अभियान्ता ‘ई’ले थाले लुम्बिनी-सिंहदरबार पदयात्रा – Nepal Press

अभियान्ता ‘ई’ले थाले लुम्बिनी-सिंहदरबार पदयात्रा

रुपन्देही । ‘इनफ इज इनफ’ का अभियान्ता इशान अधिकारी (ई)ले विभिन्न माग राख्दै आइतबारदेखि लुम्बिनी–सिंहदरबार पदयात्रा सुरु गरेका छन् ।

मुख्यतया सडक व्यापारी र शहरी गरिबीको लोकरिझ्याईँबाट निर्देशित भएर स्थानीय पालिकाहरुले लिएको नीतिको विरोधमा ‘ईः’ ले बुद्धजन्मस्थल लुम्बिनीबाट सिंहरदरबारसम्म दवावमूलक पदयात्रा सुरु गरेका हुन् ।

संविधानमा समाजवाद उन्मूख लेखिएको भएपनि देशभरका पालिकाहरुले सडक व्यापारी, अनौपचारिक क्षेत्रको व्यवस्थापनका नाममा गरिबलाई विना विकल्प विस्थापन गरिएकाले त्यसो नगर्न करिब २८५ किमी पैदलयात्रामा ‘ईः’ ले पदयात्रा थालेका छन् ।

‘ईः’ सँगै अर्का अभियान्ता चाउ पदयात्रामा निस्केका छन् । बुद्धले २९ वर्षको उमेरमा पैदल हिँडेर करुणा र शान्तिको सन्देश दिएको स्मरण गर्दै आफूले बुद्ध जन्मस्थल लुम्बिनीबाट करुणा र सहानुभूतिको सन्देश बोकेर सिंहदरबार पुग्ने बताए ।

देशभरका पालिकालाई सडक व्यवसाय र अनौपचारिक क्षेत्रबारे व्यवस्थापकीय नीति तयार गर्न एवं गरीबलाई बिना अध्ययन र विकल्प विस्थापन नगरी कानून र संविधानको मर्म बस्न निर्देशन दिन पैदलयात्राको माग रहेको छ ।

यस्तै शहरी गरीबको संरक्षणका लागि सडक व्यवसाय र अनौपचारिक क्षेत्रको व्यवस्थापन गर्न संघीय सरकारको ध्यानआर्कषण र पालिकाहरुलाई बृहत्तर अनौपचारिक क्षेत्र र साना उद्यम प्रवद्र्धनका लागि तहगत सहकार्य कार्यक्रमलाई प्राथमिकता दिन समेत पैदलयात्राले दवाव दिने ईले बताए । यात्रामार्फत मिटर ब्याज बिरुद्धको न्याय मार्चप्रति ऐक्यबद्धता पनि जनाउने कार्यक्रम रहेको छ ।

पहिलो दिन लुम्बिनी मायादेवीबाट रुपन्देहीको तिलोत्तमासम्म पुगेर विश्राम गरेका छन् । दोस्रो दिन पश्चिम नवलपरासीको सुनवल, तेस्रो दिन दुम्कीबास, चौथौ दिन दलदले पुग्नेगरी रुट बनाइएको छ । यसैगरी पाँचौ दिन चितवनको रामनगर हुँदै कुरिनटार, धादिङको गजुरी, नौबिसे र नौं दिन फागुन ७ गते सिंहदरबार पुग्ने अभियन्ता ‘ईः’ ले जानकारी दिए ।

अभियान्ताहरुलाई विहान लुम्बिनी विकास कोषका पुरातत्व महाशाखा प्रमुख वरिष्ठ पुरातत्व अधिकृत हिमालकुमार उप्रेतीले खादा ओढाएर बिदाइ गरेका हुन् । इनफ इज इनफका अभियान्ता ‘ई’ ले काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह ‘बालेन’ ले सडक व्यापारीलाई विनाविकल्प हटाएको भन्दै आन्दोलनसमेत सुरु गरेका थिए ।

यस्तै उनले बेलाबेलामा सरकार र सरोकारवालाहरुलाई दवाव दिन आमरण अनशन र अन्य रचनात्मक आन्दोलनका कार्यक्रम गर्ने गरेका छन् । लुम्बिनी सिंहदरबार पैदलयात्रामा आफ्नो मुद्दामा चिन्तित व्यक्ति र समूहलाई यात्रामा अनुकूलताका आधारमा सहभागी हुन समेत ‘ईः’ को आग्रह छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *