिन्धुपाल्चोक । निर्माणको अन्तिम चरणमा पुगेको १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत आयोजनाको सुरुङ परीक्षणका क्रममा पानी चुहिएको छ । आयोजनाको सबै काम सकिएसँगै सुरुङ परीक्षणका लागि एक साताअघि पानी पठाइएको थियो । ७ किलोमिटर लामो सुरुङमा पानी हालेर परीक्षण गर्ने क्रममा बाह्रविसे नगरपालिका-६ ढुङ्गाखानी नजिकैको क्षेत्रबाट पानी लिकेज भएको हो ।

निर्माणको जिम्मा पाएको कम्पनीले गुणस्तरहीन सामग्री प्रयोग गर्दा पानी चुहिएको स्थानीयको आरोप छ । मध्यभोटेकोशी जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत रामगोपाल सिवाकोटीले पनि सुरुङ परीक्षणका क्रममा पानी चुहिएको स्वीकारे ।

‘अहिले हामी सुरुङ टेस्टिङका क्रममा छौं, अडिट १ बाट ठूलै मात्रमा पानी लिकेज भएको छ । पानी लिकेज भएको ठाउँमा केमिकल प्रयोग गरेर ग्राउण्डेड गर्छौं’, उनले भने ।

बाह्रविसे नगरपालिका- ५ जम्बुमा रहेको पावरहाउसमा पेनस्टक पाइपबाट पानी खसालिएको आयोजनाले जानकारी दिएको छ । पानी फूल प्रेसरमा हाल्दामात्रै चुहिएको तर कम प्रेसरमा हाल्दा समस्या नदेखिएको सिवाकोटीले बताए । ।

अब आयोजनाको टीम, विज्ञ र ठेकेदारको संयुक्त टोलीले थप अध्ययन गरेर निचोड निकाल्ने उनले बताए । यस्ता सुरुङमा अन्यत्र पनि पानी चुहिएको बताउँदै उनले यसअघि चिलिमे ग्रुपले बनाएको अन्य आयोजनामा पनि पानी चुहिएको र केही महिना अगाडि लिखुमा समेत पानी चुहिएर पुन: मर्मत गरिएको बताएका छन् ।

पानी चुहिनु खासै ठूलो समस्या नभएको भन्दै सिवाकोटी भन्छन्, ‘हामी त्यसलाई मर्मत गर्छौं, मर्मत कुन लेभलको गर्ने हो, त्यो हेरेपछि मात्रै थाहा हुन्छ । यसले विद्युत् उत्पादनको पछिल्लो लक्ष्यमा कुनै फेरबदल हुँदैन । हामीले वैशाखभित्र उत्पादनको टार्गेट राखेका छौं ।’

विद्युत उत्पादन सुरू भएपनि बाह्रविसेमा निर्माणाधीन ट्रान्समिसन लाइनको काम बाँकी नै रहेकाले केही ढिला भएपनि समस्या नहुने उनको भनाई छ ।

चिनियाँ ठेकेदारहरूले सुरूदेखि नै राम्रो काम नगरेको र राम्रो काम गराउन खोज्दा तत्कालीन आयोजना प्रमुख सुनिल लामालाई सरुवा गरेको स्थानीय एवम् बाह्रविसे नगरपालिकाका पूर्वमेयर निमफुञ्जो शेर्पा बताउँछन् ।

आयोजनामा प्रयोग भएको कम गुणस्तरको सामग्रीको बिल पास गराउन दोभाषेमार्फत आयोजनाका कर्मचारीलाई समेत मोटो रकम दिएको स्थानीयले आरोप लगाएका छन् ।

सन् २०१३ मा निर्माण सुरू भई २०१७ को जुनमा आयोजना सक्ने योजनाका साथ काम सुरू भएपनि भूकम्प, नाकाबन्दी र भोटेकोशी बाढीको कारण आयोजनाको म्याद थपिएर सन् २०१९ को जुनमा पुर्‍याइएको थियो । त्यो अवधिमा पनि काम सम्पन्न नभएपछि वैशाखसम्म आयोजनाको म्याद थपिएको छ । झण्डै १४ अर्बको लागतमा आयोजना निर्माण सक्ने योजना भएपनि समयभित्रै काम नसकिँदा लागत बढेर २० अर्ब पुग्ने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर