अनिलको सरप्राइज इनिङ, राष्ट्रिय टीममा बढ्दो प्रतिस्पर्धा – Nepal Press

अनिलको सरप्राइज इनिङ, राष्ट्रिय टीममा बढ्दो प्रतिस्पर्धा

भीम सार्की हट सीटमा ?

काठमाडौं । क्यानडाविरुद्धको दोस्रो एक दिवसीय म्याचमा नेपालका ओपनर अनिल शाहले जुन इनिङ खेले, त्यो सुखद आश्चर्ययुक्त थियो । अनिल यस्तो प्रकारको विस्फोटक ब्याटिङका लागि चिनिँदैनथे ।

पहिलो एक दिवसीयमा कठिन जीत निकालेको नेपालले दोस्रोमा आफ्नो ‘बेन्च स्ट्रेन्थ’ परीक्षण गर्ने सही निर्णय लिएको थियो । अघिल्लो खेलमा आक्रामक अर्धशतक बनाएका नियमित ओपनर कुशल भुर्तेलको स्थानमा अनिल शाहलाई ल्याइयो । अनिलले हालै भएको प्रधानमन्त्री कप एक दिवसीय प्रतियोगितामा उत्कृष्ट ब्याटिङ गर्दै राष्ट्रिय टीममा पुनरागमन गरेका थिए ।

टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले २८५ रनको मजबुत स्कोर खडा गर्‍यो । नेपालका फास्ट बलरहरु क्यानडेली बलबाट पिटिए । तर, कप्तान रोहित पौडेलेले फेरि एक पटक उत्कृष्ट बलिङ गर्दै क्यानडालाई विशाल स्कोरबाट रोके । त्रिविको ब्याटिङमैत्री पीचमा २८६ रनको लक्ष्य मध्यम हो । यद्यपि, नेपाललाई ब्याटिङमा राम्रो सुरुवातको आवश्यकता थियो ।

आसिफ र अनिलको नयाँ ओपनिङ जोडीले नेपाललाई फ्लाइङ स्टार्ट दियो । आफ्नो उत्कृष्ट लयमा नरहेका आसिफ दबाबमा देखिन्थे । तर, अनिलले जसरी ब्याटिङ गरे, त्यो विल्कुलै अनपेक्षित थियो । उनको तुफानी ब्याटिङको मद्दतमा नेपालले ४.२ ओभरमा नै ५० रन छोइसकेको थियो ।

आफूले फेस गरेको तेस्रो बलमा चौका हानेका शाह त्यसपछि रोकिएनन् । दोस्रो ओभरको अन्तिम तीन बलमा उनले एक छक्का र दुई चौका हिर्काए । तेस्रो ओभरको पनि अन्तिम दुई बलमा छक्का र चौका हाने । पाँचौं ओभरमा लगातार तीन चौका वर्षाए ।

यसरी १३ बलमा ४३ रन बनाउँदा अनिलले विश्व कीर्तिमान नै बनाउन सक्ने सम्भावनासमेत देखिएको थियो ।

ओडीआईमा सर्वाधिक छिटो अर्धशतकको विश्व कीर्तिमान दक्षिण अफ्रिकाका लिजेन्ड एबि डिभिलियर्सको नाममा छ । उनले सन् २०१५ मा वेस्ट इन्डिजविरुद्ध १६ बलमा अर्धशतक बनाएका थिए । यदि अनिलले दुई बलमा ७ रन लिन सकेको भए १५ बलमा ५० रन बनाउँदै डिभिलियर्सको रेकर्ड तोड्न सक्थे । त्यसमा उनी चुके ।

यद्यपि, १९ बलमा अर्धशतक पूरा गरेर अनिलले राष्ट्रिय कीर्तिमान कायम गरे । यसअघि यो रेकर्ड उनका ओपनिङ पार्टनर आसिफ शेखको नाममा थियो, जसले पपुवा न्यूगिनीविरुद्ध २१ बलमा अर्धशतक बनाएर रेकर्ड राखेका थिए । यद्यपि, आफ्नो रेकर्ड तोडिएको उनले अर्को इन्डबाट हेर्न पाएनन्, कारण उनी १० रन बनाएर आउट भइसकेका थिए ।

अनिलको इनिङ हेर्दा उनले अन्धाधुन्द प्रहार गरिरहेका थिएनन् । सुझबुझका साथ नै ब्याट चलाइरहेका थिए । केवल सकारात्मक अन्दाजमा खेलिरहेका थिए । पिचको अवस्था र केही खराब बलिङले पनि उनलाई साथ दियो ।

२५ वर्षीय अनिल नेपाली क्रिकेटका नयाँ नाम पनि होइनन् । नेपालले सन् २०१८ मा खेलेको पहिलो ओडीआईका उनी एक सदस्य हुन् । उक्त म्याचमा ज्ञानेन्द्र मल्लको ओपनिङ पार्टनर रहेका अनिल ३२ बलमा २१ रन बनाएर आउट भएका थिए । पहिलो विकेटका लागि ज्ञानेन्द्र र अनिलबीच ५८ रनको साझेदारी भएको थियो । उक्त खेल नेपालले ५५ रनले हारेको थियो ।

तर, अनिलले राष्ट्रिय टीममा स्थिर प्रदर्शन गर्न सकेनन् । फलतः उनी टीमबाट बाहिरए । पछिल्लो पटक सन् २०२२ मा खेलेका थिए । घरेलु क्रिकेटमा भने उनी निरन्तर व्यस्त छन् ।

भर्खरै सकिएको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अनिलको करिअरमा नयाँ टर्निङ प्वाइन्ट बन्यो । मधेश टीमबाट खेलेका उनी प्रतियोगिताभरि सर्वाधिक रन बनाउने ब्याट्सम्यान बने । उनले ९ म्याचमा एक शतकसहित ३८६ रन बनाएका थिए । एउटै खेलमा सर्वाधिक ठूलो स्कोरको कीर्तिमान (१२७ रन) पनि उनकै नाममा रह्यो ।

प्रधानमन्त्री कपकै प्रदर्शनले उनलाई राष्ट्रिय टीममा पुनरागमन गराएको छ । आफूले पाएको मौका लागि उनले दुवै हातले स्वीकार गरेका छन् । तर, यसलाई कत्तिको निरन्तरता दिन सक्छन् भन्ने प्रश्न उठ्छ । नेपाली टीमको प्लेइङ ११ लगभग सेट जस्तै छ । ओपनिङ जोडीका रुपमा आसिफ शेख र कुशल भुर्तेलले केही समययता राम्रो गरिरहेका छन् । महत्वपूर्ण प्रतियोगितामा यो जोडीलाई भत्काउन प्रशिक्षक अनिच्छुक रहन सक्छन् ।

आसिफ त्यति राम्रो लयमा देखिएका छैनन् । तर, उनी थुप्रै महत्वपूर्ण खेलमा नेपाललाई जिताएका ब्याट्सम्यान हुन् । भारत जस्तो बलियो टीमविरुद्ध उनले अर्धशतक बनाएका थिए । त्यसैले उनको स्थान अनिलले लिइहाल्ने अनुमान गर्नु हतार हुन्छ । तर, अनिलको हिजोको प्रदर्शनले उनलाई टीममा समेट्नुपर्ने दबाब बढेको छ । क्यानडाविरुद्धको तेस्रो खेलमा पनि उनले मौका पाउने निश्चित नै छ । त्यसमा पनि राम्रो ब्याटिङ गरे भने पक्कै लिग- २ को प्लेइङ ११ मा उनलाई नेपालले मिस गर्ने छैन ।

क्यानडाविरुद्ध दोस्रो म्याचमा देव खनालले पनि उत्कृष्ट ब्याटिङ गरे । उनको प्रदर्शनले राष्ट्रिय टीममा प्रतिस्पर्धा थप चर्को बनेको छ । यो प्रतियोगितामा दीपेन्द्रसिंह ऐरी र गुल्शन झा छैनन् । उनीहरुले पुनरागमन गर्दा कसलाई हटाउने भन्ने टाउको दुःखाइ बन्नसक्छ । मध्यक्रमका भीम सार्की हट सीटमा देखिन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *